पौराणिक स्थल धनुषाधाममा प्राणी उद्यान र चिडियाखाना निर्माण गरिने भएको छ । वन तथा वतावरण मन्त्री रामसहाय यादवले शुक्रबार धनुषाधाममा रहेको वनस्पति अनुसन्धान केन्द्रको वनस्पति उद्यानको अनुगमन तथा निरीक्षणका क्रममा सो जानकारी दिएका हुन् ।
उनले मधेश प्रदेशको धार्मिक तथा ऐतिहासिक महत्वको धनुषाधाममा वनस्पति सम्बन्धी अध्ययनको केन्द्र र प्राणी उद्यानको रुपमा विकास गरिने बताए । धनुषाधाममा प्राणी उद्यानको प्रबल सम्भावना रहेकोले सोका लागि सरकारले अध्ययन अनुसन्धानको कार्य अगाडि बढाई सकेको मन्त्री यादवले बताए । वनस्पति, वन र चुरे एक अर्कालाई जोडेको भन्दै मन्त्री यादवले भने,‘धनुषाधाममा प्राणी उद्यान स्थान भएको खण्डमा मधेश प्रदेशको आर्थिक विकासका साथ साथै पर्यटन प्रर्बद्धनमा ठूलो टेवा पुग्ने निश्चित छ।’ हालको वनस्तपति अनुसन्धान केन्द्रलाई व्यस्थित गर्दै वनस्पति सम्बन्धी अध्ययन गर्ने विद्यार्थीहरुको अध्ययन अनुसन्धान केन्द्रको रुपमा विस्तार गर्न संघीय सरकारले योजना निर्माण गरिरहेको उनले जानकारी दिए । वनस्पति उद्यान केन्द्रमा लोपोन्मुख अवस्थामा रहेका विभिन्न प्रजातिका वनस्पति, विरुवाहरुलाई संरक्षण गर्दै आएको छ, मन्त्री यादवले भने,‘ यसलाई अझ व्यवस्थित बनाउन सकिए नेपाल भरिका वनस्पति सम्बन्धी अध्ययन अनुसन्धानका लागि धनुषाधाम केन्द्र बन्न सक्छन् ।
’ वनस्पति अध्ययन केन्द्र संघीय सरकारको मातहत रहे पनि प्रदेश र स्थानीय तहसँग समन्वय गरेर त्यसलाई नेपालकै नमूना केन्द्रको रुपमा विकास गर्न सकिने धारणा समेत उनले राखे । सूरक्षित संरचना अभावमा जंगली जानवरबाट वनस्पति केन्द्रमा हुने क्षतिलाई न्यूनीकरण गर्न तत्काल नै संघीय सरकारले चारैतिरबाट तारवारको लागि बजेट व्यवस्थापन गर्न लागेको बताउंदै उनले केन्द्रलाई व्यवस्थित गर्न सकिए चलचित्र निर्माणका लागि उपयुक्त स्थल हुन सक्ने र सोबाट आर्थिक आम्दानी समेत गर्न सकिने उल्लेख गरे । वनस्पति अध्ययन तथा अनुसन्धान केन्द्र जनकपुरका निमित्त प्रमुख ताहिर हुसैनले वनस्पति केन्द्रको अवस्था बारे मन्त्री यादवलाई जानकारी गराएका थिए । जग्गा पर्याप्त भए पनि बजेटको अभावमा वनस्पतिले लक्ष्य अनुसारको काम गर्न नसकेको उनको भनाइ थियो । केन्द्रमा विभिन्न प्रजातिका जडीबुटी, तथा विरुवाहरु समेत उद्यानमा रहेको उनले जानकारी गराए ।

