२०७८ फाल्गुन २३, सोमबार ०७:५२

बर्दिवास । बर्दिवास मेडिकल कलेज स्थापनाको नाउँमा वन फँडानी गर्न नहुने भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले बर्दिवास मेडिकल कलेज खोल्न प्रस्तावित वन क्षेत्रको जग्गामा रहेका सम्पदामा प्रतिकूल असर पर्ने कुनै कार्य नगर्न, नगराउन आदेश जारी भएको हो । वातावरण अभियन्ता देवनारायण मण्डलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले गत फागुन १८ गते सो आदेश जारी गरेको छ । बर्दिवासमा रहेको मेडिकल कलेज निर्माण गर्ने भनिएको प्रस्तावित वन क्षेत्रको जग्गामा रहेका वन सम्पदामा प्रतिकूल असर पर्ने कुनै कार्य नगर्नु, नगराउनु, त्यस स्थानमा रहेका रूख विरुवा नकाट्नु, वन्यजन्तुलाई हानी नोक्सानी हुने कार्य नगर्नु नगराउनु त्यो वनक्षेत्र हाल यथास्थितिमा संरक्षित रुपमा राख्नु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (१) (क) बमोजिम प्रत्यर्थीहरुको नाममा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो । रिट निवेदन उपरको सुनुवाइमा टुंगो नलागेसम्मका लागि त्यस जग्गामा मेडिकल कलेज स्थापना नगर्न सर्वोच्चले आदेश दिएको हो । बर्दिवासस्थित पूर्व पश्चिम लोकमार्गसँगै जोडिएको उत्तर र भब्सी खोलाको पश्चिमी किनारको वन क्षेत्रमा मेडिकल कलेज स्थापना गर्ने तयारी अन्तिम चरणमा रहेको छ ।

आदेशमा प्रस्तावित मेडिकल कलेजका लागि १ सय ५ हेक्टर वन क्षेत्रका ५ हजार ६ सय ८१ वटा रुख कटान गर्नुपर्ने तथ्य खुल्न आएको पाइयो भन्ने समेत उल्लेख रहेको छ । ’निश्चित योजना र कार्यक्रमको अभाव रहेको यस अवस्थामा अहिले रूख कटान गर्ने कार्य गरिएमा अपुरणीय रूपमा वातावरणीय क्षति हुन जाने अवस्था देखिएको समेत आदेशमा उल्लेख रहेको छ । रिटको अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा वादीको तर्फबाट अधिवक्ताहरू पंकज कुमार कर्ण, केशरमणि अर्याल, उमेश प्रसाद र मोहना अन्सारीले बहस गरेका थिए । त्यसैगरी विपक्षीको तर्फबाट मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र उद्योग, पर्यटन तथा वन मन्त्रालयको तर्फबाट मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा र नेपाल सरकारको तर्फबाट सह न्यायाधिवक्ता लोकराज पराजुलीले बहस गरेका थिए। सरकारको आर्थिक वर्ष २०७३÷०७४ को नीति तथा कार्यक्रममा समावेश भइ मुलुकका सातवटै प्रदेशमा एक एकवटा मेडिकल कलेज स्थापना गर्ने अवधारणा अनुसार मधेश प्रदेशमा बर्दिवास मेडिकल कलेज निर्माण गर्ने तय भएको थियो।

Please subscribe our official youtube channel and support us

https://youtu.be/tWGZ5Tgq468

Comment


Related News

Latest News

Trending News