जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापतिका लागि भएको दोस्रो चरणको मतदान सम्पन्न भएको छ ।
जिल्ला सभापति चयन गर्न भएको दोस्रो चरणको निर्वाचन शुक्रबार सम्पन्न भएको हो । कूल ३ हजार १ सय ७३ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा २ हजार ८ सय १४ मत खसेको निर्वाचन समितिले जनाएको छ । यसअघि पहिलो चरणको निर्वाचनमा २ हजार ९ सय १२ मत खसेको थियो । दोस्रो चरणमा ९८ मत कम खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ बाट ६ सय ७१, २ बाट ६ सय ९६, ३ बाट ६ सय ३४ र ४ बाट ५ सय ७८ मत खसेको निर्वाचन समितिले जनाएको छ । यसैगरी अपांगता भएका मतदाताको तर्फबाट २ सय ३५ मत खसेको जनाइएको छ । दोस्रो चरणको मतदानमा सभापतिका लागि संस्थापन ईतर पक्षका योगेन्द्र पजियार र संस्थापन पक्षका सन्तोष कुमार यादव बीच प्रतिस्पर्धा भएको छ ।
पजियारलाई जिताउन कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधि लगायतका नेताहरु जुटेका थिए । यादवको पक्षमा सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगाना लगायतका नेताहरु लागेका छन् । यस अघि पहिलो चरणको निर्वाचनमा पजियार,यादव तथा दिनेश प्रसाद प्रसैला बीच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । नेपाली कांग्रेसको विधान अनुसार सभापतिका उम्मेदवारले ५१ प्रतिशत भन्दा बढी मत ल्याउनु पर्ने प्रावधान अनुसार कुनै पनि उम्मेदवारले सो अनुसारको मत ल्याउन सकेका थिएनन् । पहिलो चरणको निर्वाचनमा पजियारले ९ सय ८९ ,यादवले ५ सय ४० तथा प्रसैलाले ५ सय २९मत ल्याएका थिए ।

