राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको सबै स्वास्थ्य चौकीमा ट्याब वितरण गरिएको छ ।
सोमबार मधेश प्रदेश सरकारका समाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश सरकारकोतर्फबाट सो ट्याब वितरण गरेका हुन् । डिजिटल फैमिली हेल्थ फोल्डर बनाउन आवश्यक सीपसंगै ट्याब वितरण गरिएपछि नगरपालिकाका प्रत्येक परिवारको स्वास्थ्य, शैक्षिक लगायतका सत्य तथ्य डाटा बुझ्न र रेकर्ड राख्न सजिलो हुने मन्त्री साहले विश्वास व्यक्त गरे । यस अघि सोमवार नै अभिमुखी कार्यक्रम मार्फत सीप र ज्ञानबारे प्रशिक्षण दिइएको थियो । आवश्यक समग्रीको अभावमा समस्या भोग्दै आएको बेला ट्याब सहयोगले काममा सहज भएको स्वास्थ्कर्मीहरुले बताए । हनुमाननगर कंकालिनी नगरपालिकाको आयोजना तथा मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा आयोजित अभिमुखी तथा हस्तान्तरण कार्यक्रमका सहभागीहरुलाई मधेश प्रदेशका स्वास्थ्य निर्देशक विजय झा, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनिया लाल यादव लगायतले प्रशिक्षण दिएका थिए ।
सो क्रममा निर्देशक झाले प्राप्त भएको ट्याबको सदुपयोग गर्न आग्रह गरे । नगर उप–प्रमुख सरिता यादवको सक्रियतामा भएको सो कार्यक्रममा मधेश प्रदेशको ८ वटै जिल्लाका १६ वटा स्थानीयतहमा संचालनमा ल्याइएको सामाजिक विकास मन्त्री साहका स्वकीय सचिव राजकुमार यादवले जानकारी दिए ।



