जनकपुरधाम । ‘नौ बुन्दै सम्झौता धोका हो चिनियाँ विस्तारवादको ढोका हो’ भन्ने मूलनाराका साथ राष्ट्रिय एकता अभियानले जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ ।
अभियानका अध्यक्ष विनय यादवको सक्रियतामा आइतबार अभियानले विभिन्न माग अघि सार्दै जनकपुरधामको जनकचोकमा विरोध प्रदर्शन गरेको हो ।गो ब्याक चाइना ,बीआरआइ सम्झौता खारेज गर,रेलको बहानामा सैन्य विस्तार गर्न पाईंदैन ,अघोषित नाकाबन्दी खुला गर ,नेपाली विद्यार्थीहरुको अध्ययन अध्यापन सुचारु गर ,पोखरा विमानस्थलको भ्रष्टाचार छानबिन गर लगायतका माग अभियानले अघि सारेको छ । सो क्रममा अध्यक्ष यादवले चिनिया विदेश मन्त्री बिना कुनै जानकारी अचानक नेपाल भ्रमणमा आउनु र नौ बुन्दै सहमति गर्नु दुर्भाग्यपूर्ण रहेको बताउँदै तत्काल यो सम्झौता खारेज हुनु पर्ने बताए ।
आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी, नेपालमा चीन –नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना, नेपाल– चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता, सुरक्षितरुपमा स्वस्थ्य घाँस नेपालबाट चीन निर्यात गर्ने सम्बन्धी समझदारी, चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्र, अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र, रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको दस्तावेज, कोभिड–१९ चीन सहायताअन्तर्गत नेपाललाई (पाँचौं र छैटौं खेपमा ४० लाख सिनोभ्याक खोप) खोप आपूर्ति र स्वीकृतिको प्रमाणपत्र तथा चितवन स्थित विपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी चीन र नेपाल बीच शनिबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

