अपडेट 
२०७८ फाल्गुन २४, मंगलवार ०८:२१

सामान्य बुझाईमा संस्कृति र साँस्कृतिक उत्सवहरु हजारौँ वर्षको जड परम्परा हो । स्वयं परम्परा शब्दलाई नै कयौँले यसरी व्याख्या गर्छन्, मानौँ यो पृथ्वी उत्पत्तिदेखीकै होस । तर त्यस्तो होइन । संस्कृति, उत्सव र परम्परा प्रकृतिको परिवर्तनशीलताभन्दा पृथक छैनन् । समयसंगै संस्कृति, उत्सव र परम्परा (चलन, रीतिरिवाज)मा परिवर्तन हुने गर्छ । संस्कृति र उत्सव मानिसको सामुदायिक भावनाहरुको सामूहिक अभिव्यक्ति हो । त्यसैले सामाजिक संरचनामा आएका परिवर्तनहरुले संस्कृति तथा सांस्कृतिक उत्सवहरुको परिवर्तनमा निर्णायक भूमिका निर्वाह गर्छ । तर समाज स्वयं एउटा परिवर्तनशील संरचना हो । सामाजिक उत्पादन र उत्पादनका साधनहरुमा स्वामित्व कस्को हुने ? यस लडाईँमा जुन वर्ग विजयी हुन्छ, त्यो सत्ताधारी हुन्छ ; र विजयी सत्ता अनुकूल सामाजिक संरचनामा पनि परिवर्तन आउने गर्छ । आर्यहरुमा वैदिककालमा यज्ञको प्रधानता थियो । यतिबेलाका यज्ञहरुमा प्रकृतिहरुको आराधना प्रमुख थियो । आकाश, पृथ्वी, नदी, वायू, वृक्ष, अग्नि, अन्न, सोम (भाङ्ग जस्तो हरियो पात भएको मात लाग्ने, जसलाई ढुङ्गामा पिँधेर घोलेर पिइन्थ्यो), वृषभ (गोरु), गौ आदि भौतिक पदार्थहरु पूजिन्थे । भौतिक पदार्थले जीवन धानिन्थ्यो, भौतिक अभावमा जीवन दुःखी हुन्थ्यो । पानी र अग्निले तृप्ति र ताप दिन्थ्यो, त्यसैले यिनीहरु सुखकर र कल्याणकारीथिए । तर नदी र वर्षाको विकराल बाढी र उखरमाउलो गर्मी तथा जंगलको आगालागीमा जल र अग्नि दुबै रौद्रदेव झै दुःखकरपनि थियो । जंगलले फलफुल दिन्थ्यो र पशुहरुले दूध र मासु दिन्थ्यो । तर सुख्खा र गर्मीमौसममा दावानलमा परिणत हुने जंगल र बौलाएको पशु दुःखकर थियो । कारण अज्ञात थियो, तर प्रकृतिको कल्याणकारी र विनासकारी दुबैरुपसंग तत्कालीन मानिसहरु निकट थिए । उनिहरुको निम्तिी प्रकृति असीमित, अज्ञेय र अवर्णनीय शक्तिपुञ्ज जस्तो थियो, जसलाई खुशी पार्न उनको स्तुति जरुरी थियो । सम्भवतः संसारको सबैभन्दा प्राचीन ऋगवेदमा प्रारम्भिक आर्यहरुले रचेका ऋचाहरु, मन्त्रहरु, श्लोकहरु र यज्ञहरु यस्तै असीमित, अज्ञेय र अवर्णनीय प्रकृतिको स्तुति हुन् ।

प्रारम्भिक मानिसहरुको हर्ष र विषाद् को सामूहिक अभिव्यक्तिहरु यिनै प्राकृतिकताको कल्याणकारी र रौद्रतामा आधारित थियो । जब प्रारम्भिक मानिसहरुले जमिनमा छरिएको बिउ पानी परेपछि उम्रन्छ भन्ने बुझे, उनिहरुले खेती गर्न सिके र फलफुलयुक्त जंगलको खोजीमा फिरन्ते जीवन छाडेर उब्जाउ क्षेत्रमा स्थिर भए । यो घुमक्कड मानवसमुदायको स्थिर समुदाय अर्थात् प्रारम्भिक समाजमा परिणत हुने प्रारम्भिककाल थियो । अहिलेसम्म प्रकृतिमा पूर्णतः आश्रित प्राचीनमानिस समुदायले प्रकृतिको दोहनगर्न सिके । हजारौँवर्षको अभ्यासपछि उनिहरुले ऋतुवारे थाहा पाए । प्रकृतिको नियमित चक्रले अन्न उब्जने र फलफुल उम्रने मौसमसंगपनि उनिहरुलाई परिचित गरायो । यस्ले मानव समुदायमा मौसमहरुको प्रतिक्षा, प्रतिक्षाको आकुलता र अनुकूल मौसमको आगमन तथा अपेक्षानुरुप अन्न उब्जेपछिको सामुदायिक खुशी, कम उब्जनीभए दुःख र निराशा आदि मानवीय सम्वेदना र भावनाको विकास भयो । यो कृषि चेतनाको विकास थियो ।यतिबेलासम्म प्राचीन मानिसहरु समुदाय र सामूहिक श्रम नै बस्थे ।त्यसैले उनिहरुको दुःख र खुशी लगायतका भावहरुको प्रकटिकरणपनि सामूहिक नै थियो । ऋगवेदमा भनिएको पनि छ ः ‘संगच्छद्ध्वं, सम्बद्ध्वं’ (संगै हिडौँ, संगै बोलौँ,) ।अहिलेसम्म प्रकृतिमा निर्भर अचेतन मानव समुदायको डफ्फाहरुमाखेतीको ज्ञान तथा प्रकृतिबारे नयाँ ज्ञान र इलमले सामुदायिक निर्भरता बढायो । समाजशास्त्रीहरुले यसलाई प्राकृतिक मानव समुदायलाई समाजमा परिणत हुने पहिलो चरण मान्छन् । विद्वानहरुले संस्कृतिको शुरुआतपनि यहीँबाट मान्छन् । अब यायावर मानिसहरु स्थिर समुदायमा परिणत भएपछि, प्राकृतिक चक्रको नियमितताले उनिहरुको परिश्रमगर्ने र बाली भित्र्याएर खुशी मनाउने अवसरहरु पनि वार्षिक नियमिततामा परिणत हुनथाल्यो । यीसामूहिक खुशीका अवसरहरु नै त साँस्कृतिक उत्सवहरु हुन् ! तर प्रकृतिका परिवर्तनका कारणहरु अझै अज्ञात थियो, त्यसैले प्रकृतिदेवहरु र यज्ञ अझै प्रधान थियो । ऋगवैदिक आख्यानहरुमा भिन्न भिन्न मानव समुदायहरुमा झडप र द्वन्द्वहरुपनि वर्णित छन् । यस्तोमा बलिया मानिसहरुको महत्व हुने नै भयो । सन्तान उत्पत्तिगर्ने महामाता र युद्धको नेतृत्वगर्ने बलियो इन्द्र ऋगवेदका प्रमुख देवी र देव हुन, जस्को स्तुतिमा सबैभन्दा बढी ऋचाहरु छन् ।उल्लेखनीय के छ भने यी प्रारम्भिक देवहरु मानिसजस्तै परिचित र प्राकृतिक (भौतिक) हुन्, जस्ले त्रुटिपनि गर्छन्, घमण्डपनि गर्छन् र दण्डितभएर पदबाट फेरिन्छन् पनि । त्यतिबेलाको समाजको साँस्कृतिक चेतना र चलनहरुमा यिनै प्रकृति, खेती र मानवीय देवहरुको स्तुति र महत्ता छ । यद्यपि ऋगवैदिककालको अन्तमा अन्न उब्जाउ हुने नदी किनारको क्षेत्र र फलफुल पर्याप्त पाइने वन–जंगलमा मानव समुदायको प्रारम्भिक बस्तीहरु निर्माण हुनथालेका थिए । विविध मानवीय समुदायहरु बीचको झडपमा विजय पराजयले दास र स्वामीहरुपनि जन्मन थालेका थिए ।बसेर खाने एउटा वर्ग जन्मीसकेको थियो ।बल पौरुष भइसकेको थियो र स्त्री वीरभोग्या हुनथालेकी थिइन् । र, त्यसैले ऋगवेदको दसम् मण्डलमा ‘प्रकृतिको निर्माण कस्ले गरेको होला ?’ भन्ने जिज्ञासाको जवाफमा भनियो ः ‘होला कुनै अज्ञातमा बसेको पुरुष, जस्ले यो प्रकृतिको सृजन ग¥यो होला ।’ यो मानवीय चेतनामा ‘ईश्वर’बारे पहिलो परिकल्पना थियो ।

एउटा यस्तो ईश्वर जो सर्वव्यापी छ, सर्वशक्तिमान छ र प्रकृतिभन्दा माथी छ । पछि ऋगवेदको यसै अज्ञातसत्तालाई यजुर्वेदमा याज्ञवल्कयले ‘ब्रह्म’ र ब्रह्मको सृजनलाई ‘ब्रह्माण्ड’को रुपमा चित्रित र परिभाषित गरे । प्रकृतिको सृजनकर्ताबारे ऋगवैदिक ऋचाकारको यस उत्तरले एकसाथ कयौँ नयाँ वैचारिकताको जन्म दियो । यसले प्रकृति र समाजभन्दा माथी एउटा निरंकुश र अज्ञात सत्ताको स्थापना ग¥यो । प्रकृति उर्वरा हुन्छिन्, त्यस्तै स्त्रीपनि उर्वरा हुन्छिन्, प्रकृतिले बीउ धारण गरेर अन्न उत्पादन गरे जस्तै स्त्रीलेपनि पुरुषको बिउ धारणगरेर सन्तान उत्पादन गर्छिन् । त्यसैले स्त्री प्रकृति जस्तै छिन् र प्रकृतिमाथीको अज्ञातसत्ता जस्तै पुरुषपनि सामाजिक सत्तामाथीका छन् । यो प्राकृतिक र आदिम समाजिकरणमा निजित्व र पौरुषेयको पहिलो आक्रमण थियो । वैदिक, विशेष गरेर यजुर्वैदिक आचार्यहरुले यसलाई व्यापक सामाजिक आधार दिए । अनेकन अभौतिक र भौतिक मानवीय देवहरुको सृजना गरिए, जो प्राकृतिक र सामुदायिक थिएनन्, अदृश्य र अप्राकृतिक थिए । यी अदृश्य र अप्राकृतिक देवहरु खुशीभए कल्याणकारी र बेखुशी भए कष्टकर हुने शर्त सहित थिए । त्यसैले अब सामाजिक मानवको दायित्वभित्र प्रकृति र समुदायको नियम पालनसंगै यी देवहरुको स्तुति, अभ्यर्थना र बलिभाग अर्पणपनि भयो । अब प्राकृतिकबाट सामाजिकतामा परिणत मानव समुदायको संस्कृति प्रकृतिजन्य सामाजिकतामा मात्र सीमित रहेन, यस्मा दैवियपनापनि थपियो । अब खुशीको कारणहरु अन्न, फलफूल र पशुधनको भरि पूर्णता, स्त्री–पुरुषबीचको रागात्मक र यौनिक सहवास र स्वस्थ्य सन्तानसम्ममा मात्र सीमित रहेन ; यस्मा देवहरुको सन्तुष्टि र प्रसन्नतापनि थपियो । पछि यी अलौकिक देवहरुको प्रतिनिधिको रुपमा भूस्वामी, सामन्त, सम्राट र राजा (राज्ञ)पनि देवको श्रेणीमा थपिए र सामाजिक मानवको खुशीको कारणमा राजा–महाराजाको कृपापनि सामेल भयो । तपाँईले हाम्रा साँस्कृतिक उत्सव र साँस्कृतिक विचारहरुलाई गहिरिएर अध्ययन गर्नु भयो, यस्मा फिरन्ते युगदेखी राजा महाराजाकाल सम्मका ऐतिहासिक यात्राका चिन्हहरु अहिलेपनि पाउनु हुनेछ । साँस्कृतिक उत्सवहरुमा कृषि उपजहरुको आधिक्यता, मान्त्रिक र अमान्त्रिक जे भएपनि देव अभ्यर्थना, पुरोहित छन् र राजा छन् । महाभारतमा भनिएको छ ः यहाँ न कुनै राजा थिए, न त कुनै राजदण्ड नै थियो, सबै समान थिए । यस्तो प्रारम्भिक समानतायुक्त समुदायबाट राजा महाराजाको राजसत्तासम्मको यात्राकालमा कर्मको आधारमा विभाजित र विभेदित समाजलाई जन्मको आधारमा जातपातमा बाँडेर स्थायी विभेदित समाजलाई उपनिषद्, स्मृति र संहिताका आचार्यहरुले धार्मिक आधार र औचित्यता दिए र राजकीय कानूनको बलमा समाजमा थोपरिदिए ।

प्राकृतिकदेखी राजकीय हुन्जेलसम्मको मानवविकासको यात्रामा पृथ्वीका विविधक्षेत्रका मानवसमुदायहरु विविध स्वार्थ र आवश्यकतावश एक आपसमा संघर्ष गरे, विजयी भए, पराजित भए, पलायन भए, संगै बसे, एउटा भूगोलको मानिस अर्को भूगोलको मानिससंग अन्तरसंघर्ष गरे, सहकार्य गरे । हाम्रो साँस्कृतिक, धार्मिक, आर्थिक, राजनीतिक र सामाजिक चेतना र चलनहरुमा यस्लेपनि प्रभाव प¥यो । यस्ले मानवीय समाजमात्र होइन, देवताहरुको चित्र, चरित्र र शक्तिलाईपनि प्रभावित ग¥यो । उपनिषद्, आरण्यक, स्मृति, संहिता र महाकाव्यहरुमा यसबारे पर्याप्त चर्चा पाइन्छ । यस साँस्कृतिक र भौगोलिक वैविध्यको उदाहरण हाम्रो लोककथा, लोकगाथा र लोकगीतहरु समेत सुरक्षित छ । विविध मानव समुदायबीचको यस अन्तर्विरोध र सहकार्यले विविध प्रकारको सत्ता, धर्म र दर्शनलाई जन्मिने मौका दियो । कुनै बेलाको शक्तिशाली इन्द्रको ठाउँमा शिव र विष्णुको प्रभूत्व यसैको परिणाम हो । भागवत्धर्मले वैदिकधर्मलाई किनारा लगायो । तर कुनैबेला भागवत् धर्म भित्रका शक्तिशाली देव विष्णु वैष्णवधर्मभित्र नै पछाडी परे, उनको अवतारको रुपमा कृष्ण र मध्यकालमा राम प्रमुखदेवको रुपमा स्थापित भए । विष्णुदेवकी अद्र्धाङ्गिनी लक्ष्मी धनको देवीको रुपमा पूज्य त रहिन, तर प्रमुख देवीको सिंहासनमा लक्ष्मीको अवतारको रुपमा कृष्णप्रिया राधा र रामप्रिया सीता स्थापित भएकी छिन् । यो सबै राज्यसत्ता र सामाजिक अधिकारको वर्चस्वमा भइरहेका परिवर्तनको परिणाम नै हो । जुनसमुदायले सत्ता कब्जागरे, उनले आफूसंग ल्याएको संस्कृति, धर्म, देवता तथा राज्यसंरचना आममानिसमाथी थोपरे । यस्ले स्वाभाविकरुपमा साँस्कृतिक अन्तर्घुलनहरु भयो । समयको प्रभावमा कयौँ अनार्यदेव आर्य भए, कयौँ आर्यदेवहरु विस्मृत भए । यतिमात्र होइन, लोकसंस्कृतिमा त यवन र मुस्लिम फकिर र मलङ्गहरु हिन्दुसमुदायमा लोकदेवको मान्यता पाए भने हिन्दुको कयौँ चलन मुस्लिम समुदायहरुले ग्रहण गरे । यस समग्र गन्थनको तात्पर्य के हो भने समयको अनेक घुम्तीपछि पार गरेकोधर्म र राज्यसत्ताले कृत्रिम बनाउन खोजेपनि सँस्कृतिको मानवीय सामूहिक तथा सहिष्णु चरित्र कायम नै रह्यो । इतिहासमा भएका धर्मयुद्ध र साम्प्रदायिक संकीर्णताले मानवसमुदायलाई एक आपसमा लडाएपनि युद्धपछि विविध सँस्कृतिबीचको अन्तर्घुलन र सहिष्णु सामुदायिकता यस्को विशेषता रहँदैआएको छ । तर वैयक्तिक नाफा, पूँजी र राज्यसत्ताको लोभले अहिलेको समाजमा खतरनाक किसिमले धार्मिक उत्तेजना फैलाउन खोज्दै छ । यस्ले ऐतिहासिक अनुभवहरुलाई उपेक्षा गर्छ र मानवीय इतिहासको भ्रमपूर्ण व्याख्या गर्छ । धार्मिकताको नाममा समुदायमा यस्तो अपरिचयपना बढाउन चाहन्छ, मानौ उनिहरु कहिल्यै संगै बसेनन्, कहिल्यै साझा उद्देश्यको निम्ती लडेनन् र साझा जीतको र हारको अनुभव गरेनन् । वस्तुतः नाफाको लालसा र राज्यसत्ताको लोभले यस्तो राजनीतिक अगुआ, धर्माचार्य र विद्वान जन्माई रहेको छ, जस्ले हामीलाई अमानवीय बनाउँदैछ ।

मानिसलाई पूँजीले मालमा, धर्मले अन्ध धार्मिकतामा र राज्यसत्ताले गुणगान गर्ने, भोट दिने रैतीमा परिणत गर्न खोज्दैछ । यो अत्यन्त खतरनाक समय हो, यतिबेला हाम्रा साँस्कृतिकचेतना र साँस्कृतिक उत्सवहरु मानवीय भन्दापनि संकीर्ण धार्मिक र आर्थिक फैसनयुक्त हुँदैछन् । कति भयावह भने धार्मिकताका नाममा हामी अमानवीय परम्परालाई जीवित राख्न चाहन्छौँ र एकत्व, सामुहिकता र मानवीय समानताको चेतनामाथी जातिय र धार्मिक श्रेष्ठता उचित ठान्छौँ । आधुनिकताका र मानवीयताका बहसहरुपनि छन्, तर दलित, महिला र कमजोर वर्गप्रतिको सामाजिक र राजनैतिक उपेक्षाभावले हाम्रो वर्तमान साँस्कृतिकचेतना र चलनलाई मानवीय अर्थमा कलंकित र अमानवीय बनाइरहेको छ । समयको प्रवाहमा सँस्कृति जड होइन, परिवर्तनशील छ, तर यसलाई मानवीय बनाउनु हाम्रो युगीन दायित्व हो । युवा पुस्ताको साँस्कृतिक चेतना धार्मिक होइन, मानवीय हुनेछ भन्ने आशा गरौँ ।

Comment


Related News

Latest News

Trending News