२०७८ चैत्र १०, बिहीबार ०७:४७

राजविराज । लामो समयदेखी चर्चामा रहेको सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्तादेखी राजविराजको दुई लेन तथा राजविराजलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने रुपनी–राजविराज चार लेन सडक खण्डको बुधबार शिलान्यास गरिएको छ ।

छिन्नमस्ता र रुपनी गाउँपालिकामा आयोजित एक कार्यक्रमबीच जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव तथा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले दुबै आयोजनाको संयुक्त रुपमा शिलान्यास गरेका छन् । आयोजनाको शिलान्यास गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका जसपा अध्यक्ष यादवले शिक्षापछि देशको उन्नतीमा यातायात क्षेत्रकै भूमिका महत्वपूर्ण रहने गरेको बताए । राजामहाराजाको शासनकालमा तराई मधेशलाई उपेक्षा गरी उत्तरतिरबाट पूर्वपश्चिम राजमार्ग निर्माण गरिँदा तराई मधेशको विकास हुन नसकेको उनले आरोप लगाए । तराई मधेशको बीच भागबाट सडक निर्माण गर्दा बढी जनता लाभान्वित हुने र वन जंगलको पनि सुरक्षा हुने कुरालाई वास्ता नगरी बनाइएको पूर्वपश्चिम राजमार्गबाट उल्टै वन जंगलको विनास भएको उनले टिप्पणी गरेका थिए । पूर्वउपप्रधानमन्त्री यादवले जनकपुरधाम जयनगर रेल संचालनको क्रममा रहे जस्तै पूर्वपश्चिम रेलवे लाई पनि ड्रिम प्रोजेक्टको रुपमा अघि बढाउनु पर्नेमा जोड दिए ।

सोही कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले दुई/तीन महिनाको प्रयासपछि ४० करोड रुँपैया थप बजेट व्यवस्था गरेर रुपनी–राजविराज सडकलाई फोर लेनमा र राजविराज–छिन्नमस्ता सडकलाई दुई लेनमा बिस्तार गर्ने काम सुनिश्चित भएको बताइन् । उनले भारतको सीमावर्ती क्षेत्रबाट सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर हुँदै सदरमुकाम राजविराजसम्म जोड्ने दुई लेन सडकको लागि आवश्यक बजेट व्यवस्था गरेर यसै आर्थिक वर्षबाट काम सुरु गरिने जानकारी पनि दिइन् । भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका सचिव रबीन्द्रनाथ श्रेष्ठको अध्यक्षतामा आयोजित शिलान्यास समारोहलाई मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, जसपाका कार्यकारिणी सदस्य एवं राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, प्रदेशसभा सदस्य मनिष सुमन, पण्डित रामकुमार शास्त्रीलगायतले आयोजनाबाट सप्तरी मात्र नभई मुलुककै समृद्धिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=ZQsnuUHM8WA&t=15s

Comment


Related News