नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेको कुनै भविष्य नरहेको टिप्पणी गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले उखान टुक्का र हावादारी कुरा गर्ने बाहेक अरु केही गर्न नसक्ने भन्दै नेता नेपालले एमालेको अब कुनै औचित्य नै नरहेको बताए ।
केपी ओली गफाडी नम्बर एक रहेको बताउँदै नेता नेपालले ओली जस्ता गफाडीको पछाडि नलाग्न आग्रह गरे । गृह जिल्ला रौतहटको दुर्गाभगवती गाउँपालिका ३ पिपरा मत्सरी स्थित संस्कृत माध्यमिक विद्यालयको प्राङ्गनमा शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीसँग देश बनाउने कुनै भिजन नभएको, मुलुकको जनताको हित हुने गरी विकासको खाकाहरु तयार गर्ने कुनै आइडिया समेत नभएको जिकिर गरे । देश बनाउने कुनै भिजन र एजेण्डा नै नभएको पार्टी एमालेले कुनै पनि हालतमा देशलाई सुखी, समृद्ध र विकसित बनाउन नसक्ने दावी गर्दै नेता नेपालले अब नेकपा एकीकृत समाजवादी पार्टीले मात्र देशलाई निकास दिन सक्ने दावी गरे । पटक पटक संसद विघटन गरेर ओलीले लोकतन्त्र, गणतन्त्र र संघीयतालाई नै समाप्त पार्न खोजेको भन्दै पाँच दलीय गठबन्धनको सरकारले देश जोगाइदिएको उनले बताए । संघीयता, लोकतन्त्र र गणतन्त्र विरोधी ओलीले देश बनाउने नाममा जनतालाई ठग्ने काम मात्र गरेको उनले आरोप लगाए । अध्यक्ष नेपालले हत्यारा, भ्रष्टाचारी, लगायत प्रतिगमनकारी शक्तिहरुको जमातको रुपमा रहेको ओलीको कारण मुलुकको अवस्था दिनानुदिन दयनीय भएको बताए ।
अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी एमालेभन्दा धेरै शक्तिशाली बनिसकेको दाबी समेत गरे । देशभर एमाले भन्दा आफ्नो पार्टी बलियो रहेको उनले दावी गरे । नेता नेपालले भने–‘एमाले बैइमान, लुटेरा, हत्यारा, ठग, गफाडी र भ्रष्टाचारीहरुको एउटा संगठन हो त्यस्ता संगठन समाप्त नभएसम्म देश कहिलै बन्न सक्दैन । त्यसैले आउँदो निर्वाचनमा एमालेलाई भोट नहाल्नु ।’ अध्यक्ष नेपालले सूर्यमा ग्रहण लागिसकेको कारण कलम चल्न थालेको बताए । केपी ओलीको हठका कारण एमालेको वर्तमान स्थिति सृजना भएको भन्दै उनले आगामी निर्वाचनमा यो पार्टीलाई उम्मेदवार खोज्न समेत समस्या पुग्ने बताए । बैशाख ३० गते हुन लागेको स्थानीय र त्यसपछि हुने प्रदेश एवं संघको निर्वाचनमा कसैको लहैलहैमा नपरी आफनो पार्टीका उम्मेदवारहरुलाई निर्धक्क भएर भोट हालेर जिताउन उनले अनुरोध गरे । आयोजित पार्टी प्रवेश कार्यक्रममा माधवनारयण नगरपालिका ९ गढोका वडा अध्यक्ष जागरित सहनी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे । तत्कालिन नयाँ शक्तिबाट टिकट पाएर सहनी वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेकपा एसका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री नेपालले टिका र माला लगाएर वडा अध्यक्ष सहनीलाई पार्टी प्रवेश गराए । सोही कार्यक्रममा एमालेको प्रदेश सदस्य रौशन झा पनि नेकपा एसमा प्रवेश गरेका छन ।

