अपडेट 
२०७८ चैत्र ८, मंगलवार ०७:३०

मिथिलाको सबैभन्दा पछिल्लो विभाजनको इतिहासबारे एउटा भ्रम सिर्जना गरिएको पाइन्छ । नेपाल र भारतका कयौँ विद्वानहरु मिथिलाको विभाजन अँग्रेज–नेपाल युद्धको बेला सन् १८१६मा र्भएको सुगौली सन्धीबाट भएको हो भनेर विश्वास गर्छन र प्रचारितपनि गर्छन् । अँग्रेज–नेपाल युद्ध समाप्तिको निम्ती ब्रिटिस इन्डिया कम्पनी र नेपाल सरकार बीच २ डिसेम्बर १८१५मा हस्ताक्षर भयो र ४ मार्च १८१६मा यस्को पुष्टि गरियो । सीमा पारीका मिथिला क्षेत्रका केही साँस्कृतिक अभियानीहरुले त सुगौली सन्धी भएको दिन ४ मार्चलाई विभाजन दिवस भनेर दुःख मनाउपनि गर्ने गरेको देखिएको छ । उनिहरुको सम्प्रेषण सुन्दा यस्तो लाग्छ मानौ जनकपुर लगायत हाल नेपाली भूमागमा पर्ने मिथिलाको क्षेत्र पहिला भारतीय सीमाभित्र नै पथ्र्यो र सुगौली सन्धीको बेला अँग्रेजहरुले यसलाई नेपाललाई दिएर मिथिलाको विभाजन गराई दिए ।यस भ्रमलाई फैलाउनमा भ्रमित इतिहासकारसंगै राजनीतिक नेताहरुपनि छन् ।

यस्ले नेपालको तराई मधेशका जनतामा नकारात्मक भ्रम सिर्जना हुने देखिन्छ । यस्तै भ्रम चैत्र ६ गते कान्तिपुरमा प्रकाशित नित्यानन्द मण्डलको ‘मिथिला परिक्रमाको अर्थ राजनीति’ शिर्षकको लेखमा पनि उल्लेखित छ । यो एक प्रकारले व्यापक प्रचारित भ्रम हो, जसलाई सीमाक्षेत्रमा दुईतिरकै विद्वानहरुले जानी–नजानी फैलाई रहेका छन् । यस प्रकारको भ्रम सिर्जना हुनूमा केहीश्रेय भारतीय इतिहासकारहरुलाई पनि जान्छ । भारतीय इतिहासकार डा. राधाकृष्ण चौधरीले ‘खण्डबालाज अफ मिथिला’मा सन् १८५७मा अँग्रेज विरोधी सिपाही विद्रोह दबाउन नेपालले सहयोग गरेको बापत अँग्रेजी सरकारले पुरस्कार स्वरुप अहिलेको जनकपुर धाम्, राज महिसौथा (सिरहा), राजविराज(सप्तरी) र विराटनगर नेपाल सरकारलाई सुम्पेको लेखेका छन् । (स्रोत ःविकास वत्सनाभ — ‘सुगौली सन्धी ः मिथिलाक दुर्भाग्य’ शिर्षकको लेख, मिथिला वर्णन, १९ मार्च, २०१७) ।यो अँग्रेज–नेपाल युद्ध र सुगौली सन्धीबारे सीमित जानकारीबाट उब्जेको भ्रम हो । ऐतिहासिक सत्य के हो भने सन् १८६०मा अँग्रेजहरुले नेपाललाई फर्काएको क्षेत्र बाँके, बर्दिया, कैलाली र कन्चनपुर क्षेत्र हो, जसलाई नेपालको इतिहासमा ‘नयाँ मुलुक’ भन्ने चलन छ । हुन त नयाँ मुलुक भनिने क्षेत्रहरु पनि, युद्धमा पराजित भएपछि अँग्रेजी फौजको कब्जामा गएको क्षेत्र थियो र पछि अँग्रेजहरुले फर्काई दिए । जहाँसम्म जनकपुर लगायत गण्डकीदेखी कोशीसम्मको कुरा छ, यी क्षेत्रहरु पारम्परिकरुपमै नेपाली सीमाभित्र पर्ने क्षेत्रहरु हुन् । सुगौली सन्धीको बेला अँग्रेजी सेना गण्डकीदेखी कोशीसम्म कब्जा जमाएर युद्धपछिको आठ महिनासम्म बसी रह्यो । त्यसपछि दक्षिणी भारतका राज्यहरुमा विद्रोह जाग्न थालेकोले उनिहरुले यस भागलाई छाडेर गएको नेपाली इतिहासहरुमा उल्लेख पाइन्छ । कब्जा गरेर बसेको हालको पर्सादेखी सप्तरीको क्षेत्र अँग्रेजहरुले छाडनुको एउटा प्रमुख कारणमा आर्थिक घाटा पनि हो ।

अँग्रेज–नेपाल युद्धका बेला यो क्षेत्र लगायत हाल नेपाली सीमाभित्र पर्ने तराईका क्षेत्रहरु शाहवंशी राजाहरुको केन्द्रीकृत नेपालभित्र पथ्र्यो । शाहवंशी राजाहरुले यस क्षेत्रमा आफ्नो सेनाका उच्च अधिकारी, राजपुरोहित र भारदारहरुलाई जग्गा विर्ता र जागिरको रुपमा दिएका थिए । अँग्रेजहरुले सुगौली सन्धीमा यसक्षेत्रमा कब्जा कायम नै राखे, तर उनिहरुले यसक्षेत्रमा विर्ता र जागीर पाएका सैन्य अधिकारीहरुको हर्जाना वापत नेपाल सरकारलाई वर्षेनी दुईलाख रुपैया तिर्ने कबोल गरेका थिए । यसो गर्नुको कारण यस क्षेत्रमा किसानहरुबाट उठने तिरो दुईलाख भन्दा बढी हुने उनिहरुको अनुमान थियो । तर उनिहरुको अनुमान गलत साबित भयो ।पहिलो आठ महिनामा एकलाख तिरोपनि उठेन । यस्तै बेला दक्षिण भारतको हैदराबादमा विद्रोह शुरु भयो । यसै निहुँमा अँग्रेजहरुले नेपाल सरकारलाई दिने हर्जाना स्वरुपको रकम नदिने गरी पर्सादेखी सप्तरीको भुमिमाथीको कब्जा छाडेर गए । अँग्रेजी सेना ८ दिसेम्बर १८१६का दिनदेखी राप्तीदेखी गण्डकी र गण्डकीदेखी कोशीसम्मको भुमिमा कब्जा छाडेर गएका थिए । यसबारे नेपाली इतिहासकार देवीप्रसाद शर्माको नेपालको आधुनिक इतिहास तथा महेशचन्द्र रेग्मीको नेपालको आर्थिक इतिहासबारेका अनुसन्धानात्मक लेखहरुको अध्ययन उपयोगी हुनेछ । जहाँसम्म मिथिलाको विभाजनको प्रश्न छ, मिथिला जनकवंशको अन्तिम शासक कराल जनकको शासन पतनपछि मिथिलाको राजनैतिक ध्वज कहिल्यै उठेन ।यद्यपि साँस्कृतिक रुपमा मिथिला र विदेहको प्रतिष्ठा र आकर्षण कहिल्यै हराएन । कयौँ स्रोतहरुमा विदेहलाई राज्य र मिथिलालाई राजधानी नगरीको रुपमा पनि व्याख्या गर्ने गरिएको छ ।

(प्राचीन राजकीय वंशहरुमा भने विदेहवंश अत्यन्त प्रष्ठित मानिन्थ्यो र अन्य वंशका शासकहरुले पनि आफ्नो सम्बध विदेहवंशसंग भएको देखाएर गर्व प्रदर्शन गर्ने गरेको पौराणिक ग्रन्थहरुमा उल्लेख छ ; जस्तै, जैन धर्मका प्रवत्र्तक वद्र्धमान महावीरकी आमा र मगधका प्रसिद्ध सम्राट अजातशत्रुकी आमालाई वैदेही भनिएको छ ।)बौद्ध जातक मध्येको एक सुरुचि जातकमा विदेह राज्य ९०० माइलमा विस्तार भएको तथा यस्मा १६००० गाउँ रहेको भनिएको छ । यस्तै महाजनक जातकमा मिथिलालाई सुप्रतिष्ठित नगरको रुपमा वर्णन गरिएको छ । यद्यपि कयौँ ठाउँमा विदेह र मिथिला एक आपसमा पर्यायवाचीको रुपमा पनि प्रयोग भएको पाइन्छ । ऐतिहासिक स्रोतहरुका अनुसार बुद्धको कालमा मिथिलाको राजनैतिक राज्यको पतन भैसकेको र बज्जि महासंघको प्रतिष्ठित राष्ट्रकुलको रुपमा समाहित भएको देखिन्छ । यतिबेला मिथिला एउटा साँस्कृतिक नगरको रुपमा प्रतिष्ठित थियो । जहासम्म विदेह वा मिथिलाको भौगोलिक सीमाको विषय छ, पौराणिक, बौद्ध र जैन तीनवटै स्रोतहरुमा यस्को सीमा उत्तरमा हिमालय (हालको चुरे श्रृङखला, दक्षिणमा गंगानदी, पूर्वमा कोशी नदी र पश्चिममा गण्डकी भनिएको छ । इसाको पाँचौँ शताब्दीतिर गुप्तकालमा यो क्षेत्र त्रिुभुक्ति नाम र वैशाली केन्द्र भएको एउटा प्रदेशको रुपमा देखिन्छ । यस चौहद्दीबाट हालको भारतीय क्षेत्र कटाई दिने हो भने हालको मधेशप्रदेशसंग ठ्याक्कै मिल्छ ; उत्तरमा चुरे, पूर्वमा कोशी, पश्चिममा गण्डकी र दक्षिणमा भारतीय सीमा । एघारौँ शताब्दीदेखी चौधौँ शताब्दीसम्म हाल नेपालको सिम्रौन गढलाई केन्द्र बनाएर तिरहुत राज्यको नाममा कर्णाटवंशी शासकहरुले यस क्षेत्रमा राज्य गरे ।कर्णाटवंशी शासकहरुले मिथिला नरेशको उपाधि धारण गरेको पनि पाइन्छ । पन्द्रौँ शताब्दीमा यस क्षेत्रमा स्थानीय शासकहरुको रुपमा ओइनिवार र द्रोणवार शासकहरु देखिन्छन् । उल्लेखनिय छ, मैथिलीका महाकवि विद्यापतिका आश्रयदाता राजा शिवसिंहपनि ओइनिवारवंशी थिए । उनि भारतीय क्षेत्रको मिथिलाका शासक थिए ।

तर यहाँ उल्लेखगरिएको ओइनिवार शासकहरुको केन्द्र महोत्तरी थियो । त्यस्तै द्रोणवारवंशी शासकहरुको केन्द्र सप्तरी र मोरङ्ग थियो । शिवसिंह युद्धमा मारिँदाका बखत उनका रानीहरु र परिवारसहित आएका विद्यापतिलाई यिनै द्रोणवारवंशी राजा पुरादित्यले शरण दिएका थिए । पुरादित्य शिवसिंहका मित्र थिए । सोह्रौँ शताब्दीमा पर्सादेखी सप्तरीसम्मको क्षेत्र (गण्डकीदेखी कोशीसम्म) मकवानपुरका र मोरङ्गदेखी सिक्किम (कोशीदेखी टिस्टा)सम्मको क्षेत्र मोरङ्गका सेनवंशी शासकहरुको मातहत थियो ।सेनवंशी शासकहरुले जनकपुर धामको राममन्दिर, जानकीमन्दिर तथा अन्य मन्दिर हरुलाई जग्गा दान गरेका लेखतहरु उपलब्ध छन् । यसरी नै राजविराजमाराजदेवीमन्दिर, किल्ला र कचहरीहरुसेनवंशी शासकले बनाएको ऐतिहासिक साक्ष्यहरु छन् । जनकपुरधाम्को जानकीमन्दिरको संस्थापक सुरकिशोर दास र राममन्दिरको संस्थापक चतुर्भुज गिरी सेनवंशी शासनकालकै हुन् । नेपालको तराई क्षेत्रमा सेनवंशी शासकहरुको कालमै सोह्रौँ शताब्दीमा भारतमा मुगल साम्राज्य स्थापित भएको हो । मुगल शासकहरुले भारतीय मिथिला भएको क्षेत्रलाई तिरहुत सुबा भनेर खण्डबला वंश (हाल दरभंगा राज भनिने)का महेश ठाकुरलाई शासनाधिकारी नियुक्त गरे । यिनीहरुको नेपाल तराईका सेनवंशी शासकहरुसंग सीमा विवाद भई रहन्थ्यो । (सम्भवतः यसै विवादलाई निम्ट्यान्न पार्न) सन् १५८५मा तत्कालीन मुगल शासक जलालुद्दीन अकबरका प्रधानमन्त्रीले तिरहुतक्षेत्रको नापी गराए र एघारलाख त्रिसठ्ठीहजार बीस रुपैया वार्षिक कर तोके । त्यतिबेला हालको नेपाली क्षेत्रमा पर्ने मिथिलाको भूभाग सेन राजाहरुको शासन अन्तर्गत नै रह्यो । यस विषयमा महमहोपाध्याय पण्डित परमेश्वर झाको ‘मिथिला तत्व विमर्श’को उत्तराद्र्ध खण्डमा विस्तृत रुपमा उल्लेख गरिएको छ । यसरी एतिहासिक तथ्यहरुले के देखाउँछन् भने मिथिलाको राजनैतिक ध्वज त गौतम बुद्धभन्दा पहिले नै पतन भैसकेको थियो । साँस्कृतिकरुपमा रहेको मिथिलको औपचारिक विभाजन अकबरको कालमा भएको हो ।

नेपाली इतिहासमा केन्द्रिकृत नेपालको शासकको रुपमा शाहवंशको उदय भएपछि सेनवंशी शासनमा रहेको नेपाल तराईको शासन शाहवंशी शासकहरुको मातहतमा गयो । यो स्थिति हालसम्मपनि छ । पछि खण्डवलावंशको राज्याधिकारमा रहेको तिरहुत अँग्रेजकालमा अँग्रेजी शासन मातहतको जिल्लामा परिणत भएको देखिन्छ । यद्यपि अँग्रेज शासकहरुले स्थानीय शासनाधिकारी खण्डवलावंशी (दरभंगा राज) नै स्वीकार गरेका थिए । त्यसकारण, मिथिलाको विभाजन सुगौली सन्धीमा भयो र अँग्रेजहरुले यो भाग नेपाललाई दिए भन्नु उचित हुँदैन । यथार्थतः सुगौली सन्धीको बेला यो भाग नेपालको भाग नै थियो । युद्धमा नेपाल पराजित भएपछि यी भागहरुमा अँग्रेजहरुले कब्जा जमाएका थिए र पछि विविध कारणवश उनिहरुले यी भागहरुबाट कब्जा त्याग गरे । अँग्रेज–नेपाल युद्धका बेला जनकपुर आएका अँग्रेजी सैन्य अधिकारीहरुका रिपोर्टहरुमा समेत यो नेपाली क्षेत्र रहेको पुष्टि हुन्छ । त्यतिबेलाकोतिरहुत जिलाका मजिस्टे«ट सी.टी. सिलीले १७ जनवरी १८१५मा कर्नल ग्रेगोरी मार्फत जनरल मार्लेलाई पठाएको रिपोर्टमा जनकपुरमा नेपाली सेनाको बलियो क्याम्प रहेको र छ हजार नेपाली सेना अँग्रजी शासन क्षेत्रको ‘जल्ला थाना’ (?) तर्फ बढने सम्भावना रहेको भनिएको छ । रिपोर्टमा,यस्को निम्ती उनिहरु अँग्रेजी शासन क्षेत्रको बिसोत्तरा प्रगन्नाको भिठ्ठा नजिक पुग्ने सम्भावनापनि व्यक्त गरिएको छ । त्यसै रिपोर्टमा नेपाली सेना जनकपुरभन्दा दुई कोसको दूरीमा रहेको ‘रुपैठा गढी’बाट मटिहानी (मटियानी) मा केन्द्रित भै रहेको पनि भनिएको छ ।

यी ऐतिहासिक तथ्यहरु के बुझिन्छ भने सुगौली सन्धीको बेला यी क्षेत्रहरु नेपाली सीमाभित्रकै क्षेत्र थिए । त्यसैले सुगौली सन्धीमा मिथिलाको विभाजन भयो भन्ने कुरा शतप्रतिशत अनैतिहासिक र असत्य धारणा हो । यस भ्रमबाट मुक्त हुनू राम्रो ।

Comment


Related News

Latest News

Trending News