जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्ने क्रममा पक्राउ परेकाहरुलाई सोमबार साँझ रिहा गरिएको छ ।
चुरे तथा वन जंगल संरक्षण अभियान धनुषाको अगुवाइमा दलित भूमिहीनहरुले चुरे क्षेत्रको समस्या समाधान सहितका विभिन्न माग अघि सार्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेका थिए । निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेको भन्दै जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले २७ महिला तथा १२ जना पुरुष गरी ३९ जनालाई सोमबार बिहान पक्राउ गरेको थियो । दिउँसो करिब १२ बजे पक्राउ परेका प्रदर्शनकारीहरुलाई तीन÷चार घण्टापछि छाडिएको जिप्रका धनुषाका सूचना अधिकारी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । सोमबार विभिन्न मागसहित जनकपुरधाममा मधेश प्रदेश सरकार विरुद्ध नाराबाजी गर्दै चुरे तथा वन जंगल संरक्षण अभियानीहरु मुख्यमन्त्री कार्यालय पुगेका थिए । दलित भूमिहीन सुकुम्वासीहरुको न्याय र चुरे वन जंगल संरक्षण सम्वद्र्धन तथा राष्ट्रको सार्वजनिक सम्पत्ति,धार्मिक क्षेत्र,प्राकृतिक सम्पदा जोगाउन तथा भूमाफिया विरुद्ध आन्दोलन गर्दै आएको अभियानले कुनै सुनुवाई नभए पछि कडा आन्दोलनमा उत्रेको जनाएको छ ।
कार्यक्रममा अभियानका अध्यक्ष सुनिल यादवले भूमिहीन सुकुम्वासीहरुको समस्या समाधान गर्दै चुरे वन संरक्षण गर्नको लागि पटक –पटक मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाइ ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभए पछि कडा आन्दोलन गर्न बाध्य बनेको बताए । प्रदेशभरि डेढ लाख भन्दा बढी भूमिहीन सुकुम्वासीहरु रहेको जानकारी दिँदै उनले भने,‘ हामीहरुले सुकुम्वासीको समस्या समाधान तथा चुरे संरक्षणको लागि पटक पटक प्रयास गरेका छौं तर सम्बन्धित निकायलाई कुनै मतलब नै गरेको छैन् ,त्यसैले अब हामी कडा आन्दोलनमा उत्रेका छौं।’ जनकपुर नगर अध्यक्ष अरुण दास र अभियानी कुशेश्वर राउतले भूमिहीनहरुलाई तत्काल भूमि व्यवस्था गर्नु पर्ने,दिन प्रतिदिन चुरे वन जंगलको हुँदै आएको विनाशलाई यथाशीघ्र रोक्नु पर्ने,भूमाफियाहरुले गर्दै आएको नदीजन्य पदार्थको दोहन तत्काल रोक्नु पर्ने लगायतका माग अभियानले अघि सारेको बताए ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=VzR7rinzOeY



