अपडेट 
२०७८ चैत्र ९, बुधबार ०७:४८

कलैया । मोफसलकै प्रतिष्ठित फूटबल प्रतियोगिता जगदम्बा जीतपुरसिमरा गोल्डकपको १२ औं संस्करणको तयारी पूरा भएको छ ।

आयोजक नव जनजागृति युवा क्लबले बाराको सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी चैत १० गतेदेखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । ए डिभिजनका पाँचसहित प्रतियोगितामा १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । लामाका अनुसार प्रतियोगितामा साविक विजेता संकटा क्लब, एनआरटी क्लब, हिमालयन शेर्पा, फ्रेण्ड्स क्लब, एपिएफ एफसी, सुदूरपश्चिम ११, बिएफसी चितवन, बिजय युथ हेटौडा, वागमती युवा क्लब र आयोजक नव जनजागृति युवाक्लब सहभागी हुनेछन् । प्रतियोगिताको उद्घाटन खेल फ्रेण्ड्स क्लब र सुदुरपश्चिम ११ बीच हुनेछ । फल्ड लाईटमा हुने डे ,नाईट प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछ । आयोजकले यस वर्ष प्रथम पुरस्कार राशीमा तीन लाख र द्धितीय पुरस्कारमा एक लाख पचास हजार वृद्धि गरेको छ । ११औं संस्करणमा प्रथम पुरस्कार सात लाख र द्धितीय पुरस्कार तीन लाख पचास हजार रहेको थियो । चैत १९ गतेसम्म संचालन हुने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल वा स्कुटर प्राप्त गर्ने अध्यक्ष लामाले जानकारी दिए ।

प्रतियोगिता अवधिभरि उत्कृष्ट प्रदर्शन गर्ने विधागत पुरस्कार तर्फ गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकले जनही २० हजार नगद प्राप्त गर्नेछन् । आयोजकले यस वर्षपनि उदयीमान स्थानिय खेलाडीलाई १५ हजार नगदले पुरस्कृत गर्ने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा र जगदम्बा स्टील्स्को प्रायोजनमा हुने प्रतियोगिताको लागत करिब ८३ लाख रहेको छ । ११औं संस्करणमा प्रतियोगिताको अनुमानित लागत ७० लाख ५५ हजार थियो । १०औं संस्करणसम्म सिमरा गोल्डकपको नामबाट संचालन हुदै आएको प्रतियोगिता पछिल्लो संस्करणबाट जीतपुरसिमराको नाममा रुपान्तरित भएको हो । स्थानीय सरकारका रुपमा रहेको जीतपुरसिमरा उपमहानगरपालिकाले प्रतियोगिता सम्पन्न गर्नकालागि मुख्य सहयोगीको भूमिकामा सहयोग गर्दै आएको छ । अघिल्लो संस्करणमा २० लाख आर्थिक सहयोग उपलब्ध गराएको उपमहानगरपालिकाले यस संस्करणमा २५ लाख उपलब्ध गराउने भएको छ । मोफसलकै प्रतिष्ठित प्रतियोगिताको रुपमा पहिचान स्थापित गरिसकेको प्रतियोगितालाई यस वर्षदेखि सिमरामा रहेको जगदम्बा स्टील्स्ले मुख्य प्रायोजन गर्ने भएको छ ।

प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष लामा र जगदम्बा स्टील्स्का कर्पोरेट भाईस प्रेसिडेण्ड कृष्णदत्त भट्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । प्रतियोगिता सफल पार्न सिमरा स्थित युआर अटोमेटिक लन्ड्री, मुनसाईन टेक्नोलोजी, सुसप्त मेडिकल हल प्राविधिक सहयोगीको भूमिकामा रहने भएका छन् । पत्रकार सम्मेलनमा जगदम्बा स्टील्स्का प्रशासन शाखा प्रमुख गोविन्द गुराँगाई, क्लबका पूर्वअध्यक्ष राजकुमारलगायत क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News