२०७८ चैत्र २, बुधबार ०८:०४

जनकपुरधाम । जनकपुरधाममा आयोजित एक कार्यक्रमका वक्ताहरुले परम्परागत रुपमा प्रयोग गरिने खाना पकाउने उर्जा(ईन्धन)को प्रयोग न्यूनीकरण गर्दै जानु पर्ने आवश्यकता औंल्याएका छन् ।

नेपाल उर्जा प्रतिष्ठानले मंगलबार जनकपुरधाममा आयोजना गरेको खाना पकाउने सफा उर्जा सम्बन्धी अन्तरक्रियाका सहभागीहरुले सो आवश्यकता औंल्याएका हुन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रतिष्ठानका सचिव डिल्ली घिमिरेले धुँवा धुलो रहित खाना पकाउने उर्जाको निम्ति नेपालको विद्युतलाई बढी भन्दा बढी उपयोग गर्ने वातावरण निर्माण गर्नु पर्नेमा जोड दिए । उनले भने,‘एकातिर नेपालको आफ्नो विद्युतीय उर्जा खेर जाने गरेको छ भने अर्कोतिर खाना पकाउनकै लागि एलपीजी ग्यासको निर्यातमा मात्रै नेपालबाट वर्षेनि २४अर्ब भन्दा बढी खर्च हुने गरेको छ।’ जलविद्युत ,गोबर ग्यास ,बायोग्यास ,सोलार उर्जा लगायतका उर्जाहरुको विकासकालागि सरकारले यथोचित व्यवस्थापन गर्न सके धुँवा सहितका फोहर उर्जाको प्रयोग न्यून हुँदै जाने विश्वास व्यक्त गरे । एलपीजी ग्यास र विद्युतीय चुल्होको प्रयोगलाई संवेदनशीलतापूर्वक हेर्दा विद्युतको खर्च नै न्यून हुने गरेकोले विद्युतको अत्याधिक प्रयोग गर्न सकिए फोहोर उर्जाबाट खाना पकाउने भएकै कारण सोबाट लाग्ने रोगबाट प्रत्येक वर्ष देशभरिका २२ हजार व्यक्तिको अकालमै मृत्यु हुने गरेको अवस्थामा समेत परिवर्तन आउने उल्लेख गरे । नेपालमा जलविद्युतको अत्याधिक सम्मभावना रहेपनि भरपर्दो र नियमित हुन नसक्नुले फोहोर उर्जाको प्रयोगलाई एकाएक विस्थापन गर्न नसकिए पनि विस्तारै सुधार हुने उनको धारणा थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामसिंह यादवले घरघरको समस्या रहेकोले यसको समाधानको लागि तीनै तहको सरकारले समन्वय गरी कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिए । तीनै तहबाट सफा उर्जा सम्बन्धी उर्जामा खाना पकाउनका लागि ज्ञान,चेतनामा अभिवृद्धिका लागि व्यापक रुपमा जनचेतनामूलक कार्यक्रमहरु ल्याउनु पर्ने सुझाव समेत दिए । कार्यक्रममा बोल्दै अन्य सहभागीहरुले घर घरमा विद्युतको पहुँच नभएको देशमा तत्कालै खाना पकाउने सफा उर्जाको व्यवस्थापन हुन नसक्ने भए पनि नेपाल विद्युत प्राधिकरणले विद्युतीय प्रणालीमा सुधार गर्दै यथोचित महशुल घटाउन सकिए पक्कै पनि सुधार गर्न सकिने बताए । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य अच्युत मैनाली ,सामुदायिक विद्युत उपभोक्ता महासंघका अभियन्ता जंगबहादुर महतो,जनता समाजवादी पार्टीकी नेतृ सीता यादव,वनस्पति अनुसन्धान केन्द्र जनकपुरधामका प्रमुख ताहिर हुसैन ,जसपाका विद्यार्थी नेता बलिराम कापडि ,नेपाली कांग्रेसका नेता डा.राजेश्वर सिंह कुशवाहा लगायतका व्यक्तिहरुले आ–आफ्नो धारणा राखेका थिए ।

Comment


Related News