हरिवन । सर्लाही जिल्लामा रहेको एक मन्दिरबाट चोरी भएको मूर्तिसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको हरिवन नगरपालिकाको सुखेपोखरीमा अवस्थित चतुर्भूजेश्वर महादेव मन्दिरबाट चोरी भएको मूर्तिहरु सहित चोरी गरेको आरोपमा एकजना पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मूर्तिहरु चोरी गरेको आरोपमा हरिवन–११ का २० वर्षीय जितेन्द्र बैठा धोवीलाई पक्राउ गरिएको छ । धोवीलाई ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटेको विशेष टोलीले बरहथवा बजारबाट पक्राउ गरेको हो । पक्राउ परेका धोबीलाई मंगलबार सार्वजनिक गरिएको छ । बितेको आईतबार बिहान करिब दुई बजे मन्दिरबाट गणेश, दुर्गा, विष्णु, सुर्य, कुमार, गंगा माताका मूर्तिसहित मन्दिरको घण्टी र पूजा गर्ने थाल तथा आरतीका गर्ने सामानहरु चोरी भएको थियो । धोवीलाई ईलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखी थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ भने चोरी मुद्दामा म्याद थप गराइ अनुसन्धान जारी रहेको बताइएको छ ।

