सर्लाही । सोमबारका लागि तोकिएको नेपाली कांग्रेसको जिल्ला निर्वाचन स्थगित भएको छ ।
दुई पक्षबीचको विवादका कारण निर्वाचन अनिश्चितकालका लागि स्थगित गरिएको हो । निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि निर्वाचन स्थगित गरिएको भन्दै सूचना निकाल्नुभएकाे छ ।
बिहान ९ बजेदेखि सुरु हुने भनिएको निर्वाचन दिउँसो १ : १५ बजे सूचना टाँसेर स्थगित गरिएको जानकारी गराइएको हो । निर्वाचन स्थगित भएपछि मतदान स्थल पब्लिक माध्यमिक विद्यालय बाहिर कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् ।
मतदानका लागि भन्दै बिहानैदेखि जिल्लाभरबाट नेता कार्यकर्ताहरु सदरमुकाम मलंगवा पुगेका थिए । ४ घण्टासम्म तातो घाममा लाइन बसेर मतदान गर्न नपाएको भन्दै कार्यकर्ताहरु आक्रोशित बनेका छन् ।


