२०७८ फाल्गुन २६, बिहीबार ०७:१०

काठमाण्डु विश्वविद्यालयले जानकी कलेज फर प्रोफेशनल स्टडीजको सहकार्यमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा ब्याचलर अफ टेक्नीकल एजुकेशन ईन ईनफर्मेशन टेक्नोलोजी (बीटेक एडआईटी) नामक ४ वर्षे स्नातक कार्यक्रमको शुरुवात गरेको छ ।

जनकपुरधाम स्थित अक्षर विद्यामन्दिरको प्रांगणमा आयोजित एक समारोह बीच मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कार्यक्रमको औपचारिक घोषणा गरेका छन् । जानकी कलेजका अध्यक्ष पंकज जालानको सक्रियतामा भएको सो समारोहमा प्रदेशका मुख्यन्यायाधीवक्ता दीपेन्द्र झा, जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साह, विश्वविद्यालयको तर्फबाट स्कुल अफ एजुकेशनका डिन बालचन्द्र लुईटेल र स्टीम शिक्षाको हेड अफ द डिपार्टमेन्ट विनोद पंत लगायतको सहभागिता रहेको थियो । जानकी कलेज नेपालको पहिलो आईटी कलेज लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको सहयोगी संस्था रहेको छ ।

बीटेक, एडआईटी कार्यक्रमको मुख्य उद्देश्य सूचना प्रविधिको क्षेत्रमा प्राविधिक शिक्षक तयार पार्नु रहेको जनाइएको छ । चार वर्षे बीटेक एडआईटीको कार्यक्रमलाई आठ सेमेष्टरमा विभाजित गरिएको छ । कार्यक्रमको कूल भार १ सय ३८ क्रेडिट आवर रहेको छ । यो कार्यक्रम जनकपुरधामको अक्षर विद्या मन्दिरको परिसरमा सञ्चालन हुने भएको छ । यस कार्यक्रममा भर्ना हुने विद्यार्थीले इन्टर्नर्सिपकोलागि दोश्रो वर्षदेखि नै विद्यालयहरुमा अध्यापन गराउन जानुपर्ने छ । यसले अहिले नेपाल सरकारले सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमलाई पनि सार्थक तुल्याउने विश्वास व्यक्त गरिएको छ । चार वर्षे वीटेक एडआईटीमा भर्ना हुनकालागि कुनै पनि संकायबाट १२ कक्षा वा सो सरह वा सिटिइभीटीले सञ्चालन गरेको ३ वर्षे डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान रहेको छ ।

Comment


Related News

Latest News

Trending News