२०७८ चैत्र ७, सोमबार ०७:२४

कलैया । बाराको वन क्षेत्रबाट दुई वटा नम्बर प्लेट भएको एउटा पिकअप प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा सुबेदार धुब्र कुमार कटुवालको नेतृत्वमा गएको टोलीले शनिबार राती नेपाली बा ८ प ४९० ९ र भारतीय बि.आर.०१ .जि.बि.२२०१ नम्बर प्लेट भएको एउटा पिकअपलाई नियन्त्रणमा लिइएको हो । तस्करले पिकअपको नम्बर प्लेट लेख्ने ठाउंको अगाडि र पछाडि दुबैपट्टि नेपाली र भारतीय गाडी नम्बर लेखिएको छ ।

तस्करले जङ्गल भित्र पिकअपको प्रयोग गर्दा भारतीय नम्बर प्लेट प्रयोग गर्ने र बाहिर नेपाली नम्बर प्लेटको प्रयोग गर्ने गरेको अनुसन्धानको क्रममा देखिएको डिभिजन वन कार्यालय सिमराका प्रमुख मञ्जुर अहमदले बताए । तामागढी वन क्षेत्रको हाईवे भन्दा करिब ३ सय मिटर भित्र वन रक्षक र सशस्त्र वन टोलीले पिकअप बरामद गरेको डिभिजन वन कार्यालय बाराले जनाएको छ । पिकअप नियन्त्रणमा लिएको ठाउंबाट टोलीले करिब ६४ क्युबिक फिट काटेर राखिएको नौ थान सालको गोलिया समेत बरामद गरेको छ । वन टोली आइरहेको सूचना पाउने बित्तिक्कै काठ तस्करहरु पिकअप छोडि फरार भएको बताइएको छ ।

सुबेदार कटुवालका अनुसार बरामद काठको गोलियाहरुको प्रकृति हेर्दा त्यस ठाउंमा कम्तीमा ८/९ जना व्यक्ति रहेको हुन सक्ने अनुमान गरिएको छ । पिकअप र काठ डिभिजन वन कार्यालय ,सिमरामा ल्याई थप अनुसन्धान भइरहेको प्रमुख अहमदले जानकारी दिए ।

Comment


Related News