२०७८ चैत्र १, मंगलवार ०७:४०

वीरगञ्ज । नेपाली कांग्रेसको १४औँ महाअधिवेशनमा बाँकी रहेका १६जिल्लाको चुनाव नसकिँदै होलीको चुनावी रंग भने सुरु भएको छ ।

‘घर घर जाऔ,कांग्रेस जिताऔ’ नाराका साथ नेपाली कांगेसले सुरु गरेको होली मिलन कार्यक्रमहरुमा उत्साहजनक सहभागिताले कांग्रेसीहरुलाई हौसियाएको छ । पर्सामा नेपाली कांग्रेस पार्टीले होली पर्वको अवसर पारेर क्षेत्र नम्बर ४मा सोमबार चुनावी शक्ति प्रदर्शन गरेको छ । यसपालि पुरानो हैसियत फर्काउने चुनौतीपूर्ण अभियानमा कांग्रेस यहाँ कस्सिएर लागेको देखिन्छ । पर्साको जगरनाथपुर गाउंपालिकामा पर्ने मसियानीमा सम्पन्न होली मिलन समारोहमा अपेक्षा भन्दा पनि बढी व्यक्तिको सहभागिताले चुनावी सरगर्मी बढाएको छ । होली मिलन समारोहमा भारी संख्यामा सहभागिता र जिल्ला भरका कांग्रेसी नेताहरुलाई एउटै मञ्चको उपस्थितिले हालै सम्पन्न भएको चुनावी अन्तरद्वन्दलाई मलहम लगाउने काम गरेको पूर्व क्षेत्रीय अध्यक्ष रमेश पाण्डेले बताए । उनले भने ‘सानो समयमा आयोजना गरिएको कार्यक्रमको सहभागिताले पर्सा जिल्ला पुरानै अवस्थामा फर्किने अवस्था देखिएको छ ।’ ‘ होली मिलन समारोह’ उल्लेखित गरेको बैनर लगाएर कार्यक्रममा बोल्ने सबै नेताहरुले हालै सम्पन्न भएको पार्टीका चुनावी सबै रिस–राग बिर्सेर एकै साथ चुनावमा जाने बिषयमा केन्द्रित भएर भाषण गरे ।

क्षेत्रीय सभापति श्रीकान्त यादवको सक्रियतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मधेश प्रदेश संयोजक रमेश रिजालले देशमा राजनीतिक क्रान्ति भए पनि आर्थिक र सामाजिक क्रान्ति हुन नसकेको र त्यो नेपाली कांग्रेसको अगुवाईमा मात्र सम्भव रहेको दाबी गरे ।नेपाली कांग्रेस नै लोकतन्त्रलाई बलियो बनाउने पार्टी भएकोले पर्सा जिल्लालाई कांग्रेसमय बनाउन कार्यकर्ताहरुलाई आह्वान गरे । कांग्रेसको जितमा सबैको हित रहेको निष्कर्ष सुनाउँदै नेता रिजालले होलीको शुभकामना दिन भने छुटाएनन् । अर्का केन्द्रीय सदस्य अजय चौरसियाले यो पार्टीले मात्र देश तथा जनताको हितमा काम गर्न सक्ने भएकोले सबै तहमा कांग्रेसलाई जिताउन आह्वान गरे । पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले विगतमा झुठो आश्वासनबाट ल्याएको दुई तिहाइको नेकपाको सरकारले स्थिर सरकार दिन नसक्नुले कांग्रेसको विकल्प नरहेको दाबी गरे । कम्युनिष्ट सरकारमा चरम भ्रष्टाचार भएको स्मरण गराउँदै झुठको खेती गर्ने कम्युनिष्टहरुबाट बच्न सबैलाई अनुरोध गरे ।

नेपाली कांग्रेस पर्साका नवनिर्वाचित सभापति जनार्दन सिंह क्षेत्रीले पार्टीले टिकट उम्मेदवारलाई जिताउन सबै नेता कार्यकर्ताको साझा र व्यक्तिगत जिम्मेवारी हुने बताए । उनले अब चुनावमा पार्टीसँग धोका कुनै पनि हालतमा सह्य नहुने चेतावनी समेत दिए । पार्टीको अधिवेशनमा सभापति क्षेत्रीको प्रतिद्वन्दी रहेका नेता श्याम पटेलले पनि पार्टीको हितमा एक भएर लागि पर्न कार्यकर्तालाई आह्वान गरे । ‘अबिर खेल्ने’देखि ‘माँसाहारी खाजा’सहितको होली मिलन कार्यक्रममा कांग्रसी रंगमय रहेका कार्यकर्ताहरुमा भरपूर उत्साह देखिएको थियो । कुनै समयमा पर्सा जिल्ला कांग्रेसको गढ मानिए पनि अघिल्लो पटक मधेश केन्द्रित दल संघीय समाजवादी फोरम र जनता पार्टीको गठबन्धनले सफलता हात पारेको थियो । कांगेसको प्रतिस्पर्धा अघिल्लो पटक यहाँ जित हासिल गरेका दलहरुभन्दा नेकपा एमालेसँग हुने जानकारहरु बताउँछन् ।

पार्टीको कार्यक्रममा आरकेष्ट्रा नांच
स्थानीय प्रशासनले विहे,ब्रतबन्ध लगायतका कुनै पनि पनि कार्यक्रममा आरकेष्ट्रा नचाउने कार्यलाई बन्देज लगाए पनि पार्टीका चुनावी कार्यक्रमहरुमा केन्द्रित नेताहरुकै उपस्थितिमा आरकेष्ट्रा नचाउने क्रम बढेको छ ।

मंचमा महिलाहरुको उपस्थिति न्यून भए पनि नेताहरुकै अगाडि महिला सहितको नृत्य तथा मनोरंजनका कार्यक्रमहरु साताको एक पटक बारा पर्सामा हुँदै आएको छ । हालै नेकपा एमालले बारामा गरेको कार्यक्रम र सोमबार नेपाली कांग्रेस पर्साले क्षेत्र नम्बर ४मा गरेको होली मिलन कार्यक्रममा नेताहरुकै अगाडि महिला सहितका नृत्य प्रस्तुतिले प्रशासनले लगाएको प्रतिबन्धमाथि प्रश्न उठाएको छ ?

Comment


Related News