सर्लाहीको मलंगवा स्थित स्तुति सौम्या हेल्थ केयर अस्पतालले मुटु तथा छाती रोग सम्बन्धी स्वास्थ्य जाँच शिविर सुरु गरेको छ ।
अस्पतालका संचालक एवं डाक्टर गुणेश्वर झाको विशेष पहलमा प्रत्येक महिनाको २ पटक शनिबारको दिन छाती तथा मुटु रोगका बिरामीहरुको लागि स्वास्थ्य जाँच शिविर आयोजना हुने गरेको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुरका शाखाका प्रमुख तथा मुटु रोग विशेषज्ञ डाक्टर राजेश कुमार साहद्वारा बिरामीहरुको जाँच भइरहेको उक्त शिविरमा पहिलो शनिबार नयाँ पुरानो गरी ५० जना भन्दा बढी बिरामीहरुको जाँच गरिएको र उनीहरूलाई डाक्टर साहले आफ्नो तर्फबाट निःशुल्क रुपमा औषधि वितरण गरेको डाक्टर झाले जानकारी दिए । शिविरको आयोजक समेत रहेका स्तुति सौम्या अस्पतालले पनि आफ्नो तर्फबाट मुटु रोग विशेषज्ञ डाक्टर साहले सिफारिस गरेका बिरामीहरुको लागि इसिजी,इको लगायत विभिन्न ल्याव परीक्षणमा छुट दिएका थिए । मलंगवाको स्थानीयवासी रहेको र डाक्टर भइससकेपछि आफ्नो गाउँठाउँका बासिन्दाहरुको लागि केही गर्नुपर्छ भन्ने पहिलादेखि नै सोंच रहकोले स्वास्थ्य शिविरको लागि गृह जिल्लाको मलंगवालाई छनोट गरेको डा साहले बताए ।
उनले यहाँका अधिकांश जनताहरु गरिबी रेखामुनि रहेकाले छाती तथा मुटुमा समस्या भएका बिरामीहरु पैसाको अभावको कारण काठमाण्डु ,जनकपुर लगायत भारतका विभिन्न शहरका ठूला तथा मंहगा अस्पतालमा गएर उपचार गराउन सकिरहेका छैनन् जसले गर्दा उनीहरूलाई अकालमै ज्यान गुमाउनु परेकोले पैसाको अभावका कारण उपचारबाट बञ्चित भइ अकालमा ज्यान नगुमाउन भन्ने उद्देश्यले विशेषगरी गरिब तथा अतिविपन्न जनताहरुको लागि स्वास्थ शिविरको आयोजना गरिएको प्रष्ट पारे । यस स्वास्थ्य शिविरमा छाती दुख्ने,दम हकसक बढ्ने,मुटुको अपरेशन भएको,ब्लड प्रेसर बढेको,धडकन बढ्ने,चक्कर लाग्ने,बेहोस हुने,हर्ट एटैक र वाइपास सर्जरी भएका बिरामीहरुहरुको जाँच गरिने डाक्टर झाले बताए । विश्वमा हरेक वर्ष मुटु सम्बन्धी १७ लाख भन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। नेपालमा भने २६ लाख मानिसमा कुनै न कुनै मुटु सम्बन्धि रोग लागेको विश्व स्वास्थ्य संगठनको तथ्थांकमा उल्लेख छ । धुम्रपान–मद्यमान नगर्ने, चिल्लो पिरो नखाने, माछामासु कम खाने र दैनिक व्यायाम गरेमा मुटु रोगबाट बच्न सकिने मुटु रोग विशेषज्ञ साहले बताउँछन् ।

