सर्लाही जिल्लामा लागुऔषध सहित प्रहरीले एक जना भारतीय युवकलाई पक्राउ गरेको छ ।
जिल्लाको पर्सा गाउंपालिका–६ बाट लागुऔषध सहित प्रहरीले भारतको बिहार राज्यको मधुबनी ग्राम पोष्ट बिरौल थाना खजौली–१३का सिंघेश्वर सिंहको छोरा २४ वर्षीय उमेश कुमार सिंहलाई पक्राउ गरेको छ । बुधबार साँझ ८ बजे प्रहरी चौकी पर्साबाट खटेको प्रहरी टोलीले प्र–३–०२–०११ प ७०३२ नम्बरको मोटरसाइकललाई शंका लगेर चेकजाँच गर्दा उनलाई लागु औषध कोडिवेल(१००एमएल) एक सय बोतल र डाइलेक्स डिसी ५० बोतल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । डिएसपी माधव प्रसाद बुढाथोकीका अनुसार पक्राउ परेका युवक सिंहमाथि लागुऔषध नियन्त्रण सम्बन्धी मुद्दामा कारवाही अगाडि बढाइएको छ । सिंहलाई प्रहरीले बुधबार पक्राउ गरे पनि विहीबार सार्वजनिक गरेको छ । केही दिन यतादेखि जिल्लाको भारतीय सीमावर्ती क्षेत्रबाट लागुऔषध तस्करी फष्टाएर गएको छ ।

