अपडेट 
२०७८ चैत्र १, मंगलवार ०७:२९

फासीवाद अर्थ राजनीतिकरुपमा वित्तीय एकाधिकार र राजनैतिक साँस्कृतिकअर्थमा चरम निजी महत्ताको दृष्टिकोण हो । यसले निजी श्रेष्ठताको गर्वोन्मत्त भ्रम र विपरीत विचार तथा समुदायको उच्छेदको उन्माद पैदा गर्छ । यस्का साँस्कृतिक मूलाधारहरु धर्म, जाति, राष्ट्रबारे अतितमुखी गर्व हुन् । यस्ले मानिसमा हामी,हाम्रो धर्म र हाम्रो राष्ट्रमात्र श्रेष्ठ, अरु हीन, त्यसैले हामीमात्रै शासन गर्न योग्य र श्रेष्ठ भन्ने भाव जन्माउँछ । हिटलरको नाजिवाद र मुसोलिनीको फासीवाद यस्तै उग्र र संकीर्ण राजनैतिक प्रवृत्ति थियो । हिटलरमा जर्मनआर्य श्रेष्ठताको गर्व छन्, त्यसैले उनिहरुले मात्र शासन गर्न पाउनुपर्छ,, अरु अयोग्य हुन्छन्, त्यसैले उनिहरुनिषेधित हुनुपर्छ भन्ने भाव थियो । उसको विचारमा शुद्धरक्तकाजर्मनआर्यहरुले उनिहरुले अरुसंग सहवास गरेर जन्माएको सन्तानको रगतपनि शुद्ध र श्रेष्ठ हुनेथियो । यस विकृत अमानवीय चिन्तनबाट प्रेरित जर्मनसेनालेद्वितिय विश्वयुद्ध ताको लाखौँ यहुदी र अन्य जातिकी महिलाहरुलाई बलात्कार गरे ।

हिटलरलाई खुशी थियो, किनभने उसको आदेशमा जर्मनसेनाहरुले‘अशुद्ध रक्त’भएकाहरुको गर्भबाट ‘शुद्ध र श्रेष्ठवंश’को सन्तान उत्पादन गर्ने ‘पुण्य’को काम गरिरहेका थिए । हिटलरले ‘मेन क्याम्फ’ नामक पुस्तकमा आफ्ना उग्र र उन्मादी विचारहरुलाई सैद्धान्तिकीकरण गर्ने कोशिस गरेका छन् । एकछिन सोँचौँ, दोस्रो विश्वयुद्धमा हिटलरको विजय भएको भए विश्व कस्तो हुनेथियो ? हिटलरले सैन्यविद्रोह वा षडयन्त्रको माध्यमबाट होइन उनले चुनावी बाटोबाट नै सत्ता कब्जा गरेका हुन् । जर्मनीको सत्ताप्रमुख बनेपछि उनले वैधानिक बाटोबाट नै सबैशक्तिहरु आफूमा केन्द्रित गरे र आफ्ना विपक्षीहरु (यहुदी, समाजवादी र कम्युनिस्टहरु) तह लगाउन उग्र जर्मन राष्ट्रवादी श्रेष्ठताको उन्माद फैलाए । एक जाति, एक राष्ट्र र एक देशको उग्र नारा हिटलरको नाजी शासनको मूख्य उन्मादी विचार थियो । यसमा जातिय साँस्कृतिकश्रेष्ठताको दम्भ र जर्मनहरुको पुख्र्यौली लडाकू अतीतप्रतिको गर्व थियो । यै साँस्कृतिक उन्मादको बलमाउनी आफ्नो शासन युरोप र प्रकारान्तरले विश्वभरी फैलाउन चाहन्थे । दोस्रो विश्वयुद्धमा हिटलरको पराजयलाई वैचारिकरुपमा फासीवादको पराजयपनि भनिन्छ । तर एक्काइसौँ शताब्दीमा एकपटक फेरी फासीवादीउन्माद राजनीति मात्र होइन, जनतालाई समेत उन्मादित गरिरहेको देखिन्छ । दक्षिणएसिया र हाम्रै देशको राजनीतिको विगतको समीक्षा गर्ने हो भने केहीवर्ष पहिलेसम्म धर्म र राजनीति दुई फरक विषयहरु थिए । धर्म मानिसको निजी आस्थाको विषय थियो र राजनीति राज्य चलाउने नितिको रुपमा थियो ।

राजनीतिमा धर्मको प्रयोग निन्दनीय र सामाजिक अपराध जस्तै मानिन्थ्यो । त्यतिबेला पनि धर्मको नाममा राजनीति गर्न खोज्नेहरु थिए, तर उनिहरु आलोचित र उपेक्षित जस्तै थिए । राजनीतिमा धर्मको घालमेल कतिसम्म उपेक्षित थियो भने पञ्चायतकालमा हाम्रो देश हिन्दु राजतन्त्र थियो, तरपनि पञ्चायती राजनीतिज्ञहरुले समेत राजनीतिमा धर्मको प्रत्यक्ष प्रयोग गर्नबाट आफूलाई बचाउन चाहन्थे । पञ्चायती राजतन्त्र सामन्तवादी चरित्रको फासीवादी तानाशाही हो ।यस्का शासकीय आधारहरु राजतन्त्र, हिन्दुधर्म र गोर्खाली खस अहंकारी राष्ट्रवाद नै हो । तर देश बाहिरको विश्व जनमतको आलोचनाबाट बच्नलाई नै भएपनि पञ्चायती शासकवर्गले धर्म र राजनीतिलाई भिन्न देखाउने गर्थे । यद्यपि राजाको गुणगान तथा हाम्रो भाषा हाम्रो भेषले गोर्खाली खस भाषा र भेषले अन्य सबै साँस्कृतिक पहिचानमाथी वर्चस्व स्थापित गरिरहेको थियो । धार्मिक आधारमा गठित श्रीलंका, पाकिस्तान विश्व जनमतको नजरमा आलोचित थियो । जनमुखी राजनीतिको निम्ती धर्मनिरपेक्षता चारित्रिक विशिष्टताको रुपमा थियो । यस्को कारणपनि थियो । छिमेकी स्वतन्त्र भारतमा उग्र धार्मिकताले उदार धार्मिकतापनि सहन सकेन र नाथूराम गोडसेले गान्धीको हत्या गरे । गोडसे जुन उग्र धार्मिक विचारबाट प्रशिक्षित थिए, त्यसएक धर्म, एक राष्ट्र र एक देशको राष्ट्रवादी उन्मादले वैविध्यता स्वीकार्न चाहँदैन । गान्धी धर्मनिरपेक्ष थिएनन्, उनि उदार धार्मिक अर्थात धर्मसहिष्णु थिए । उनले सबै धर्मलाई आ–आफ्नो समुदायगत् व्यवहार र विश्वासको आधारमा ईश्वरको व्याख्याको रुपमा लिन्थे । त्यसैले उनको भारतीयतामा सबै धर्म र सम्प्रदायप्रतिको सहिष्णुभाव थियो । गान्धीकाविचारका राजनैतिक, आर्थिक र साँस्कृतिक पक्षमा अनेकौँ आलोचनात्मक पाटा छन् । उनको आदर्श धार्मिक सहिष्णुताको धारणामा पनि एकखालको संकीर्णता थियो, यस्ले प्रकारान्तरले हिन्दुधर्मभित्रको रुढ जातिय संरचनालाई अुनमोदन गथ्र्यो । तरपनि सैद्धान्तिकस्तरमा उनले जुन उदार धार्मिक सहिष्णुताको दृष्टिकोण सारे, त्यो एक धर्म, एक राष्ट्र र एक देशको संकीर्ण राष्ट्रवादी पक्षधरहरुलाई पचेन । र गान्धी मारिए । गान्धीको हत्याप्रति चौतर्फी आलोचना भयो ।

देशभित्र मात्र होइन, यस जघन्यताकार्यको विश्वव्यापी आलोचना भयो । यस कारण उग्र धार्मिक राष्ट्रवादीशक्तिहरु छद्म लोकतान्त्रिक खोल ओढन बाध्य भए । तर प्रत्यक्ष, अप्रत्यक्षरुपमा उनिहरुले आफ्नो गतिविधि जारी नै राखे । त्यतिबेला धार्मिक राजनीति खुम्चिन बाध्य हुनमा साम्राज्यवादविरोधी विश्व जनमत प्रबल थियो । तर वर्तमानमा राजनीतिक परिस्थिति उल्टो छ ।विश्व राजनीतिमा साम्राज्यवादविरोधीशक्तिहरु र उपनिवेशवादविरोधी शक्तिहरु कमजोर स्थितिमा छन् । बिसौँ शताब्दीको आठौँ, नबौँ दशकमा बलियो देखिएका उपनिवेशवाद विरोधी मुक्तिसंघर्षहरु अहिले शिथिल र दिशाहीन छन् ।साम्राज्यवादीशक्तिहरु कमजोर देशहरुलाई आफ्नो वित्तीय र फौजीजालोमा फँसाउँदै छन् । मध्यपूर्वमा संयुक्त राष्टं«संघ सहित विश्वको अधिकांश देशहरुको समर्थन र सहानुभूति आर्जन गरेको प्यालेस्टाइनको मुक्तिसंघर्ष अहिले निरीह र एक्लिएको छ । र, प्यालेस्टाइनको भूमिमा बलजफ्ती राज्यविस्तार गदै गैरहेको र संयुक्त राष्ट्रसंघ सहित विश्व राजनीतिमा बहिष्कृत विस्तारवादी ईजरायल अहिले अमेरिका र भारत लगायत अनकौँ देशहरुको निम्ती प्यारो हँदै गै रहेको छ । परिवर्तन कति आएको छ भने बिसौँ शताब्दीमा साम्राज्यवादी र समाजवादी विचारबीचको राजनैतिक द्वन्द एक्काइसौँ शताब्दीमा अन्तर्साम्राज्यवादीहरुको वर्चस्वको संघर्षमा परिणत भएको छ । यससंगै राज्यभित्र सत्ता टिकाउनका निम्ती धार्मिक र जातिय संकीर्णतामा आधारित उग्रराष्ट्रवाद शासकवर्गको नयाँ हतियारको रुपमा देखिएको छ । यो कुनै एउटा देशको विषय होइन, प्रायः सबै देशमा यो गैरवैचारिक उग्र साँस्कृतिकता सत्ताको दरिलो टेको बन्दै छ । फरक कति छ भने बिसौँ शताब्दीमा धार्मिक र जातिय शासनहरु नरम वा गरम सैन्य विद्रोह वा षडयन्त्रमूलक प्रतिकान्तिको माध्यमबाट स्थापित भएका थिए, भने अहिले लोकतन्त्र भनिएको माध्यमबाट नै आइरहेका छन् ।

अहिले रुस र युक्रेनमा आपसमा लडिरहेको पुतिन र जेलेन्स्की होस वा डोनाल्ड ट्रम्पपछि अमेरिकी समाज र राजनीतिमा देखिएको उग्र गोरावाद, वा धर्मनिरपेक्ष भनिएको टर्कीमा इस्लामी राष्ट्रवादको वकालत गर्ने तैयप एर्दोगान अथवा छिमेकी भारतमा संकीर्ण हिन्दुराष्ट्रको घोडचढी गरेर सत्ताको शीखरमा दरिलो कब्जा जमाएको भारतीय जनता पार्टीका नायक नरेन्द्र मोदीको शासन, सबैमा एक खालको समान उग्रता र असहिष्णुता देखिन्छ । यो नयाँ खाले फासीवाद हो, जस्ले एकातिर फौजी विराटता प्रदर्शित गरेर समर्थकमा शक्तिको अहंकार, अतीतमुखी पुख्र्यौली जातिय वीरताको गर्व, र धर्म र जातिय वर्चस्वको विस्तारित राज्यको उन्मादित स्वप्न योजनाबद्ध संचार गर्छ । यस्को निम्ती शासकवर्गले बौद्धिक र प्राविधिकहरुको प्रशिक्षत प्रचारसेना निर्माण गर्छ तथा राज्यको सञ्चार साधन र आफू समर्थक निजी साधनहरुलाई प्रचारतन्त्रको रुपमा प्रयोग गर्छ । सामाजिक चेतनामा यस्को प्रभाव कति घातक छ भने अब लोकतन्त्र र जनहितका विषयहरु, धर्मनिरपेक्षता, धार्मिक र जातिय सहिष्णुता प्रभावहीन छन्, निरन्तर गरिबीले पनि समुदायलाई आक्रोशित पार्दैन, मानवीयता र वर्गीय उत्पीडितहरु एकजुट भएर उत्पीडकहरु विरुद्ध साझासंघर्ष गर्नुपर्ने विषयहरु उपेक्षित छन् र धार्मिक र जातिय संकीर्णता खुलआम राजनीतिमा प्रयोग भै रहेका छन् । यो नयाँ खाले फासीवाद हो, जस्ले विश्वका विभिन्न भागमा समुदाय अनुकूल रुप ग्रहण गरिरहेको छ । कतै धार्मिक त कतै जातिय । भारतीय राजनीतिमा मोदीको नायकत्वमा बिजेपीको कब्जालाई एकथरीअर्थराजनीतिक विश्लेषण गर्नेहरुले भारतीय नव पूँजीपतिवर्गको छनौट र प्रभाव भन्न सक्छन्, तर भारतीय समाजको ठूलो हिस्सामा उग्र र असहिष्णु धार्मिक राष्ट्रवादिता जसरी अभिव्यक्त भैरहेको छ, त्यसले बिजेपीको सफलता मूलतः अर्थराजनैतिक विषय भएपनि यस्को एउटा प्रभावकारी पक्ष साँस्कृतिकपनि हो । यसको अर्थ वर्तमान समाज राजनैतिक र आर्थिकरुपमा मात्र होइन, साँस्कृतिकरुपमा पनि विकृत हुँदै गै रहेको छभन्नेपन हो । फेरी, यो कुनै एउटा धर्मको विषयपनि होइन । राजनीतिमा सफलतको निम्ती धर्म र जातिय उन्मादको प्रयोग अहिले सफलताको मार्गचित्र जस्तै भएको छ। राजनीतिमा सफलताको निम्ती प्रायः सबै धर्म र संकीर्ण जातिय साँस्कृतिकताले यस्तै प्रयत्न गरिरहेका छन् । हामी कहाँ चुनावी राजनीतिमा जातजाति र क्षेत्रीय प्रभाव त बहुदलियकालदेखी नै खुबै प्रयोग हुँदै आएको हो ।

यद्यपि यस्को आलोचना पनि त्यतिकै भएको हो । तर विगत एक दशकदेखी धर्मको घातक प्रयोग खुलेआम हुनथालेको देखिन्छ । प्रमुख राजनीतिक दलका नेताहरु भारतको बिजेपीजस्तै जसरी अयोध्या र रामलाई राजनीतिमा प्रयोग गरिरहेका छन्, त्यो नेपाली समाजको निम्ती घातक हो । नेकाभित्र बिपी कोइरालाको धर्मनिरपेक्षता त धेरैवर्ष पहिले नै पराजित भैसकेको हो । त्यस पार्टीमा गिरिजा प्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको पालादेखी नै आफूलाई धार्मिकदेखाउने चलन शुरु भैसकेको हो ।अहिले त नेकाभित्र हिन्दु राष्ट्रको वकालत गर्ने एउटा समूह नै छ ।जसपा लगायत मधेशकेन्द्रित राजनैतिक दलहरु राजनैतिक प्रवृत्तिको दृष्टिले नेकाभन्दा भिन्न छैनन् । तर जनकपुर परिक्रमाको डोलालाई काँध हालेको तथा धार्मिक पूजा र संस्कारहरुमा मग्न प्रचण्डको फोटो, हिन्दु र क्रिश्चियन धार्मिक कार्यक्रमहरुमा सिर निहु¥याएको माधव नेपालका तस्वीरहरु तथा अयोध्या र रामको वकालत गरेर आफूलाई सबैभन्दा ठूलो धार्मिक देखाउन खोज्ने केपीओलीका लच्छेदार कुराहरुले सैद्धान्तिकरुपमै धर्मनिरपेक्ष कम्युनिस्ट भनाउँदाहरु चुनावी राजनीतिक भासमा कतिसम्म वैचारिक नग्न भएका छन् भन्ने देखाउँछ । यो नेपाली समाजलाई राजनैतिक साँस्कृतिक दृष्टिले धार्मिक र संकीर्ण जातिय प्रदूषणले विषाक्त बनाउने र नेपाली राजनीतिमा नयाँ फासीवादको खतरनाक आगमनको घन्टीपनि हो । जनकपुरमा मधेशी आन्दोलनमा शहादतमा गेट निर्माण गर्दा त्यस्को माथी तीर धनुष तानेको ¥याम्बो स्टाइलको रामको प्रतिमा यस्तै प्रतिगामी चेतनाको उपज हो । शहिद र रामको बीचमा तुलना हुन सक्दैन । राम कसैका निम्ती निजी आस्था र भक्तिका विषय हुन भने शहिदहरु देश, जनता र समुदायको हितमा ज्यान अर्पण गर्ने जनताका सबैभन्दा सर्वोत्तम सन्तानहरु हुन् । कुनै मन्दिरमा शहिदको प्रतिमाको स्थापना जसरी मन्दिरको अपमान हो, त्यसरी नै शहिदको प्रतिमाभन्दा माथी कुनै देउताको प्रतिमाको स्थापना शहिदहरुको अवमुल्यन हो । तर यस बोधको निम्ती तपाँईको मनोविज्ञान जनमुखी राजनीतिक हुनुपर्छ । तपाँईले शहिदहरुलाई मृतात्मा ठान्नु हुन्छ भने शहिदको शहादतको उदात्तताको बोध तपाँई गर्नसक्नु हुन्न । जनकपुरको शहिदगेट माथी रामको प्रतिमाको स्थापना पुरातन चेतना तथा यसै निहुँमा चुनावीमत आफूतिर तान्ने प्रयास मात्र हो भन्ने बुझ्न गाह्रो छैन ।यो उचित होइन । राजनीतिमा धर्मको यो खतरनाक प्रयोग अत्यन्त घातक छ ।

जाबो अध्यक्ष, मेयर, सांसद, मन्त्री र प्रधानमन्त्री पदको लोभमा सम्पूर्ण समाजलाई साँस्कृतिक र साम्प्रदायिक असहिष्णुतातपर्फ धकेल्न खोज्नु मानवीय सभ्यताको निम्ती भयानक अपराध हो । अफसोस, सत्ताको लोभमा सबै यस्तै अपराधतर्फ अग्रसर भै रहेका छन् । देश र जनताप्रति समर्पित र प्रतिबद्धता अनुभूतगर्ने पुस्ताले यसबारे गम्भीर हुन जरुरी छ । यस्मा जोखिम भने छ । उर्दूको प्रसिद्ध शायर निदा फाजलीको एउटा गजलका पंक्तिहरुयस्ता छन् ः

‘सफरमे धूप तो होगी जो चल सको तो चलो, सभीहैँ भीड मे हो तुम भी, निकल सको तो चलो ।’

तर कुनै न कुनै पुस्ताले जोखिम मोल्नै पर्छ । देश र समाजको हित यसैमा छ ।

Comment


Related News

Latest News

Trending News