२०७८ फाल्गुन २४, मंगलवार ०७:००

कुष्ठरोग उन्मूलनका लागि मधेश प्रदेश सरकारले विशेष अभियान सञ्चालन गर्ने भएको छ । जिल्लाभरि रहेका कुष्ठरोगीको संख्या, अवस्थाको विषयमा खोजतलास गरी उपचारको व्यवस्थापन गर्ने प्रदेश सरकारले जनाएको छ ।

मधेश प्रदेश सरकारका प्रदेश स्वास्थ्य निर्देशनालयले त्यसका लागि सोमबार स्थानीय निकायका प्रमुख उपप्रमुख तथा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम समेत गरेको छ । कार्यक्रममा सहभागीहरूले नेपाल सरकारले लिएको लक्ष्य पूरा गर्नका लागि धनुषामा तीन वर्षका लागि सुरु हुन लागेको कुष्ठरोगी पत्ता लगाउने अभियान सफल बनाउनका लागि पालिकाहरूको सक्रियता आवश्यकतामा जोड दिए। कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवले कुष्ठरोग निवारण गर्ने नेपाल सरकारको लक्ष्य पूरा गर्नका लागि धनुषामा सञ्चालन हुने अभियान सफल बनाउन हरेक पालिकाले सहयोग गर्नुपर्ने बताए । सामाजिक विकास मन्त्रालयका सचिव ईमनारायण श्रेष्ठले कुष्ठरोगी पत्ता लगाउने तथा उनको सम्पर्कमा रहेकाहरूलाई औषधि खुवाउने अभियानले कुष्ठरोग निवारणमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कुष्ठरोगको निवारणका लागि धनुषा जिल्लामा स्थानीय जनप्रतिनिधिहरूले अझै मेहनत गर्न आवश्यक रहेको बताए । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता कुमारी झाले जनकपुरधाम कुष्ठरोगको दृष्टिकोणले उच्च जोखिममा रहेको बताउँदै कुष्ठरोगको निवारण अभियानमा उपमहानगरपालिकाले हर सम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य निर्देशक विजय कुमार झाले स्थानीय सरकारको साथ तथा सहयोग बिना कुष्ठरोगको निवारण कठिन भएको बताउँदै यसका लागि जनप्रतिनिधिहरूको सहयोग आवश्यक रहेको उल्लेख गरे ।

 

Comment


Related News

Latest News

Trending News