विद्युत अभावको कारण वर्षोदेखि अन्ध्यारोमा कष्टकर जीवन बिताउन बाध्य सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३को विकट तथा दुर्गम गाउँ गोबरगाढाका वासिन्दाले अब सहज रुपमा विद्युतको प्रयोग गर्न पाउने भएका छन् ।
चारै तिर कोशी नदीले घेरिएको उक्त गाउंमा मंगलबार ढुंगा र ट्याक्टर चढ्दै पुगेका मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले गाउंमा नियमित वसोवास गर्ने ५८ परिवारलाई सौर्य बत्ती (सोलार प्यानल सेट) उपलब्ध गराएपछि उनीहरुको वर्षौदेखिको समस्या टरेको हो । गोबरगाढा स्थित राष्ट्रिय आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री साहले ५८ परिवारलाई आफ्नो संसदीय विकास कोषबाट नौ लाखको लगानीमा प्रत्येक घरमा चार वटा बत्ती बाल्न सकिने क्षमता भएको १२ भोल्टेजको ब्याट्री सहितको सोलार प्यानल सेट हस्तान्तरण गरेका छन् ।
सहजता र नियमित सेवाका लागि सो गाउँमा ६ वटा सोलार प्यानल सेट तत्कालै जडान समेत गरिएको छ । भारतीय सीमासंग जोडिएको उक्त गाउँमा विद्युत अभावमा स्थानीयले हैरानी मात्र होइन् वर्षाको समयमा निक्कै पीडा खेप्दै आएका थिए । अन्ध्यारोको कारण सुरक्षा चुनौती समेत उनीहरुले भोग्दै आएका थिए । मन्त्री साहले गोबरगाढा गाउँको विकासका लागि प्रदेश सरकारको साधन श्रोत र क्षमताले भ्याएसम्म काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । सौर्य बत्ती जडान भएपछि स्थानीयवासीलाई विभिन्न काममा सहजताका साथै समाजमा शान्ति सुरक्षा कायम गर्न समेत मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

