२०७८ चैत्र १, मंगलवार ०७:५६

राजविराज । मतदाता नामावलीमा नाम समावेश गर्ने समय बितेपछि पनि थप मतदाताको नाम समावेश गरेको भन्दै सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई एक राजनीतिक दलले उजुरी दिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सप्तरीका तर्फबाट प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम समक्ष सोमबार उक्त उजुरी पत्र बुझाइएको हो । आगामी स्थानीय तह निर्वाचनका लागि गत माघ २४ गते नै मतदाता परिचयपत्रका लागि आवश्यक विवरण लिने काम बन्द भइसकेकोमा माघ २७ र २८ गते राजविराज नगरपालिका– ६ का केही व्यक्तिहरुको निजी घरमा गई फोटो खिच्ने काम र मतदाता सूचीमा समावेश गर्ने काम समेत भएको उजुरीमा उल्लेख छ । पार्टीका जिल्ला अध्यक्ष सुनिलकुमार झाद्वारा बुझाइएको उजुरीमा यसरी फोटो खिचिएका केही व्यक्तिको नाम निर्वाचन कार्यालयको आधिकारिक वेवसाइटमा समेत फेला परेको दाबीका साथ पछि थप गरिएका नामहरु हटाउन र यस्तो काममा संलग्न जनप्रतिनिधि र कर्मचारीमाथि कारवाहीको माग समेत गरिएको छ । यसबारे प्रमुख जिल्ला अधिकारी गौतमले आवश्यक छानबिन गरी दोषिमाथि कारवाही गरिने बताए ।

जिल्ला निर्वाचन अधिकारी रमेश जोशीसँग सम्पर्क गर्दा आफू कार्यालय बाहिर रहेको बताउँदै कार्यालय आएपछि वास्तविकता बुझेर तत्कालै यस सन्दर्भमा आवश्यक कारवाही प्रक्रिया अघि बढाउने बताए । उजुरीमा पछि थप गरिएका ८४ जनाको नामावली समेत बुझाइएको लोसपाका केन्द्रीय सदस्य शैलेश चौधरीले जानकारी दिए । उजुरी पत्र बुझाउन जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, लोसपा केन्द्रीय सदस्य दीपेन्द्र चौधरी, विनोद यादव, अमरनाथ मण्डल, जिल्ला सदस्य शशि चौधरी लगायत पार्टीका नेताहरु समेत जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

Comment


Related News