२०७८ चैत्र १४, सोमबार ०८:१९

लहान । अवैध ग्राभेल उत्खनन गरिरहेको अवस्थामा सिरहा प्रहरीले गोलबजार नगरपालिका– १ मुक्सारबाट ५ वटा टिपर र एक थान जेसिवि नियन्त्रणमा लिएको छ ।

स्थानीयवासीले अवैध उन्खनन गरिरहेको दिएको सूचनाको आधारमा पुगेको प्रहरीले ना. ३ ख ६८१२, प्र. २–०१–००१ ख ०२४३, ना. ३ ख ८७७७, प्र. २ –०१–००१ ख ०१०१ र रा. १ ख २०८८ नम्वरको टिपर र नम्बर नभएको चेनबाला स्काइभेटर शनिबार राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जनाए । टिपर र स्काइभेटर नियन्त्रणमा लिए पनि साँचो लिएर ड्राईभर फरार भएकाले ४ वटा टिपर र स्काइभेटर प्रहरीको सुरक्षामा उत्खनन स्थलमै रहेको जनाएको छ । उनले गाडी ल्याउने प्रयास भईरहेको जानकारी दिए । उनका अनुसार राति उत्खनन गरिरहेको अवस्थामा प्रहरी गएपछि सबै गाडीका चालकहरु फरार भएका थिए । प्रत्येक वर्ष विकास निर्माणको काम सुरु भएसँगै सिरहाको गोलबजार, धनगढीमाई, मिर्चैया, कर्जन्हा र लहान नगरपालिकाको उत्तरीक्षेत्रमा अवैध उत्खनन तीव्र रुपमा हुने गरेको भए पनि स्थानीय प्रशासन मुकदर्शक बनेका छन् । स्थानीय निकायमा नै खानी दर्ता गर्ने र त्यसको राजस्व लिने व्यवस्था भए पनि उनीहरुको मौनताले मिलेमतोमै अवैध उत्खनन हुने गरेको स्थानीयवासी कसम महतोको आरोप छ । स्थानीय पालिका र प्रहरी प्रशासनको समेत मिलेमतोमा ग्राभेल उत्खनन हुने गरेको स्थानीयवासीहरुले आरोप लगाएका छन् ।

गोलबजार नगरपालिकामा हालसम्म दर्ता भएका खानीले पनि अनुमति नलिएको र अनुमति बिनै दर्जनौं स्थानबाट ग्राभेल उत्खनन गरेको पाइएको छ । गोलबजार नगरपालिकाका सूचना अधिकारी दिनेश सहनीले खानी नगरमा दर्ता नभएको जानकारी दिए । अवैध उत्खननका कारण कलिलो माटो भएको चुरे क्षेत्र दिन प्रति दिन विनाश हुँदै गएको छ । नदी उत्खननका कारण चुरेको तल्लो तथा माथिल्लो जलाधार क्षेत्र नराम्ररी प्रभावित हुने गरेको चुरे क्षेत्रका विज्ञहरु बताउँछन् ।

Comment


Related News

Latest News

Trending News