अपडेट 
२०७८ चैत्र ७, सोमबार ०७:१३

भिडियो ‘पीर’का निर्माता, निर्देशक र गायक प्रकाश सपूत अहिले चर्चामा छन् । सो भिडियोको श्रव्यदृश्यमार्फत जनयुद्धमा होमिएका तत्कालीन लडाकुहरुको वस्तुस्थितिमा आधारित भएर चित्रण गरेको छ । यसका साथै, माओवादीका नेता सत्तामुखी भएपछि आफ्नै लडाकुहरुलाई विर्सेको सो भिडियोमार्फत सन्देशपनि दिन खोजिएको देखिन्छ । प्रजातान्त्रिक मुलुकमा पार्टी र नेताहरुको समर्थन र विरोधको विषयलाई सामान्य रुपमा लिइन्छ । तर, सो भिडियोमा जनयुद्धमा होमिएकी एक महिलालाई घरखर्च धान्न यौंनकर्मी बन्नुपरेको विषय समेटेपछि अहिले सो विषय विवादित बनेको हो ।

अहिले सो विषयको उठान गरी प्रकाशले ‘पीर’को व्यापकरुपमा बजारीकरणका साथै आफ्नो थप पहिचान बन्ने उद्देश्य लुकेको देखिन्छ । अर्को, दृष्टिकोणले हेर्दा, वैशाख ३० गते स्थानीयतहको निर्वाचन हुनेछ । कतै, नेकपा(माओवादी) केन्द्रलाई सो भिडियोमार्फत राजनीतिक रुपमा क्षति पु¥याउने मनसाय त छैन् भन्ने रुपमा पनि अथ्र्याउन सकिन्छ । सो भिडियोमार्फत माओवादी पार्टीलाई जनयुद्धको औंचित्य र लडाकुहरुको अवस्थाको विषयमा ध्यानाकर्षण गराएको देखिन्छ । अव यसका साथै, जनयुद्धको विषयमा पुनः बहशको सम्भावना निम्त्एिको छ । नेपालमा प्रजातन्त्र पुनःस्थापना ०४६/०४७ सालमा भयो । २०५२ साल फागुन १ गतेदेखि माओवादी सशस्त्र सङ्घर्षको बाटो अख्तियार ग¥यो । संसदीय व्यवस्था लागू भएको छोटो अवधि चार बर्षकै कार्यकालको आधारमा संसदीय व्यवस्था अफाप सिद्ध भयो भनेर सशस्त्र सङ्घर्षको मार्ग छनोट गरेको देखिन्छ । सो दस बर्षको जनयुद्धको अवधिमा मुलुकलाई धेरै ठूलो मूल्य चुकाउनु प¥यो । शान्तिप्रिय नेपाली विगत दस बर्ष आतङ्कमैं विताए । सत्रह हजारको हाराहारीमा नेपालीको मृत्यु भयो । यत्रो ठूलो क्षतिको उपलब्धि के ? के माओवादीले जनयुद्धको औंचित्य पुष्टि गर्न सक्छन् ? अन्तोगत्वा, संसदीय व्यवस्था अफाप भनेर सशस्त्र सङ्घर्षको बाटो अख्तियार गरेका माओवादी पुनः फर्केर संसदीय व्यवस्थामैं चित बुझाए । २०६१ सालमा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि राजाबाट विमुख भई दलहरु विधिवत रुपमा गणतन्त्रको पक्षमा निर्णय गरी आन्दोलन गरेको थियो । २०६२/०६३को जनआन्दोलन सफल भएपछि माओवादी राष्ट्रिय मूलधारमा समाहित भए । संविधानसभाको पहिलो बैठकको निर्णयबाट मुलुक गणतान्त्रिक राष्ट्र बन्यो ।

जनआन्दोलनको बदोलत मुलुक गणतान्त्रिक राष्ट्र बनेको छ र सो कार्यमा माओवादीको पनि महत्वपूर्ण भूमिका छ । धेरै ठूलो रक्तपातपछि चीनमा माओत्सेतुङको जनयुद्ध सफल भएको थियो । पाँच लाखभन्दा बढी राष्ट्रिय सेना र सोही अनुपातमा लालसेनाको पनि मृत्यु भएको थियो । जनयुद्ध सफल हुनुको मुख्य कारक रुपमा द्वितीय विश्वयुद्धमा जापानसँग चीनको पराजय लिइन्छ । किनभने, सो पराजयबाट जनतामा गहिँरो निराशा छाएको थियो । चीनमा गरीबी, बेरोजगारी, भ्रष्टाचार र सुरक्षाको व्यवस्था धेरै हदसम्म विग्रेको थियो । सन् १९४९मा अक्टुबर १ तारेखमा माओत्सेतुङले सत्ता कब्जा गरेपछि जनवादी गणतन्त्र चीनको रुपमा घोषणा भएको थियो । चीनमा लालसेनाको सफलता देखेर भारतका भारतीय कम्युनिष्ट पार्टीका नेताहरुले पनि सोही आधारमा भारतमा कम्युनिष्ट शासन ल्याउने सोचाईका साथ आन्दोलन गरेका थिए । चारु मजुमदार र कानु सान्यालले १९६७ मा भारतको पश्चिम बङ्गालमा नक्सल आन्दोलन शुरु गरेका थिए । पश्चिम बङ्गालको नक्सलबाडी गाउँमा सो आन्दोलनगर्ने निर्णय भएपछि ‘नक्सल आन्दोलन’ नामाकरण भएको थियो । वास्तवमा, नक्सल आन्दोलन माओवादी आन्दोलनकै अर्को रुपमा थियो । चारु मजुमदार र कानु सान्यालले पश्चिम बङ्गालमा शुरु गरेको सशस्त्र आन्दोलनमा अनाहकमा थुप्रै व्यक्तिको हत्या भयो । सन् १९७२ मा आन्दोलन हिंसक भएपछि चारु मजुमदार पक्राउमा परे । उनलाई दस दिनको लागि कारागार पठाएको थियो । कारागारमै उनको निःधन भएको थियो । पश्चिम बङ्गालबाट शुरु भएको सो आन्दोलन विस्तार हुँदै विहार पुगेपछि आन्दोलन बाटो बिराएर जातीय प्रतिशोधको रुपमा परिणत भयो । जातीय वर्ग सङ्घर्षमा सो आन्दोलन परिणत भएपछि नक्सलवादी आन्दोलनका प्रणेता कानु सान्याललाई अन्ततः आत्महत्या गर्नु प¥यो । चीनमा माओत्सेतुङ सफल भयो भने सोही नीतिको आधारमा नेपालमा सफल हुन्छ भन्ने सोच्नुनै आत्मघाती सोच थियो । चीनमा एउटै भाषा र समुदायको ९५ प्रतिशत भूभागमा बसोवास छ ।

सो कारणले त्यहाँ जातीय आधारमा वर्ग सङ्घर्ष भएन् । नेपाल–भारतमा धर्म, संस्कृति, जातीयलगायत विभिन्न किसिमका रितीरिवाज छन् । यहाँका मानिस आफ्ना धर्म संस्कृतिवेगर बाँच्न सकिँदैनन् । स्वतन्त्र रुपमा बाँचेका छन् । पञ्चायतकालपनि नागरिक परिबन्दमा बस्न तयार भएनन् भने प्रजातन्त्रको स्वाँद पाइसकेका जनताले माओवादीको एकदलीय पद्धितलाई कसरी स्वीकार गर्छ भन्ने विषयमा गम्भीर रुपमा मनन् गर्नुपर्ने थियो । २०४८ सालमा नेपाली काँग्रेसले बहुमत प्राप्त गरेर गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन ग¥यो । काँग्रेसभित्र कृष्णप्रसाद भट्टराई र गणेशमान सिँहसँग प्रधानमन्त्री कोइरालाको सम्बन्ध विग्रदा सोको प्रतिकूल प्रभाव शासनशैलीमा पर्न थालेको थियो । अर्कोतर्फ, नेकपा(एमाले)ले प्रतिपक्षको भूमिका निर्वाह गर्नुभन्दा बढी संसद् अवरुद्ध गर्ने, सडक आन्दोलन गर्ने, कर्मचारी आन्दोलन, मदन भण्डारीको रहस्य मृत्युको विषय लिएर आन्दोलन र गिरिजाप्रसाद कोइरालाद्वारा संसद् विघटनलगायतका घटनाले गर्दा अधिकांस युवाहरुमा संसदीय व्यवस्थाप्रति वितृष्णा उत्पन्न भएको थियो । त्यसको फाईदा उठाएर माओवादीहरुको जोशिलो भाषणतर्फ युवाहरु आकर्षित भई हतियार उठाएका थिए ।

माओवादीलाई मात्रै किन घेराबन्दी ?

सत्ताकेन्द्रीत राजनीतिको कारण काँग्रेस, एमालेलगायतका पार्टीमा लामो समयसम्म पार्टीमा योगदान पु¥याएका कतिपय कार्यकर्ताहरु अहिलेपनि ओझेलमा छन् । प्रजातन्त्र पुनःस्थापना भएपछि नेतासम्म पहुँच नपुगेका कतिपय व्यक्तिको पार्टीहरुले अहिलेसम्म मूल्याङकन गर्न सकेनन् । सत्ताकेन्द्रीत राजनीति कतिको स्वार्थी हुँदोरहेछ भने २०६६ सालमा नेकपा एमालेको बल्खुस्थित मुख्यालयको परिसरको रुखमा पासो लगाएर नेकपा एमालेका ६२ बर्षीय डिगेन्द्र राजवंशीले आत्महत्या गरे । त्यो बेलामा प्रधानमन्त्री माधवकुमार नेपाल हुनुहुन्थ्यो । उनी २०२८ सालको झापाको किसान विद्रोहमा सहभागी भएको कारण दस बर्षसम्म नख्खु कारागारमा बसेका व्यक्ति हुन । केपि ओली, राधाकृष्ण मैनाली, वीरेन राजवंशी, सिपी मैनाली, मोहनचन्द्र अधिकारीको उनी समकक्षी थिए । ०६२/०६३को जनआन्दोलनमा उनलाई झापा चन्द्रगढीमा खुट्टामा गोली लागेको थियो । अत्यन्त दयनीय अवस्थामा रहेका उनले आफ्ना छोराको जागिरका लागि काठमाडौं आएका थिए । जागिरको लागि कतैबाट आश्वासन नपाएपछि उनले ‘कुन मुख लिएर घर फर्को’ सम्झेर आत्महत्या गरे । बुवाको शोकमा डुवेर अन्ततः चार महिनापछि उनका छोरा शम्भुले पनि आत्महत्या गरे ।

जनयुद्धको लडाकुभन्दा डिगेन्द्रको योगदान कम आक्न मिल्दैन् । मधेश आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गर्नेहरु कतिपय व्यक्तिहरु अहिले ओझेलमा छन् । २००७ सालको सशस्त्र क्रान्तिका ‘मुक्तिसेना’को व्यवस्थापन काँग्रेसका लागि धेरै ठूलो चूनौंति बनेको थियो । पटक पटक सरकार परिवर्तन हुँदा अधिकांसको व्यवस्थापन हुन सकेन् । माओवादीको जनयुद्धमा सहभागीमध्ये थोरे भएपनि मुलुकको नेपाली सेनामा समाहित त भयो । पञ्चायतको तीस बर्षको अवधिमा काँग्रेस र बामपन्थी नेताका साथै थुप्रै कार्यकर्ताहरुलाई कारागार वा निर्वासनमा बस्नु परेको थियो । २०४६ साल चैत महिनामा पञ्चायत ढलेपछि प्रजातान्त्रिक दलहरुमा पार्टी प्रवेशको लहरनै चलेको थियो । काँग्रेसमा प्रवेश गर्नेहरुलाई ‘चैते काँग्रेस’ वा पञ्चाङग्रेसको संज्ञा दिइन्थ्यो । अचेल, स्थानीयस्तरका पुराना सिद्धान्तवादी पार्टीप्रति समर्पित काँग्रेसीहरु हराए, चैते काँग्रेसीको हालीमुहाली छ । एमालेको ठीक काँग्रेसजस्तै अवस्था छ । त्यो पार्टीमा पनि ठूलो सङ् ख्यामा पञ्चहरु प्रवेश गरेका थिए । नेकपा(माओवादी) पनि सत्ताकेन्द्रीत भएपछि पार्टीप्रति समर्पित कतिपय कार्यकर्ताहरु ओझेलमा परेको हो । मोरङको रङ्गेली नगरपालिकाको मेयर पदमा दिलिप अग्रवाल माओवादीको टिकटबाट निर्वाचित भएको थियो । अव, उनी एमालेमा प्रवेश गरेका हुन् । उनी प्रतिबद्ध रुपमा ‘न उहिले न अहिले’ माओवादीको कार्यकर्ता मान्नु उचित हुँदैन् । उद्योगपतिलाई उम्मेद्वार बनाएमा पार्टीको जित हुनेछ भनेर अग्रवाललाई उम्मेद्वार बनाएको देखिन्छ ।

बर्षोदेखि पार्टीप्रति समर्पित कार्यकर्ताको हक खोस्नु दलका नेताहरुको लागि कहाँसम्म उचित हो ? राजनीतिक दलहरु आफ्नै पार्टीका कार्यकर्तालाई उम्मेद्वार बनाउने सोच राख्नुपर्छ । सवै दलहरुले समर्पित कार्यकर्ताहरुलाई नै उम्मेद्वार बनाउने सोच राखेमा कार्यकर्तामा उत्साह थपिँने छ । भ्रष्टाचार न्यूनीकरण हुन्छ र चुनावमा खर्चपनि घट्ने छ । ‘पिर’ नामक गीत माओवादीको जनयुद्धसँग सम्बन्धित छ । तर, नेपालमा प्रायः सवै दलहरुमा निमुखा कार्यकर्ताहरु पिरमा परेका छन् ।

Comment


Related News

Latest News

Trending News