अपडेट 
२०७८ चैत्र ४, शुक्रबार ०८:५३

हिमांशु चौधरी || सद्भाव ,सौन्दर्य र रसरङ्गको रङ्गीन पर्व ,जातिपाति , छुवाछूत , सानो, ठूलो, धनी र गरिबको भेदभावलाई भुलेर एउटै रङ्गमा रङ्गिने फागु पर्व नवचेतना , समता र सद्भावको प्राकृतिक स्रोत हो । प्राकृतिक सौन्दर्य र रसरङ्गको उमङ्गले सबैलाई तरङ्गित तुल्याउने फागू आनन्द र उल्लासको रङ्गीचङ्गी चाड हो । पन्द्रह दिने परिक्रमाका श्रद्धालुले कञ्चन वनमा रङ्ग , अबीर खेलेसँगै फागुको रौनकताको थालनी हुन्छ । त्रेतायुगमा भगवान राम र सीताले कञ्चन वनमा रङ्ग अबीर खेलेको मान्यता अनुरूप परिक्रमाका श्रद्धालुले फागुको थालनी गर्ने परम्परा रहेकोछ ।

फागु पर्वको इतिहास वसन्त र वसन्तको मदन अर्थात् कामदेवको पूजाबाट शुरू हुन्छ । त्यसैले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा मनाइन्छ । वसन्तोत्सवले हाम्रो जीवनमा यौवनभरि प्रकृतिको सौन्दर्यबाट हामीलाई प्रशन्न तुल्याउँछ । प्रकृतिको सुन्दरतामा मनुष्यलाई प्रशन्न गरी उसका सबै घाउलाई भर्न ससकने क्षमता छ । अत : मानिसको स्वभाव नै प्राकृतिक सौन्दर्यबाट प्रभावित हुने हुँदा प्रकृतिको पर्व मनाउनलाई पाश्चात्य देशहरूमा एउटी सुन्दरी बालिकालाई छानेर उक्त बालिकालाई रानीको संज्ञा दिइ वसन्त पर्व मनाउने चलन पनि पाइन्छ । प्राचीनकालमा वसन्तोत्सवका रूपमा मनाइने यो चाड कालान्तरमा प्रल्हाद , कृष्ण , होलिका , ढुण्डा आदिका कथा माध्यमले फागु, फगुवा , होली , होरी नाउँबाट पुकार्न थालेको पाइन्छ ।

फाल्गुने पूर्णिमायां त दुग्धा भवति होलिका ।

पश्चात् प्रात : समुथ्याय होलिकात्सव : ।।

अर्थात् फागुन महिनाको पूर्णिमा तिथिमा होलिका दहन गरिन्छ , त्यसको अर्को दिन बिहानै उठेर होलिकात्सव मनाइन्छ । होलिका वसन्त आरम्भको बेलाका एक लोकप्रिय पर्व हो । फागुलाई मैथिली भाषामा फगुवा अथवा होरी भनिन्छ । यो पर्व अत्यन्त लोकप्रिय र प्राचीनकालदेखि नै मनाइँदै आएको तथ्यहरू पाइन्छ । बराह पुराणमा फागुन पूर्णिमालाई पटवास विनाशनी भनिएको छ । पटवास भनेको अबिर जस्तो च्रूर्णलाई भनिन्छ । पौराणिक कथनअनुसार यस उत्सवको आरम्भ रघुराजाबाट भएको हो । यो पर्व बाल स्वास्थ्य तथा नारी सौभाग्यसित पनि सम्बन्धित रहेकोछ । सत्य तथा ज्ञानको प्रतीक प्रल्हाद र विज्ञान तथा भौतिकवादी हिरण्यकश्यपुको कथासँग यो पर्वलाई आध्यात्मवाद र भौतिकवादको द्वन्द्वका रूप पनि लिइन्छ । कृष्णले आफूलाई दुध पिलाउने पुतना राक्षसीको वध गरेपछि गोप गोपिनीले रास लीलाका साथ रङ्ग खेलेर उत्सव मनाएको तथ्य पनि पाइन्छ । ब्रम्हाले सृष्टिको शुभारम्भ पनि फागु पर्व मनाउने वसन्त ऋतुमा नै गरेको कुरा “ चेत्रेमासे जगत् ब्रम्ह ससर्ज प्रथमे हनि ” श्लोकबाट प्रमाणित हुन्छ । भगवान विष्णुलेले पनि सत्ययुगमा यसैदिन मत्स्यावतार धारण गरेको शास्त्रहरूमा उल्लेख छ ।

प्रतापी राजा रघुको राज्यमा अमनचैन सुखशान्ति हुँदाहुँदै त्यहाँ कुनै ठाउँमा ढुण्ढी नामकी राक्षसीले बालबालिकाको अपहरण दुःख दिएको हुँदा चिन्तित राजाले राक्षसीलाई निकाल्ने प्रयास गरे पनि सफल नभएपछि वशिष्ठ ऋषिसँग अत्याचारबाट मुक्त हुने सुझाव लिइ अग्निकुण्ड बनाइ प्रचण्ड अग्नि जलाई सो रापले नभेट्ने ठाउँमा बालबच्चा र ठूलाहरूको उल्लासपूर्ण भेला र नाचगान गराइ अश्लील गालीगलौज गर्दै लखेटदै गर्दा राक्षसी थकाइले मर्दा उनको शरीर जलाइ खरानी उडाइ टीका लगाइएको तथ्य पनि पाइन्छ । नराम्रो प्रवृति उन्मूलनको खुशियालीमा वर्ष दिनमा एक पटक फागु पूणर््िामा तिथि अबीर आदि रङ्ग र फूलका रसहरू खेल्दै परस्परमा मनोरञ्जन गर्ने होली उत्सव मनाएको विश्वाससमेत रहेकोछ ।

कुने कालखण्डको फागुन तिथिमा महादेवले कामदेवलाई नाश गरेको खुशियालीका सन्दर्भमा यो पर्वको विशेषता र शुरूवात भएको मदन र कामदेवको भावलाई पूर्वीय र पाश्चात्य विद्वान वात्स्यायन र फ्रायडका विचारमा एकरूपता भएको पुष्टि विश्वप्रसिद्ध छ , दुबैको निष्कर्षमा रङ्ग र पानीबाहेक यो पर्वलाई रति र कामको पूजन पर्व मदनोत्सव पनि भनिएको पाइन्छ । श्रमिद् भागवत पुराणमा पुतना राक्षसीले बच्चाबच्चीलाई दुध चुसाउने निहुँमा दुःख दिएको , मारेको र कृष्णलाई समेत त्यसै गर्न लाग्दा कृष्णले पुतनालाई नै मारिदिएको र नगरवासीले राक्षसीको लाश जलाएको खरानीले नै होली खेलेको , गोपिनीले रङ्गको उत्सव मनाएको र कृष्णले शृङ्गार रसकी राधालगायत अन्य सहेली साथीसँग फागु खेलेको कथा पनि छ । साथै हिमालमा शिव पार्वतीले फागु उत्सव मनाएका, लङ्का युद्धमा रावणसँग विजयपछि अयोध्यावासीसँग राजा रामले खुशियालीका रूपमा फागु खेलेका आदि कथाले असत्यमा सत्यमा सत्यको , अधर्ममा धर्मको , कुकर्ममा सुकर्मको जितको परिणाम उल्लेख छ ।

फाल्गुने पौर्णमासी च सदा बालविकासनी ।

ज्ञेया फाल्गुनिका सा ज्ञेया लोकविभूतये ।।

अर्थात् फागु पूर्णिमा पर्व बालक्रिडा र बालविकासका लागि मनाइन्छ । फागु दुनियाँलाई धन्यधान्यबाट समृद्ध गरी मनोरञ्जक क्रिडाका लागि प्रसिद्ध छ । यसैगरी , बराह पुराणमा पनि फागुलाई फाल्गुनिका धनी यस पर्वमा अबीर जस्तो चूर्ण प्रयोग गरी क्रिडा गरेमा सबैको भलो हुने कुरा उल्लेख छ । श्री हर्षचरित संस्कृतको रत्नावली नाटिकामा पनि कोशाम्बी नगरीमा अबीर आदि रङ्ग परपस्परमा छयाप्दै फागु खेलेको चित्रण छ । आयुर्वेद शास्त्रमा केशरी , अबीर जस्ता प्राकृतिक रङ्गको प्रयोगले जीवनमा खुशी गरी छालालाई सफा गर्ने कुराको सङ्केत पाइन्छ । कृषि शास्त्रका दृष्टिले पनि होलक लातीति होलिका अर्थात् केराउ , चना आदिका बालालाई भुट्ने , पोल्ने कामलाई होलक भनिन्छ र चना जौ , गहुँ आदि नयाँ अन्न अग्निलाई भोग लगाउने समय जुन पर्वले ल्याउँछ , त्यो पर्व नै होलिका हो । फागुको समयमा पाकेका चना आदि प्राणपोषक नयाँ अन्नलाई अग्नि देवतालाई चढाएर मात्र घरमा भित्र्याउने परम्परा विशेषरूपमा मिथिलाञ्चलमा रही आएकोछ । होली सबै प्रकारका राग , द्वेषरहित सद्भाव र समताको पर्व हो भन्ने कुरा “ होलान्ति समतापर्वः ” भन्ने श्लोकबाट पुष्टि हुन्छ ।

पौराणिक कथाअनुसार, प्रह्लादकी फुपू होलिकालाई भस्म नहुने वरदान प्राप्त भएकाले आफ्ना दाई हिरण्यकश्यपुको आज्ञा अनुसार उनी प्रह्लादलाई मार्न उसलाई काखमा राखी आगोमा पस्दा मरिन् तर ईश्वरयुक्त प्रह्लादलाई केही नभएको सम्झनामा होलिकालाई जलाएर होलिकात्सव मनाइने गरिएकोछ । समयसँगै सभ्यता ,आदर्श , नैतिकता ,अश्लीलता र आनन्दका सौन्दर्यबोधक मापक र तत्व फेरिदै स्रष्टाहरूले वासन्तीबोधका कामसक्त र शृङ्गार सिर्जनका साथै सामाजिक जीवनका विकृति र विसंगतिलाई व्यङग्य र हास्यका माध्यमबाट उजागर गर्ने चलन पनि देखिएकोछ ।

साहित्यकार डा. धीरेश्वर झा धीरेन्द्रले यस प्रसङ्गमा उल्लेख गर्नु भएको फागूको गीतले , ई देहिया होइहे छार , आनन्द करह ,आनन्द करह ( यो शरीर खरानी हुनेछ , आनन्द गर , आनन्द गर ) होलिका दहनका दिनको खरानीको सेतो रङ्ग र त्यसपछिको रङग अबीरको रङ्गमयताले जीवनको नश्वरता र त्यसले वर्तमानलाई नै मानवीय प्रेमको सन्देश दिएकोछ।

होली पर्वमा विभिन्न धर्मावलम्बीहरू सहभागी भएर यसको सांस्कृतिक पक्षलाई सबल र सशक्त बनाउँदै आएकोछ , अचेल हिन्दु र मुस्लिम सँगै मिलेर अबीर आपसमा दलेर , अङ्कमाल गरेर फागुको सद्भावना र शुभेच्छा सम्प्रेषित गरी पर्वमा सहभागी हुन्छन् । अतः यसकारण पनि फागुका गीतहरू यसरी प्रतिध्वनित हुन्छ ः

जनकपुर रङ्गमहल होरी

किनकाके हाथ कनक पिचकारी

किनकाके हाथ अबीर झोरी

रामके हाथ कनक पिचकारी

लक्ष्मण हाथ अबिर झोरी

जनकपुर रङ्गमहल होरी ।

रसरङ्ग ,नाचगान , खानपिन ,मनोरञ्जन र आफ्नो रङ्गमा अरूलाई रङ्गाउने , ढोल ,डम्फु ,झाल ,मृदंग बजाउँदै भेदभाव ,मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको सौन्दर्य हो । हुन त पहिलेजस्तो महिना दिन अगावै तराई–मधेशमा होरीका गीत घन्किने ,बासन्ती उल्लासले सारा वातावरण नै बैग्लै बनाइदिनेको कमी अवश्य देखिएको छ तर यसको आस्थाप्रतिको प्रगाढता अझ पनि विद्यमान रहेकोछ ।

राम खेलए होरी हो

लक्ष्मण खेलए होरी………….

…………………………

रामजीके हाथ कनक पिचकारी

सियाजीके हाथ अबिर झोली………..

………………………..

का सँग खेलब ऋतु बसन्त

नियर फागुन दूर बसन्त…….

…………………………….

उपवन कुजए चातक कोकिल नाना रंग बिरंग

देखि नवीन कुसुम तरू पल्लक थर–थर काँपए अंग

……………………………………………..

जीएब त खेलब अगिले साल……….

यस प्रकारका गीतहरू र जोगीरा सरर……..का बीच उत्साहजनक वातावरणमा आलिंगन र सानोले ठूलोको पाउँ छोइ आशीर्वादले वैमनस्यता हराउँछ । फागुन पूर्णिमाका दिन तराई–मधेशमा कतिपय परिवारमा कुलदेवताको स्थानमा विशेष नैवेद्य चढाउने गरिन्छ , जसलाई मैथिली भाषामा पातरि भनिन्छ । राति सामूहिक रूपमा सम्मत (होलिका दहन) गरिने चलन रहेको छ । सम्मतको भोलिपल्ट सबैले रङग र अबीर खेल्ने गर्दछन् । यसमा आफूभन्दा श्रेष्ठवर्गका चरणमाथि अबीर राखी प्रणाम गरिन्छ भने समकक्ष तथा कनिष्ठ वर्गलाई निधार र गालामा अबीर लगाएर होली खेलिन्छ । यसप्रकार होलीको अवसर श्रेष्ठप्रति सम्मान र कनिष्ठप्रति आशीर्वादको आदान प्रदान गरिने अवसरका रूपमा पनि रहेकोछ । सो दिन सामूहिक होली गीत गाइने परम्परा पनि रहेको छ । सो अन्तर्गत जोगिरा भन्ने छन्दविशेष भन्ने गरिन्छ , जसमा एक जनाले छन्दका शब्दहरू भनिसकेपछि सामूहिकरूपमा जोगिरा उद्घोष गरी मनोरञ्जन गर्ने गर्देछन् । यस्ता होली गीत गाएर हिड्ने समूहलाई होलैया भनिन्छ । होलैया निस्केपछि सडकछेउमा रहेका घरबाट तिनीहरूमाथि रङ्ग र अबीरको वर्षा गरिने परम्परा छ ।यस अवसरमा कुनै जाति , वर्ण , रङग , कूल ,वंश , खानदान , परिवार आदिको कुनै भेदभाव हुँदैन । सबै एउटै होलीको रङ्गमा रङ्गिएका हुन्छन् । त्यस्तै महिलावर्ग पनि सामूहिक रूपमा घर–घरमा गइ परस्पर रङ्ग र अबीरको आदान प्रदान गरी मनोरञ्जन गर्दछन् । यस अवसरमा समाजमा परस्पर ख्याल–ठट्टा गर्नहुने नाता पर्ने व्यक्तिसित विशेष रूपमा आनन्दपूर्वक रङ्ग ,अबीर छ्यापेर मनोरञ्जन गर्ने पूर्ण प्रजातान्त्रिक पर्व हो ,यसमा जातजाति र वर्ग भेदभाव नगरी धनी , गरिब, उच्च , नीच सबै मिलेर मनाउने परम्परा सदियौंदखि जीवित रहँदै आएको यो गीतले पनि दर्शाइ रहेको छ ः

आइ जनकपुर के बगिया — बगिया

गमकि रहल अछि फगुआ मे

मदमस्त पवन आइ सगर गगन मे

मचलि रहल अछि फगुआ मे ………………

कोयलीक कु— कु स्वर सगर आइ

कुहकि रहल अछि फगुआ मे

पपीता गाबय प्रेमक पाँती

पिहुकि रहल अछि फगुआ मे ……………………….

Comment


Related News

Latest News

Trending News