२०७८ फाल्गुन २७, शुक्रबार ०७:५०

मिथिला मध्यमा परिक्रमाका यात्रीहरु विहीबार कञ्चन वनमा होरी उत्सव मनाएका छन् । मिथिलाको महाकुम्भ समेत मानिने १५ दिने मध्यमा परिक्रमा विहीबार सातौं दिन कञ्चनवन पुगेको हो । भगवान राम र माता सीताले त्रेतायुगमा रंग अबिर दलेर होरी खेलेको स्मरणमा यात्रीहरुले कञ्चनवन पुगेर प्रत्येक वर्ष होरीउत्सव मनाउने परम्परा रहिआएको सुन्दर सदनका महन्त नवलकिशोर शरणले जानकारी दिएका छन् । उनले भने,‘मिथिलामा आजको दिनबाटै औपचारिक रुपमा होरी महोत्सव मनाउने प्रारम्भ हुने गरेको छ ।

यो अत्यन्त महत्वपूर्ण दिन हो ,हुन त परिक्रमाको १५ दिन नै महत्वपूर्ण रहेको भएपनि आजको दिनलाई विशेष महत्वको रुपमा हेरिन्छ ।’ सो अवसरमा यात्रीहरुले एक अर्कालाई रंग अबिर लगाइ खुशी साटासाट गरेका थिए भने स्थानीयवासीहरुले यात्रीहरुको भव्य स्वागत गरेका थिए । यस अवसरमा परिक्रमा यात्रीहरुको स्वागत तथा मेला हेर्नका लागि भंगहा नगरपालिकामा विहीबार सार्वजनिक विदा समेत दिएको थियो । बुधवार नै सूचना जारी गरि विदा दिइएको हो । वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदाबाट शुरू भएको परिक्रमा १५ दिनमा जनकपुरधाम पुगेर फागु पूर्णिमाको दिन परिक्रमा सम्पन्न गरिने परम्परा छ । बितेको बुधबार धनुषाको कचुरीको मिथिला बिहारी मठबाट मिथिलाबिहारी तथा जनकपुरधामको अग्निकुण्डबाट किशोरीजीको डोलाको नेतृत्वमा सुरु भएको मिथिला मध्यमा परिक्रमाका यात्रुहरु हनुमान नगर, भारतको कल्याणेश्वर, फूलहर, गिरिजा स्थान हुदैँ शनिबार महोत्तरीको मटिहानी, जलेश्वर, मडै हुँदै बुधबार ध्रुबकुण्ड पुगेका थिए ।

भने विहीबार कञ्चनवनमा विश्राम गरेर शुक्रबार धनुषाको पर्वता ,धनुषाधाम, सतोषर, औरहीमा राति विश्राम गरी पुनः भारतको विशौल, करुणा हुँदै पूर्णिमाको पूर्व सन्ध्यामा जनकपुरधाम आइपुगेर भोलिपल्ट अन्तरगृह परिक्रमा गरेपछि परिक्रमा विधिवत् रुपमा सम्पन्न हुनेछ । मिथिला परिक्रमामा सहभागीहरुले नेपालको १ सय ७ किलोमिटर र भारतको २६ किलोमिटर गरी १ सय ३३ किलोमिटर लामो बाटो तय गर्दै नेपालमा १० तथा भारतमा पाँच गरी १५ ठाउँमा रात्रीवास गरी बिहानै यात्रा प्रारम्भ गर्ने चलन रहेको छ । परिक्रमा यात्रामा नेपाल भारतका विभिन्न स्थानका हजारौं भक्तजनहरु घरबाटै भोजन र आवासको व्यवस्था सहित सहभागी हुने गरेका छन् । विभिन्न विश्रामस्थलमा परिक्रमा विश्राम गर्ने दिन स्थानीय मेलाको आयोजना हुने गरेको छ । मिथिला परिक्रमामा सहभागी भए मोक्षको प्राप्ति हुने जनविश्वास रहेको छ । केही दिन यतादेखि स्थानीय पालिकाहरुले परिक्रमा आइपुग्ने दिन सम्बन्धित पालिकामा सार्वजनिक विदा दिने परम्परा समेत सुरु भएको छ । परिक्रममा सहभागीहरुलाई हेर्न समेत गाउंगाउंबाट मेला हेर्ने सर्वसाधारणहरुको भीड लाग्ने गरेको छ ।

Comment


Related News