२०७८ फाल्गुन २४, मंगलवार ०६:५१

रौतहटको देवाही गोनाही नगरपालिका– १ करुनियाका वडा अध्यक्ष शेख नुरुल्लाह होदाले मेयर धर्मेन्द्र पटेलले आफूमाथि लगाएको आरोप निराधार रहेको बताएका छन् ।

केही दिन अघि मात्र देवाहीका नगर प्रमुख पटेल सहित ४ जना एक उपभोक्ता समितिसँग ५ लाख रुपैया घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डुको टोलीले २ लाख ५० हजार नगद र २ लाख ५० हजारको चेक गरी ५ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा मेयर पटेललाई उनकै कार्यकक्षबाट रंगेहात नियन्त्रणमा लिएको थियो । उक्त घुस रकम सहित पक्राउ परेका मेयर धर्मेन्द्र पटेल, योजना शाखा प्रमुख मुकेश पटेल, सह लेखापाल प्रदिप यादव र मेयरका सहयोगी अशोक पटेल अहिले काठमाण्डु स्थित अख्तियारको नियन्त्रणमा रहेका छन् । अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ । अख्तियारद्धारा पक्राउ परेका मेयर धर्मेन्द्र पटेल सहित उनका समर्थहरुले वडा नं. १ का वडा अध्यक्ष शेख नुरुल्लाहले षड् यन्त्र गरी मेयर पटेललाई फँसाएको आरोप लगाउंदै आएका छन् । वडा अध्यक्ष नुरुल्लाहले आफ्ना छोरीको विहेमा नगर प्रमुख पटेलसँग ५ लाख रुपैयाँ सापटी लिएको र त्यही सापटी रुपैयाँ दिन जाँदा अख्तियारलाई बोलाएर घुस लिएको भनी आरोप लगाई मेयर पटेललाई फँसाएको आरोप वडा अध्यक्ष नुरुल्लाहमाथि लगाइएको छ । आफूमाथि सापटी पैसा लिएको आरोप लागे पछि वडा अध्यक्ष नुरुल्लाहले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर पटेलसँग आफूले एक रुपैयाँ पनि सापटी नलिएको दाबी गरेका छन् ।

फँस्ने डरले आफूलाई बलजबरजस्ती निर्दोष साबित गर्न मेयर पटेलले आफुमाथि निराधार आरोप लगाएको उनले प्रष्ट पारेका छन् । वडा नं. १ को वडा कार्यालय भवन निर्माणका लागि नगरबाट २० लाख रुपैयाँ बजेट विनियोजित भएको थियो । सो २० लाख रुपैयाँको भवन निर्माण कार्य सम्पन्न भए पछि उक्त योजना वापत उपभोक्ता समिति सँग मेयर पटेलले ५ लाख रुपैयाँ कमिश्न मागेको वडा अध्यक्ष नुरुल्लाहको दाबी छ । उपभोक्ता समितिसँग कमिशन नलिन आफूले मेयर पटेललाई पटक–पटक आग्रह गर्दा पनि नमानेको उनले बताए । उनका अनुसार कमिशन पनि लिने र कसैलाई थाहा पनि हुन नदिन मेयर पटेलले आफना सहयोगी अशोक पटेलको नाममा चेक काट्न लगाएको थियो । सोही कमिशन वापतको रकम दिन जाँदा उनलाई अख्तियारको टोलीले समातेको उनले बताए ।

वडा नं. ६ का वडा अध्यक्ष अनिल कुमार झाले विकास निर्माणको नाममा मेयर धर्मेन्द्र पटेलले नगरपालिकामा ब्रहमलुट मच्चाएको आरोप लगाएका छन् । विभिन्न योजना सञ्चालनको नाममा पटेलले करोडौं भ्रष्टाचार गरी अकुत सम्पति आर्जन गरेको वडा अध्यक्ष झाले बताए । करोडौं भ्रष्टाचार गरी अकुत सम्पती जोड्न सफल मेयर पटेललाई निष्पक्ष रुपमा छानबिन गरी कारवाहीको दायरामा ल्याउन उनले अख्तियारसँग अनुरोध गरे । योजना सञ्चालन वापत मेयर पटेलले उपभोक्ता समितिसँग खुलेआम घुस मागेको कारण अख्तियारद्धारा पक्राउ परेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News