जनकपुरधाम । शंकराचार्य निश्चलानन्द सरस्वती जनकपुरधाम आउने भएका छन् ।
रामनवमीको अवसर पारेर चैत २६ गते जनकपुरधाम आइपुग्ने सरस्वतीको चैत २७ गते प्रवचन तथा स्थानीय एक विद्यालयको सभाकक्षमा प्रश्नोत्तरी साक्षात्कार कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले जानकारी दिएका छन् । यस अघि उनको बिहारको डोकहर गांउ स्थित दुखहर भगवती स्थान तथा , उच्चैठ भगवती स्थानमा प्रवचन दिने कार्यक्रम रहेको जनाइएको छ । शंकराचार्य निश्चलानन्द सरस्वतीको जन्म भारत बिहारको मधुबनी जिल्लाको हरिपुर बक्शीटोल मा भएको हो ।मिथिलाकै भूमिमा जन्म लिएका शंकराचार्यको प्रवचन सुन्नका लागि जनकपुरधामका वासिन्दामा पनि उत्साह देखिएको छ । उनको स्वागत तथा उनीसंग आउने सन्तका टोलीहरुको लागि भोजन तथा आवास व्यवस्थापनको निम्ति जनकपुरधाममा एउटा कमिटी गठन गरिएको छ । जानकी मन्दिरको प्रागंणमा महन्त दासको संयोजकत्वमा एक बैठकको आयोजना गरी २ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
त्यस्तै भोजन तथा आवास व्यवस्थापनका लागि सामाजिक अभियन्ता राजकुमार झाको संयोजकत्वमा उपसमितिको गठन गरिएको छ भने स्वागतको निम्ति मंच पण्डाल व्यवस्थापन,धर्मशाला व्यवस्थापन लगायतको उपसिमितिको गठनसमेत सर्वसम्मतिले गरिएको छ । बैठकमा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव,बसहिया स्थानका महन्त सत्यनारायण दास वैष्णव,असर्फी झा,ओम प्रकाश सर्राफ,शम्भु मिश्र,जउनपा–११का वडाअध्यक्ष रामचन्द्र साह,जिसस धनुषाका उपसभापति दीपक झा,लक्ष्मण कुमार राउत ,हिन्दू परिषदका शत्रुधन साह लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

