२०७८ चैत्र १६, बुधबार १०:५७

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौ शिखर सम्मेलनलाई बुधबार सम्बोधन गर्नुहुने भएको छ ।

उहाँले सम्मेलनलाई काठमाडौंबाट भर्चुअल सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताउनुभएको छ । ‘प्रधानमन्त्रीज्यूले बुधबार बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ,’ उहाँले भन्नुभयो ।

शिखर सम्मेलन बुधबार श्रीलंकाको राजधानी कोलम्बोमा हुँदैछ ।

शिखर सम्मेलनअघि मंगलबार कोलम्बोमा बिमस्टेक विदेशमन्त्री स्तरीय बैठक बसेको थियो । बैठकमा परराष्ट्रमन्त्री डा नारायण खड्का सहभागी हुनुभएको थियो । उहाँले बैठकलाई सम्बोधन समेत गर्नुभएको थियो ।
बिमस्टेक शिखर सम्मेलनको दिन बुधबार कोलम्बोमा सदस्य राष्ट्रहरुबीच चारवटा सम्झौतापत्रमा हस्ताक्षर हुने प्रवक्ता लम्सालले जानकारी दिनुभयो ।

लम्सालका अनुसार बुधबार हस्ताक्षर हुने सम्झौतापत्रमा बिमस्टेक बडापत्र, आपराधिक मामिलामा आपसी कानुनी सहायता सम्बन्धी बिमस्टेक महासन्धी, श्रीलंकाको कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापना सम्बन्धी आवद्धताको सम्झौता र कूटनीतिक तालिमका क्षेत्रमा आपसी सहयोग सम्बन्धी बिमस्टेक समझदारीपत्र रहेका छन् ।

Comment


Related News

Latest News

Trending News