वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सबै स्थानीय तहमा सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने संभावना नरहेको खुलाएका छन् ।सत्ता गठबन्धनले तीनै तहको चुनावमा तालमेल गर्ने अभिव्यक्ति नेताहरुले सार्वजनिक गरेको बखत अध्यक्ष यादवले सबै स्थानीय तहमा सत्ता गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको बताएका छन् ।
वीरगञ्जमा सोमवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘सबै स्थानीय तहमा गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना छैन् ।’ ‘संभव भएसम्म स्थानीय तहमा सत्तारुढ गठबन्धन दलहरुबीच तालमेल हुनेछ’ उनले भने, तर सबै स्थानीय तहमा गठबन्धन दलहरुबीच तालमेल गरेरै चुनावमा जान सक्ने संभव छैन् । वीरगञ्ज महानगरपालिकाको मेयरका प्रत्याशीको रुपमा परिचय गराउँदै पार्टीमा भित्र्याइएका राजेशमान सिंह श्रेष्ठको टिकट सुनिश्चित भएको संकेत गर्दै अध्यक्ष यादवले तालमेलको विषयलाई प्रष्टयाएका हुन् । ‘तालमेल संभव नभएका स्थानीय तहहरुमा गठबन्धनका दलहरु एक्ला एक्लै मित्रवत ढंगले चुनाव लडने छन्’ अध्यक्ष यादवले भने, वीरगञ्ज महानगरपालिकाले अब सक्षम र कुशल नेतृत्व पाउने छ । २०७४ को निर्वाचनमा वीरगन्ज महानगरको मेयरमा पराजित भएका सिंहले गत माघ २८ गते वीरगन्जमा पत्रकार सम्मेलन गरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेर एमालेमा प्रवेश गर्ने घोषणा गरेका थिए । एमालेले औपचारिक रुपमा प्रवेश गराउन चैत ८ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा वीरगन्जमा बृहत कार्यक्रम गर्ने निर्धारण गरेको थियो । तर त्यस भन्दा २४ घण्टा अगावै सिंह भारी दलबलका साथ जसपामा प्रवेश गरेका हुन् ।जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित विजय सरावगीलाई एमालेले भित्र्याएपछि सिंहलाई भित्र्याएर जसपाले त्यसको भरपाई गरेको बताइन्छ ।
मधेशी जनताको अधिकारको लागि आफ्नो पार्टीले सदन र सडक दुबै ठाउँबाट संघर्ष गरिरहने प्रतिबद्धता जनाउँदै अध्यक्ष यादवले निर्वाचनलाई कम खर्चिलो बनाउन निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्ने पार्टीको अडान पनि दोहो¥याए । पर्साका जसपा अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई पूर्वप्रधानमन्त्रीसमेत रहेका जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, संघीय सांसद प्रदीप यादवलगायतले वीरगञ्ज महानगरका लागि सक्षम र जनप्रिय उम्मेदवार दिने बताए । नगरप्रमुख सरावगीलाई एमाले अध्यक्ष ओलीले वीरगन्जमै आएर पार्टीमा प्रवेश गराएपछि रुष्ट बनेका नेता सिंहले एमालेमा भ्रष्टाचारी नगरप्रमुख सँगसँगै रहेर काम गर्न नसक्ने धारणा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए । सिंह दुई पटक वीरगञ्ज मेयरको चुनावमा पराजित भइसकेका छन् ।तर यस पटक जित सुनिश्चित रहेकोमा उनी विश्वस्त देखिएका छन् । नेपाली काँग्रेसमा संस्थापन इतर पक्षबाट अजय द्विवेदी र राजेन्द्रबहादुर अमात्य मेयरका लागि दाबी गरेका छन् ।संस्थापन पक्षका पर्साका सभापति जनार्दन सिंह क्षेत्री भने मौन देखिएका छन् । लोसपाबाट सिंह बाहिरिएपछि महानगर मेयरमा चर्चित अनुहार दावेदारी पेश गरेका छैनन् ।
एमालेले सरावगीलाई टिकट दिने पक्का गरेको छ ।एमालेको प्रभाव महानगर क्षेत्रमा छैन् ।गत चुनावमा एमालेका उम्मेदवार पाँचौ स्थानमा रहेका थिए । माओवादी र नेकपा एसले पनि जसपाका उम्मेदवारलाई नै सघाउने संभावना बलियो रहेको बताइन्छ ।

