वीरगञ्ज । ‘बिहार सरकार र मधेस प्रदेश सरकार बीच पर्यटनको प्रवर्धन’विषयक अन्तरक्रिया कार्यक्रमको सम्पन्न भएको छ ।
आजादी का अमृत महोत्सव अन्तरगत वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासद्वारा मंगलबार द्विपक्षीय पर्यटन प्रवद्र्धन गरी दुबै तर्फका पर्यटकहरुले भोग्नु परेको समस्या समाधानबारे छलफल गरिएको थियो । दुबै तर्फका पर्यटकहरुले ओहोर दोहोरको क्रममा भोग्दै आएका समस्याबारे सरकारी तथा नीजि निकायहरूबीचको सम्पर्क कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुघन महतो ,पर्साका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी र एनआइडी पर्सा, पूर्वी चम्पारणका जिल्ला अधिकारी, पश्चिम चम्पारणका अतिरिक्त जिल्ला मजिस्ट्रेट, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, पर्सा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, होटल तथा टुर अपरेटरका प्रतिनिधिहरु लागयतका सरोकारवालाहरुको सहभागिता रहेको थियो । सो छलफलमा छलफलमा भारत र नेपालका तर्फका प्रतिनिधिहरुले आ–आफ्ना धारणा राखेका थिए । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र भारत बिहारको वाल्मीकि टाइगर रिजर्भको सम्बन्धमाथि वक्ताहरूले प्रकाश पारेका थिए । भारत र नेपालका पर्यटकीय गन्तव्य रामायण, बुद्ध र जैन सर्किटले जोडेको उल्लेख गरिएको थियो ।
मधेस प्रदेश र बिहारको पूर्वी र पश्चिम चम्पारण जिल्लामा पर्यटकीय गन्तव्य प्रवद्र्धनमा ध्यान केन्द्रित गरिएको थियो । सीमामा हेल्प डेस्क स्थापना गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो । नेपालमा भारतीय सवारीसाधनबाट असुली हुने सडक कर र अन्य कर असुलीमा सुधार र सहजीकरण गर्ने विषयमा समेत चर्चा परिचर्चा गरिएको थियो । कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री महतोले यस प्रकारको समस्या समाधानका लागि मधेश प्रदेश सरकार गंभीर रहेको बताए । दुबै देश बीचको पर्यटकीय सम्बन्धलाई प्रगाढ बनाउँदै लैजानु पर्ने आवश्यकतामा पनि उनले जोड दिएका थिए ।

