यही फागुन २७ गते हुने नेपाल ईन्जिनियरिंग एशोसिएनको ३३औं केन्द्रीय तथा प्रादेशिक अधिवेशनका सन्दर्भमा लोकतान्त्रिक ईन्जिनियर्स समूहद्वारा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार जनकपुरधाममा आयोजित छलफल कार्यक्रममा एशोसिएन तथा ईन्जिनियरिंग परिषद्मा लोकतान्त्रिक समूहका उम्मेदवारहरुलाई विजयी गराउने रणनीति तयार गरिएको छ । कार्यक्रममा वक्ताहरुले एशोसिएन पनि राजनीतिक दलबाट प्रभावित हुँदै गएपछि ईन्जिनियर हरुको पेशागत मर्यादामा कमी आएकोले संस्थालाई राजनीतिबाट टाढै राखेर ईन्जिनियरहरुको हकहितका लागि काम गर्ने गरी नयाँ कमिटी बनाउन लोकतान्त्रिक समूहको जीत अपरिहार्य रहेको बताए । छलफल कार्यक्रमबीच समूहका उम्मेदवारहरुबारे समेत जानकारी गराइएको थियो । सो समूहबाट अध्यक्षमा दिलिप कुमार झा ,उपाध्यक्षमा ऋषि कोइराला,महासचिवमा सुधिर गुरागार्इं,कोषाध्यक्षमा रमिता श्रेष्ठ ,सह कोषाध्यक्षमा संजय कुमार महतो रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा डा.ढुण्डिराज दाहाल,डा.भरत मण्डल ,पराग कायस्थ,अन्जनी कुमार देवजु श्रेष्ठ,ब्रजमान सिंह थापा,सुभाष जोशी,लैला श्रेष्ठ,नविन तिवारी ,प्रजंन हाडा,रामाशंकर जयसवाल ,लक्ष्मण मण्डल तथा भोजराज यादव रहेका छन् । यता ईन्जिनियरिंग परिषद्को लागि सोही समूहबाट ई.रत्नेश्वर लाल कर्ण,पुनम शाह,भगतमान सिंह प्रधान,टेकराज बोहोरा तथा रोमि मानान्धरको उम्मेदवारी रहेको छ । परिषद्मा ६० हजार सदस्य रहेको छ भने एशोसिएनमा २६ हजार सदस्य रहेको जानकारी ई.रत्नेश्वर लाल कर्णले दिएका छन् ।

