मधेस प्रदेशका जनयुद्धका शहीद परिवारहरुलाई एक कार्यक्रमकाबीच सम्मान एवम एक लाखको चेक हस्तान्तरन गरिएको छ ।
जनकपुरधामस्थित मधेस भवनको सभा हलमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले मधेश प्रदेशमा रहेका जनयुद्धका शहीद परिवारहरुलाई एक जुट भई संगठन निर्माण गर्न आग्रह गरेका छन । आइृतबार मधेशी शहीद प्रतिष्ठानद्वारा आयोजित जनयुद्धका शहीदको परिवारलाई सम्मान तथा चेक वितरण कार्यक्रममा नेता यादवले यस्तो आग्रह गरेका हुन ।
उहाँले भन्नुभयो‘ तपाईहरु एक जुट भई आए मात्र अनि सरकारसंग अझ बढी सुविधा पाउन सजिलो हुनेछ ,अहिले कसैले पाउने कसैले नपाउने स्थिती देखिएको छ ।’
कार्यक्रममा बोल्दै मधेस प्रदेशका आन्तरिक मामिला मन्त्री भरतप्रसाद साहले अब जनयुद्धका शहीद परिवारले परिचयपत्र बनाई प्रदेशका अस्पतालमा ९० प्रतिशतसम्म छुटको व्यवस्था पाउने सरकारले नियम बनाईसकेको जानकारी गराए । जनयुद्धमा घाईते, अपाँग भएकालाई प्रदेश सरकारले विशेष ध्यान दिने बताए ।
कार्यक्रममा धनुषा जिल्लाका १ सय ५ शहीद परिवारलाई एक एक लाखको चेक हस्तान्तरन गर्नुका साथै सम्मान गरिएको थियो । जनयुद्धका प्रत्येक शहीद परिवारलाई मधेश प्रदेश सरकारले तीन तीन लाख दिने निर्णय गरेकोमा आज पहिलो चरण अन्तर्गत एक एक लाखको चेक हस्तान्तरन गरिएको हो ।

