२०७८ चैत्र १३, आईतवार ०७:३८

राजविराज । दुर्घटनामा परी गंभीर घाइते भइ विराटनगरको गोल्डेन अस्पतालमा उपचार गराइरहेका राजविराज– ९ मलेठका ३३ वर्षीय रामकुमार खंगको उपचार खर्च बढ्दै गएपछि परिवारजन समस्यामा परेका छन् ।

दश दिनअघि राजविराज–रुपनी सडक खण्डको रायपुरमा उनी सवार मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल एक आपसमा ठोक्किदा खंग गंभीर घाइते भएका थिए । दुर्घटनामा साइकल सवार रुपनी गाउंपालिका–३का ३८ वर्षीय जितेन्द्र मण्डल पनि गंभीर घाइते भएका थिए । मण्डलको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । टाउको र अनुहारमा गहिरो चोट लागेका खंगको उपचारमा हालसम्म तीन लाख ८४ हजार रुपैयाँ सकिएको पत्नी रामरतिले बताइन् । हालसम्मको उपचार खर्चको १ लाख ४४ हजारको बिल तिर्न बाँकी नै छ । रकमको अभावमा उपचार अघि बढ्न नसकेको उनले गुनासो पोखिन् । अस्पतालले बाँकी १ लाख ४४ हजार र थप उपचारका लागि २ लाखको जोहो गर्न भनेको छ । रामरतिले भनिन,‘अब उपचार खर्च कसरी जोहो गर्ने भन्ने चिन्ताले तनावमा परेकी छु ।’ चिकित्सकले बंगारा र घाँटीको शल्यक्रिया गर्न जरुरी रहेको भन्दैछन्, उनले भनिन, पूर्जामा लेखेको औषधि किन्ने त पैसा छैन, शल्यक्रियाका लागि थप रकम कहाँबाट ल्याउने । गरिबीका कारण दुई दिनदेखि श्रीमान्का लागि औषधि समेत किन्न नसकेको उनले रुँदै बताइन् ।

आइसियुमा राखेर उपचार भइरहेका उनको दैनिक उपचार खर्च बढ्दै गएपछि समस्यामा परेको बताउँदै उनले भनिन् ,‘ अहिलेसम्मम त ऋण साप्टीबाट काम चलाइयो अब त्यो उपाय पनि रहेन् ।’ स्थानीय एक रात्री बसमा खलासी (सहचालक) को काम गर्दै आएका श्रीमान्को लामो अस्पताल बसाईले आम्दानीको सबै बाटो टु्टेको बताउँदै उनले कुनै संघ संस्था र दाताको सहयोग पाए श्रीमानलाई बचाउन सकिनेमा उनी आशावादी छिन् । यसैबीच उपचार खर्चको अभावमा समस्यामा परेका खंगलाई बचाउन शनिबार स्थानीय समाजसेवी राजविराज नगरपालिका–९का रामजी यादवले पहल थालेका छन् । २५ हजार रुपैयाँ सहयोग गरेका उनले थप खर्च जुटाउन सहयोग संकलन अभियान थालेका छन् । “खंग परिवारको नाजुक अवस्थालाई ध्यानमा राख्दै सहयोग जुटाउन थालेका छौं, उनले भने साथीहरु र मनकारीहरुले सहयोग गर्ने विश्वास छ ।

Comment


Related News

Latest News

Trending News