अपडेट 
२०७८ फाल्गुन २५, बुधबार ०७:०८

हाम्रो देशभन्दा धेरै टाढा छ युक्रेन । सोझो रुपमा हेर्दा युक्रेनको बारेमा धेरै जानकारी पहिले थिएन सर्वसाधारणलाई । सर्वसाधारणले युक्रेनको बारेमा युद्धको विभीषिकामा नै जान्न पाएका हुन् । यसको यो पनि कारण छ कि हाम्रो समाज खासै शिक्षित छैन । जे जति शिक्षित मानिस छन्, तिनीहरुमध्ये अधिकांश भाग सहरमा नै बस्ने गरेका छन् । पत्रपत्रिका सहरी क्षेत्रमा केन्द्रित छ । पत्रकारितालाई चेतनाको संवाहक नै भन्ने गरिएको छ । जब चेतनाको संवाहक मानिने अखबारहरु पनि ग्रामीण शिक्षित समुदायसम्म पुग्न सकेका छैनन् भने अन्तर्राष्ट्रिय चिन्ता र चासोका विषयहरु पनि निकै पछाडि हुन्छन् । दोस्रो कारण यो पनि हो कि हामी रोजी रोटीमा नै बढी व्यस्त हुन थालेका छौँ । रोजी रोटीलाई नै प्राथमिकता दिनुपर्ने हाम्रो समाजले ज्ञानको कुरालाई अझै प्राथमिकता राख्न सकेको पाइँदैन । जब ज्ञान र चेतनालाई पछाडि राखेर हेर्दछ तब हाम्रो जस्तो समाजले कहीँको बारेमा धेरै कुरा थाहा पाउन उक्त ठाउँ निरन्तर चर्चामा रहिरहनु पर्दछ । गत दुई हप्तादेखि युक्रेन निकै चर्चामा रहनुको कारण हो कि युक्रेनमाथि रुसले आक्रमण गरेको छ । युक्रेन धेरै ठूलो देश होइन । भूगोल र जनसंख्याका साथै शक्तिको दृष्टिकोणले पनि रुसभन्दा कैयौँ गुणा सानो देशको रुपमा युक्रेन रहेको छ । यद्यपि सानो र ठूलोको आधार सार्वभौमिकता हुन सक्दैन । युक्रेनलाई राष्ट्रियता तथा सार्वभौमिकताको दृष्टिकोणले सानो भन्न खोजेको हुँदै होइन । युक्रेनमाथि जब रुसले आक्रमण ग¥यो तब युक्रेनको बारेमा धेरै किसिमले चिन्ता र चासो हाम्रो समाजमा पनि व्यक्त गरिएको छ ।

अहिले हरेक दिन हरेक समाचारमा युक्रेनको बारेमा केही न केही आइरहेकै छ । युक्रेनले अहिले एकातिर विश्वकै सहानुभूति प्राप्त गरेको छ भने अर्कोतिर रुसको तर्कलाई पनि धेरैले नराम्रो भन्न सकेको अवस्था छैन । जसरी युक्रेन सुरक्षित हुनु पर्दछ भनिएको छ, त्यसै गरी रुसलाई पनि युक्रेनको कुनै पनि गतिविधिले खतरा महसुस हुनु हुँदैन भन्ने तर्क पनि गरिएको छ । रुससे आफ्नो दीर्घकालीन सुरक्षा गर्न चाहेकोले युक्रेनमाथि आक्रमण गरेको रुसी पक्षको तर्क निरन्तर रहेको छ । अहिले युक्रेनको बारेमा जुन किसिमको समाचार आइरहेका छन् र समाचारमा जसरी युक्रेनलाई युद्धको घोषणा गरिएको दिनदेखि नै देखाइएको छ, त्यसले धेरैको दिल र दिमागमा हलचल उत्पन्न गरिरहेको छ । लाखाँै मानिस पलायन भएका छन् । यस्तोमा वृद्धवृद्धा, बालबालिका तथा बिरामी र अपांगहरुको अवस्था कस्तो हुन्छ होला भन्ने कुराको केवल अनुमान मात्र गर्न सकिन्छ । यसपछि युक्रेनमा जुन किसिमको अहिले वातावरण रहेको छ, त्यहाँ मानिस कसरी बाँचिरहेको होला भन्ने चिन्ता र चासो पनि व्यक्त भइरहेको हाम्रो समाजमा । जुन दर्शकले टेलिभिजन हेरिरहेका छन्, तिनीहरुले युक्रेनमा भइरहेको तबाही तथा युक्रेनका धेरै संरचनाको बर्बादी देखिरहेका छन् । युक्रेनका धेरै ठूला घरहरु पनि भत्काइएका छन् । घरलाई बर्बाद पारिएको छ । र समाचारहरुमा यो पनि आइरहेका छन् कि युक्रेनका धेरै मानिसहरु बंकरमा लुकेर बसिरहेका छन् । धेरै ठाउँमा पानीको हाहाकार पनि मच्चिएको छ । पानीको हाहाकार मात्र होइन अन्य धेरै मानवीय सेवा र सुविधाको पनि कमी भएको छ । साथै मानिसहरु घरबाट बाहिर निक्लिन पाएका छैनन् । कोही निरन्तर पलायनको बाटो खोजिरहेका छन् । संसारमा सबैभन्दा सुरक्षित त मानिस आफ् नो घरमा रहन्छन् तर मानिसहरुले आफ्नो घरबाट पलायन भएर अर्को देशमा शरणार्थीजस्तो बस्नु पर्दा कत्तिको समस्यामा परिरहेका होलान् ? आम नेपाली समाजले त टेलिभिजनमा धुवाँको मुस्लो तथा आकाशमा उडिरहेका विमानहरु देखिरहेका छन् । यदि टेलिभिजनमा समाचार च्यानलहरुले यस्ता दृश्य देखाएका छैनन् भने वास्तवमा सर्वसाधारणले कुनै खतरनाक फिलिमको दृश्य मान्न पुग्दथे सर्वसाधारण मानिसहरु । तर कुनै फिलिमको दृश्य होइन, कुनै काल्पनिक युद्ध पनि होइन ।

युक्रेनमाथि रुसले आक्रमण गरेको यथार्थ हो । आम सर्वसाधारण नेपालीले मात्र नभएर विश्वका कतिपय विश्लेषकहरुले पनि यही भनिरहेका छन् कि युक्रेनमा देखिएको वर्तमान दृश्य विगतमा दोस्रो विश्वयुद्धमा देखिएको जस्तो नै छ । अझ कतिपयले त यो पनि भनिरहेका छन् कि दोस्रो विश्वयुद्धभन्दा वर्तमान अवस्था निकै खतरनाक रहेको छ । दोस्रो विश्वयुद्ध नदेखेका मानिसहरुले भन्ने गरेको यथार्थले चर्चा पाइरहेकै छ, साथमा अर्को चर्चा पनि चलिरहेको छ कि विश्व कतै तेस्रो विश्वयुद्धतिर लम्किरहेको त छैन ? तेस्रो महायुद्धले ल्याउने परिणामको कल्पना मात्रले पनि समाजका जुनसुकै मानिस थर्कमान भइरहेका छन् । अहिले सर्वसाधारण मानिसले सोच्ने कुराको आधार केही हदसम्म भोगाइले पनि दिएको छ । नेपालमा पनि युक्रेन युद्धको असर परेको छ । नेपालीको भान्छामा डर पसिसकेको छ । अहिले भान्छाको ग्याँसको मूल्य बढ्ने आशंका सबैलाई छ । पेट्रोलको मूल्य बढेर सबै हैरान छन् । यस बिचमा नेपालीको आयमा कुनै वृद्धि भएको छैन तर मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । अहिले युक्रेनमाथि आक्रमण भएपछिको समयमा सुनको मूल्यमा निकै नै वृद्धि भइसकेको छ । सुनको मूल्य बढ्दा गरिबहरु पनि प्रभावित भएका छन् । गरिबहरु कसरी प्रभावित छन् भने अहिले लगनको समयमा सुनको मूल्य बढ्दा गरिबका छोराछोरीको बिहेमा महँगोमा किन्नु परेको छ । सबैले राम्ररी बुझेका छौँ कि बिहेमा दुलहा पक्ष र दुलही पक्ष दुवैतिर सुनको केही गहना नभई हुँदैन । सुनको गहनाको भौतिक र अभौतिक दुवै मूल्य हाम्रो संस्कृतिको बिहेमा हुने गरेको छ । र, अब अझै यदि युद्ध लम्बिइरहयो भने हाम्रो समाजमा थप असर पर्ने डर समाजमा रहेको छ । युद्ध लम्बिँदा महँगी बृद्धि हुने निश्चित छ । अहिले नै के भनिएको छ भने अहिलेसम्मकै इतिहासमा नेपाली रुपैया सबैभन्दा कमजोर भएको छ अमेरिकी डलरको तुलनामा ।

यसले यो संकेत गरिसकेको छ कि हामीले विदेशबाट ल्याउने सबै सामग्रीको मूल्यमा वृद्धि भएको छ र निरन्तर मूल्य वृद्धि भइरहेको छ । नेपाली रुपैयाको अवमूल्यन अन्तर्राष्ट्रिय बजारमा यही युक्रेनमाथि भएको आक्रमणको कारणले भएको भन्ने कुरामा सबै सहमत छन् । यसले गर्दा नेपाली समाजमा अनेक किसिमले चिन्ता र चासो बढेको छ । अझ आगामी वैशाखमा यदि चुनाव हुन्छ भने यसले थोपर्ने महँगी आफ्नै ठाउँमा रहेको छ । हामी कसरी विवश छौँ भने हामीले चाहेर यसमा केही हुने अवस्था पनि छैन । तर पनि युक्रेन र रुसबिचमा कुनै किसिमले समस्या समाधान हुने आशा गर्न सक्छौँ । विश्वका धेरै देशहरुका साथै हाम्रो छिमेकी भारतले पनि समस्या समाधानमा अलिकति भए पनि योगदान दिने सम्भावना रहेको छ । आशा गरौँ निकट भविष्यमा युद्ध समाप्त होओस् ।

Comment


Related News

Latest News

Trending News