२०७८ चैत्र १७, बिहीबार ०७:२७

जनकपुरधाम । चुरे तथा वन जंगल संरक्षण अभियान धनुषाले मधेश प्रदेश सभा अगाडि विरोध प्रदर्शन गरेको छ ।

दलित भूमिहीन सुकुम्वासीहरुलाई तत्काल लालपुर्जा दिनु पर्ने,चुरे वन जंगलको संरक्षण गर्नु पर्ने लगायतको माग अघि सार्दै अभियानको अगुवाईमा भूमिहीन सुकुम्वासीहरुले बुधबार विरोध प्रदर्शन गरेका हुन् । चरणवद्ध आन्दोलनमा उत्रेका दलित भूमिहीनहरुले मुख्यमन्त्री कार्यालयमा पटक– पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाइ नभएपछि प्रदेश सभा घेराउ गर्न बाध्य भएको आन्दोलनका अगुवा अभियानका अभियानी अरुण दास ,कुशेश्वर राउत र लक्ष्मण दासले बताए । आन्दोलनमा उत्रेका भूमिहीन सुकुम्वासीहरुले दिउँसो १२ बजेदेखि २ बजे सम्म सभाको मुख्यद्वारमा धर्ना प्रदर्शन समेत गरेका थिए । अभियानी दासले प्रदेशसभा सदस्य तथा मुख्यमन्त्रीसंग भेंटको लागि समय माग्दा समय नदिएपछि सभाका सदस्यहरुलाई यस विषयमा आवाज उठाई दिन ध्यानाकर्षण गराउने उद्देश्यले सभा अगाडि विरोध प्रदर्शन गरिएको बताए । यस अघि अभियानले सोमबार विभिन्न माग अघि सार्दै मुख्यमन्त्रीको कार्यालय घेराउ गर्न पुगेका थिए । सो क्रममा मुख्यमन्त्री लालबाबु राउतले भेट्ने समय दिएनन भने निषेधित क्षेत्रमा आन्दोलन गरेको भन्दै ३९ जना भूमिहीन सुकुम्वासीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अभियानले दलित भूमिहीन सुकुम्वासीहरुको न्याय र चुरे वन जंगल संरक्षण सम्वद्र्धन तथा राष्ट्रको सार्वजनिक सम्पत्ति,धार्मिक क्षेत्र,प्राकृतिक सम्पदा जोगाउन तथा भूमाफिया विरुद्ध आन्दोलन गर्दै आएको र मधेश सरकारबाट कुनै सुनुवाई नभए पछि प्रदेशसभा घेराउ गर्न पुगेको बताउंदै अभियानी सुनिल यादवले भने,‘विगतमा चुरे अभियानी दिलिप महतोलाई शहीद घोषणा गर्नु पर्ने र परिवारलाई एक जनालाई जागिर दिनु पर्ने लगायतको कुनै सुनुवाई नभए पछि हामी कडा आन्दोलनमा उत्रेका हौं । ’ मारुती सिमेन्ट कम्पनीले जग्गा मिचेको अभियानको विरोध पछि बनेको छानबिन समितिले प्रतिवेदन समेत तयार भएको पाँच महिना बढी भइसकेको बताउंदै प्रतिवेदन सार्वजनिक नगर्नुले सरकारको रवैया प्रष्ट भएको आरोप समेत अभियानीहरुले लगाएका छन् । मधेश प्रदेशभरि डेढ लाख भन्दा बढी भूमिहीन सुकुम्वासीहरु रहेको जानकारी दिँदै अभियानका नगर अध्यक्ष अरुण महतोले भने ,‘हाम्रो समस्या हेर्ने कोही भएनन,त्यसैले बाध्य भएर प्रदेश भवन घेराउ गर्न पुग्यौ कमसेकम ध्यानाकर्षण त हुने हो ,आवाज त उठ्छ । हामी दलित भूमिहीनहरुको लागि न्याय माग्दै आन्दोलित भएका छौं।’ यता प्रदेशसभा सभामुख सरोज कुमार यादव, सदस्य एवं उद्योग, वन पर्यटन तथा वातावरण मन्त्री शत्रुधन महतो लगायतका प्रदेशसभा सदस्यहरुले चुरे संरक्षण,दिलिप महतोलाई शहीद घोषणा गर्नु पर्नेलगायतका माग बारे संसदमा विषय प्रवेश गराउने प्रतिवद्धता व्यक्त गरे ।

वन मन्त्री महतोले मारुति सिमेन्ट फ्याक्ट्रीले अवैध रुपमा कब्जा गरेको सम्बन्धी छानबिन प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको अभियान अरुण महतोले बताए । आवश्वासन पछि प्रदेशसभा घेराउ कार्यक्रममा समाप्त भएको थियो । बितेको शनिबार अभियानले जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी चरणवद्ध आन्दोलनबारे जानकारी गराएको थियो ।

Comment


Related News

Latest News

Trending News