महोत्तरी । नेपालको अजमेर शरीफ भनेर प्रसिद्ध महोत्तरीको रौजा मजार शरीफमा प्रत्येक वर्ष झै यस वर्षपनि उर्श(धार्मिक मेला) लागेको छ । प्रत्येक बर्ष चैत महिनामा रौजा मजार विकास समितिले प्रसिद्ध बाबा गदाअली शाह, बाहार अली शाह र रहम अली शाहको उर्स धुमधामको साथ मनाउदै आएको छ । चैत ८ गतेदेखि सुरु भएको उर्समा नेपाल सहित छिमेकी मुलुक भारतका लाखौ धार्मिक श्रद्धालु( जाईरीन)हरुको सहभागिता रहेको छ । त्यसैगरी, उर्सको अवसरमा रातिको समयमा जलसा(धार्मिक प्रवचन) हुदै आएको छ भने भाकल गरेकाहरुले दैनिक रुपमा बाबाको मजारमा फतिहा, नियाज, तथा धार्मिक क्रियाकलाप गर्ने गरेका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधामबाट करिव १२ किलो मिटर पश्चिममा अवस्थित बलवा नगरपालिका–११ स्थित रौजा मजार शरीफमा लागेको उर्से पाक औलया–ऐ केरामको दोस्रो दिन बुधवार प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरत सिंह भण्डारी, प्रदेश सांसद जयनुल राईन, सुरिता साह, बलवा नगरपालिका मेयर बिनोद यादव सहितका नेताहरु सहभागी भएका थिए । सो अवसरमा बाबाको मजारमा चादर चढाउँदै मुख्यमन्त्री राउतले रौजा माजार शरीफलाई धार्मिक स्थलको रुपमा विकास गर्नुपर्ने बताए । रौजा मजारलाई व्यस्थित बनाएको खण्डमा मधेश प्रदेशको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउदै मुख्यमन्त्री राउतले मजार शरीफमा खानेपानी, शौचालय, तथा धर्मशलाको काम प्रदेश सरकारबाट भईरहेको जानकारी दिए । लोसपाका वरिष्ठ नेता भण्डारीले भारतको अजमेर शरीफ जस्तै महिमा बोकेको रौजा मजार शरीफलाई नेपालकै धार्मिक पर्यटकीय क्षेत्र मध्येका एक रहेको बताए । रौजा मजार शरीफको विकास संघीय, प्रदेश र स्थानीय तीनै तहको सरकारले लगानी गर्नुपर्ने बताउदै नेता भण्डारीले भने,‘ महोत्तरीवासी वा प्रदेशवासीको मात्रै होईन । यो सम्पूर्ण नेपालवासीको गौरव हो । त्यसकारण यसको संरक्षण र प्रबद्र्धन गर्न सकेको खण्डमा मुलुकको आर्थिक तथा पर्यटन विकासमा ठूलो टेवा पुग्छ ।’ उर्समा सहभागी भएका मुख्यमन्त्री राउत, तथा राजनीतिकर्मीहरुलाई मजार विकास समितिका पदाधिकारीहरुले स्वागत गरेका थिए । उर्सलाई भव्य बनाउन नेपाल तथा भारतका प्रसिद्ध धार्मिक गुरुहरुलाई प्रवचनकोलागि आमन्त्रण गरिएको मजार विकास समितिका अध्यक्ष सलिम राईनले बताए ।
उर्समा सहभागी भएका श्रद्धालुहरुको खानेपानी, आवास तथा स्वास्थ्य उपचारको लागि विभिन्न शिविरहरु सञ्चालन गरिएको समितिका सहसचिव अली हुसेन नदाफले बताए । सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र करिव एक हजार स्वयमसेवक परिचालन गरिएको उनले बताए । चैत १० सम्म चल्ने उर्सको तेस्रो दिन विहीवार दिउँसो दुई बजे वरिष्ठ धार्मिक गुरुको हातबाट चारपोसीको कार्यक्रम रहेको सहसचिव नदाफले बताए ।

