जनकपुरधाम । दलित भूमिहीन सुकुम्वासीहरुले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय घेराउ गर्ने भएको छ ।
चुरे तथा वन जंगल संरक्षण अभियान धनुषाको अगुवाइमा दलित भूमिहीनहरुले चैत १४ गते विभिन्न माग अघि सार्दै मुख्यमन्त्रीको कार्यालय घेराउ गर्ने भएको छ । शनिबार अभियानले धनुषाले जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजना गरेको पत्रकार संगको छलफल कार्यक्रममा आन्दोलनबारे जानकारी गराएको हो । दलित भूमिहीन सुकुम्वासीहरुको न्याय र चुरे वन जंगल संरक्षण सम्वद्र्धन तथा राष्ट्रको सार्वजनिक सम्पत्ति,धार्मिक क्षेत्र,प्राकृतिक सम्पदा जोगाउन तथा भूमाफिया विरुद्ध आन्दोलन गर्दै आएको अभियानले कुनै सुनुवाई नभए पछि कडा आन्दोलनमा उत्रेको जनाएको छ । कार्यक्रममा अभियानका अध्यक्ष सुनिल यादवले भूमिहीन सुकुम्वासीहरुको समस्या समाधान गर्दै चुरे वन संरक्षण गर्नको लागि पटक –पटक मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाइ ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभए पछि कडा आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।
प्रदेशभरि डेढ लाख भन्दा बढी भूमिहीन सुकुम्वासीहरु रहेको जानकारी दिँदै उनले भने,‘ हामीहरुले सुकुम्वासीको समस्या समाधान तथा चुरे संरक्षणको लागि पटक पटक प्रयास गरेका छौं तर सम्बन्धित निकायलाई कुनै मतलब नै छैन् ,त्यसैले अबको आन्दोलन निर्णायक हुनेछ।’ प्रदेशभरिकै सुकुम्वासीहरुलाई आन्दोलनमा सहभागी हुन आग्रह गर्दै सोका लागि जिल्ला जिल्लामा छलफल कार्यक्रम भइरहेको अध्यक्ष यादवले जानकारी दिए । जनकपुर नगर अध्यक्ष अरुण दास र अभियानी कुशेश्वर राउतले भूमिहीनहरुलाई तत्काल भूमि व्यवस्था गर्नु पर्ने,दिन प्रति दिन चुरे वन जंगलको हूँदै आएको विनाशलाई यथाशीघ्र रोक्नु पर्ने,भूमाफियाहरुले गर्दै आएको नदीजन्य पदार्थको दोहन तत्काल रोक्नु पर्ने लगायतका माग अभियानले अघि सारेको प्रस्ट गरे । कार्यक्रममा एक सय भन्दा बढी भूमिहीन सुकुम्वासीहरुको सहभागिता रहेको थियो ।

