२०७८ चैत्र १५, मंगलवार ०६:३७

लहान । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उत्पीडित समुदायलाई अधिकार सम्पन्न बनाउन एक मात्र जनता समाजवादी पार्टी रहेको बताएका छन् ।

सिरहाको लहान नगरपालिका–१९ मा सोमबार आयोजित चुनावी सभामा उनले भने,‘सयौं वर्षदेखि शासक वर्गबाट शोषित हुँदै आएको उत्पीडित समुदायको हक हितका लागि एक मात्र पार्टी जसपा हो।’ मधेश विद्रोह हुनु अगाडि शोषित रहेको समुदाय तत्कालीन मधेशी जनअधिकार फोरम र हालको जसपा नेतृत्वकै कारण पहिचान सहितको अधिकार पाउँदै गएको उनले जिकिर गरे । पुस्तौ देखि ठूला पार्टीका नेता कहलाउनेहरुसमेत अहिले मधेश विद्रोहको बलमा स्थापित आरक्षण कोटाबाट आफनै पार्टीमा स्थान पाइरहेको बताउँदै मुख्यमन्त्री राउतले मधेश आन्दोलनको बलमा आरक्षणको व्यवस्था लागु नभएको भए हाल उनीहरुको अवस्था के हुन्थ्यो भन्ने सोचेर पनि दया जागेको उल्लेख गरे । अन्य दलहरु आश्वासन दिने गरेको भए पनि जसपा र जसपा नेतृत्वको मधेश सरकार व्यवहारमा उतारेर देखाएको दाबी गर्दै मुख्यमन्त्री उनले मधेश सरकार जनसंख्याको आधारमा आरक्षणको व्यवस्था, दलित, महिला, मुस्लिम लगायतको समुदायलाई राज्यको मूल धारमा ल्याउन गरेका प्रयासहरु उदाहरणीय रहेको उल्लेख गरे ।

मधेश प्रदेश सरकारले मधेशीको लागि मात्र नभइ देशभरिकै विभिन्न पिछडिएका समुदायहरुको उत्थानका लागि शासक वर्गहरुले अझै पनि अधिकार दिन नचाहेकोले अधिकारबाट वञ्चितहरुले आसन्न निर्वाचनमा अधिकारको लागि कुरा गर्ने पार्टी जसपालाई जिताउन नेता तथा कार्यकर्ताहरुलाई जनताको घर दैलोमा पुग्न आग्रह गरे । वडा कमिटीका अध्यक्ष राजकुमार यादवको सक्रियतामा भएको उक्त कार्यक्रममा जसपाका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री राजलाल यादव, केन्द्रीय सदस्य राजकुमार गुप्ता प्रदेश सदस्य रीता यादवसहितका नेताहरुले सम्बोधन गरेका थिए । उनीहरुले मधेशीहरुको हकअधिकारका लागि अझै पनि सडकदेखि सदनसम्म संघर्ष जारी राख्नुपर्ने अवस्था रहेकोले आगामी निर्वाचनमा जसपालाई जिताउनका लागि जनताको घरदैलोमा पुगेर निर्वाचनमा जिताउनलाई आग्रह गरे ।

Comment


Related News

Latest News

Trending News