डिभिजन वन कार्यालय बाराले तीन जना सहित काठले भरिएको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । तामागढी कोल्हबी सड्क खण्डबाट सुबेदार ध्रुब कुमार कटुवालको नेतृत्वमा गएको टोलीले करिब ५२ क्युफिट चिरानको काठ बरामद गरेको हो । भुसको बोराले छोपेर ट्रयाक्टरमा काठ लोड गरी लैजाँदै गरेको अवस्थामा वन गस्ती टोलीले तीन जना व्यक्ति सहित काठ नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय सिमरा ,बाराका प्रमुख मञ्जुर अहमदले जानकारी दिए ।
बिहान तीन बजे काठ लोड गरिएको ना४ त ७७९ नम्बरको ट्रयाक्टरलाई बा ६४ प ७८३४ नम्बरको स्कुटीमा बसी निजगढ नगरपालिका–८का २९ वर्षीय चन्द्र माझी र जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगिया वस्तीका २२ वर्षीय सेरफ दुर्जे बम्जनले लैंजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । नियमित गस्तीको क्रममा गएको वन गस्ती टोलीलाई देख्ने बित्तिक्कै काठ लोड गरिएको ट्रयाक्टरका चालक निजगढ नगरपालिका–८का २८ वर्षीय सन्तोष कुश्वार माझीले ट्रयाक्टरलाई तीव्र रुपमा कुदाएको डिभिजन वन प्रमुख अहमदले बताए । शंका लागेर ट्रयाक्टरलाई पछ्याउँदै गरेको वन गस्ती टोलीले करिब दुई कि.मि.को यात्रा तय गरेर ट्रयाक्टरलाई पक्राउ गर्न सफल भएको थियो । ट्रयाक्टर रोक्ने बित्तिक्कै ट्रयाक्टरमा सवार तीन जना ज्याला मजदुरी गर्ने मानिसहरु फरार भएका छन् । पक्राउ परेका काठ सहितको ट्रयाक्टरलाई नियन्त्रणमा राखी पक्राउ परेका तीनै जना माथि थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय सिमरा बाराले जनाएको छ ।

