अपडेट 
२०७८ चैत्र १८, शुक्रबार ०७:३०

यस लेखमा सबैभन्दा पहिले ऋषि गौतम, ऋषि पत्नी अहिल्या तथा स्वर्गका राजा इन्द्रको बारेमा जान्नु आवश्यक देखिन्छ । ऋषि गौतम प्राचीनकालीन एक अति उच्च सम्मानित ऋषि थिए । वहाँ न्यायशास्त्र बनाउने प्रसिद्ध ऋषि थिए । वहाँको उचाई देखेर नै सप्तऋषिको समूहमा लिपिबद्ध गरेका थिए । वहाँ अहिले पनि अमर हुनुहुन्छ । हामी आकासमा सधैं सप्तऋषितारा समूहलाई हेरेर वहाँहरूलाई सम्झिरहेका हुन्छौं । वहाँको पत्नीको नाम अहिल्या थियो । अहिल्या आफ्नो धर्म कर्मले अहिले पनि सबैका मनमा ताजै रहेकी छन् । अहिल्या शब्दलाई खण्डित गरेर हेर्नु पर्दा हल्याको अर्थ दोषरहित अर्थात अहल्या देवी अपूर्व स्त्रीको रूपमा हामी सम्झन्छांै । सर्बगुण सम्पन्न स्त्रीलाई मात्र अपूर्व स्त्री भनिन्छ । अहिल्यामा यी सबै गुण विद्यमान थिए ।

इन्द्रतिर जाँदा इन्द्र भनेको देवताको राजा अर्थात स्वर्गको राजा, एक सम्पत्तिशाली तथा एश्वर्यवान राजा समेत भनेर जानिन्छ । यसरी यी तिनैको के कस्तो सम्वन्ध छ त्यसलाई संक्षिप्तमा विश्लेषण गर्ने प्रयास हुनेछ । यसको कथातिर जाँदा ऋषि गौतम, ऋषि पत्नी अहिल्या र देवराज इन्द्रका कथालाई निकै रोचक साथ लिने गरिन्छ । हाम्रा सनातन धर्म अनुसार पृथ्वमिा पाइने सबै जीव जन्तुका निर्माणकर्ता ब्रह्मालाई मानिन्छ । ब्रह्माजीले संसारका स्त्रीहरूलाई समान सुन्दर बनाएर सृष्टि गर्न चाहन्थे तर यस्ता समानताबाट व्यक्तिगत पहिचान मिट्ने तथा व्यभिचार बढ्ने भान भएकाले सृष्टिमा महिला पुरूषको बेग्ला बेग्लै अंगलाई सुन्दर बनाइ एक–अर्कोको वीचमा विभिन्नता ल्याए । यसरी सुन्दरताको खानीका रूपमा ब्रह्माले अहिल्यालाई निर्माण गरेका थिए । वहाँको जीउलाई वर्णन गर्दा राम्रो हस्त, राम्रो पाऊ, राम्रो उदर, राम्रो कर्ण, राम्रो चक्षु, राम्रो नासिका, राम्रो ओष्ट, राम्रो आनीबानी, राम्रो चरित्रलाई कल्पना गरी सृष्टि गरेका थिए । अहिल्यालाई एक चोटी हेर्नै वित्तिकै जो पनि आकर्षित हुन्थे । सृष्टिमा व्यभिचार बढ्ने सोचेर नै सृष्टिमा सुन्दरीहरूका बेग्ला बेग्लै अंगलाई सुन्दर बनाइ महिला निर्माणमा विभिन्नता ल्याए । विभिन्न अंगहरूमध्ये कुन सुन्दर छ या कुन कुरूप छ भन्दा सबै सुन्दरै वा सबै कुरूपै प्रमाणित हुन जान्छन् । ब्रह्माले व्यक्तिलाई निर्माण गर्दा प्रत्येकमा एउटा न एउटा गुण प्रदान गरेका छन् । यस लेखका लेखक २०२७ साल ताका एसएलसीमा ओएल नेपाली छनौट गरेका थिए । त्यसमा एउटा गद्यको नाम थियो ‘जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ’ ।

कविले त्यसमा के देखाउने प्रयास गरेका थिए कि बादल जस्तै प्रत्येक मानिसमा एउटा न एउटा विशेष गुण प्राप्त हुन्छ । एक चोटी कुनै एउटा मूर्ति कलाकारले आफुलाई जाँच्न दुईवटा समान रूपसौन्दर्यका मूर्तिहरू बनाएर दुबै मूर्तिलाई चौबाटोमा ठड्याएर त्यहाँ दुईटा सूचना टाँस गरि दियो । त्यसमा के लेखेको थियो भने वटुवा महानुभावहरू तपाईलाई यी दुबै मूर्तिहरूमा पहिलो कुन अंग राम्रो तथा दोश्रोको कुन अंग नराम्रो लाग्छ ती सूचनाका कागजातहरूमा टीक मार्क लगाएर आ– आफ्ना मन्तव्य प्रकट गर्नु होला । दुई चार दिन पछि उ कलाकार हेर्न आउँदा पहिलोमा सबै अंग राम्रा र दोश्रोमा सबै अंग नराम्रा टिक लागेको पाइयो । यसबाट के प्रमाणित हुन्छ भने एउटालाई राम्रो लागेको अंग अरूलाई नराम्रो लाग्न सक्छ । यसरी कुनै पनि मानिस सर्बगुण सम्पन्न हुँदैन । यसैलाई हेरेर ब्रह्माका कुरालाई उल्लेख गर्दा के देखाइएको छ भने एउटी नारीलाई सर्वगुण सम्पन्न बनाउँदा पनि उ कुनै न कुनै अनेक अवगुण बोकेर आएकी हुन्छे । मानिसको हेराइमा भिन्नता देखिन्छ । ब्रह्माले स्त्रीको निर्माण गरेर विश्वलाई माथिको कुराबाट पुष्टि गर्ने प्रयास गरेका थिए । यस्ता दोष रहित अर्थात अपूर्व स्त्रीको नाम हो अहिल्या । ब्रह्माले यस्ता अपूर्व स्त्रीलाई कसले ठीक रूपले राख्न सक्छ भने एक छिन मनमा सोची अहिल्यालाई उत्तम ऋषिको जिम्मा लगाए । उत्तम ऋषि १००० वर्ष पछि ती कन्यालाई ब्रह्माजी कहाँ बुझाउन ल्याए । अब ब्रह्मालाई पनि एउटी उमेर पुगेकी छोरीलाई कति दिन यसरी राख्नु सोचेर गौतम ऋषिसँग विवाह गराउने सोच बनाए ।

ब्रह्मा गौतम ऋषिको अनुशीलता, सच्चरित्रता र सत्यपराणता देखेर प्रशन्न भइ गौतमलाई सबैभन्दा उत्तम बर ठानी उनीसँग अहिल्याको विवाह गरी गृहस्थी जीवन विताउन सल्लाह दिएर कन्याको भारबाट आफू मुक्त भए । यस्ता कुरा ब्रह्म पुराणमा समेत विस्तारपूर्वक उल्लेख छ । अहिल्याको सुन्दरता र गुणवतालाई हेरेर धेरैले आँखा लगाएका थिए । देवराज इन्द्र पनि अघिदेखि नै आँखा गराएका थिए । उत्तम ऋषिबाट ल्याएर जब गौतम ऋषिसँग अहिल्याको विवाह गरि दिएपनि इन्द्रलाई यो कुरा मन परेको थिएन । इन्द्रमा के अहम्ता थियो भने म देवलोकका राजा हु । म भन्दा ठूला कोही पनि छैन । कसरी ब्रह्माले मलाई न सोधी गौतम जस्ता बनवासी ऋषिसँग विवाह गरिदिएका हुन् । त्यसै दिनदेखि देवराज इन्द्रले अहिल्यासँग यौन सम्वन्ध कायम गर्ने प्रण गरेका थिए । त्यसै अनुरूप एक दिन गौतम ऋषि स्नानार्थ नदीमा गएको बेला मौका छोपी गौतम ऋषिको रूप धारण गरेर अहिल्याको उत्तम प्रतिब्रत्य धर्मलाई नष्ट गरेका थिए । यसलाई गौतम ऋषिले थाहा पाएपछि अहिल्या उतौली तथा रूपबती भएको कारणले इन्द्रले यौन क्रिया गर्यो । यस घृणित पापको कारणले इन्द्रलाई गौतम ऋषिले तेरो रूप सबै स्त्रीमा बाँडियोस् अर्थात तिम्रो पुरै शरीरमा यौनाङ्ग भैदियोस् भने श्राप दिनु भयो । यता अहिल्यालाई पत्थर हुने श्राप दिए पछि अहिल्याले भनिन कि म आफू अज्ञान रहेको भन्दै अपराध क्षमा पाउन आर्तनाद गरेपछि त्रेतायुगमा भगवान रामको स्पर्शबाट तेरो उद्धार होला भनी श्रापोद्वारको वरदान दिइ आफू तपस्या गर्न वनतिर लागे ।

त्यसै श्रापको मोक्षताका लागि भगवान राम गंगा किनारमा गएर उद्धार गरेका थिए भने कुरा बाल्मिकीद्वारा लिखित रामायणमा बर्णित छ । उद्धारपछि शिलारूपिणी अहिल्या पुनः सुन्दर स्त्रीमा परिणत भइन् र भगवान राम, लक्ष्मण तथा विश्वामित्रलाई स्तुति गरी पवित्र भइन् । श्रीरामले उनलाई पुनः गौतम ऋषिको जिम्मा लगाएका कुरा हाम्रो पुराणहरूमा समेत वर्णित भएको पाइन्छ । यस्ता अनेक कथा छन् जहाँ भगवानको स्पर्शले आ–आफ् ना श्रापबाट उन्मुक्ति पाएका छन् । अहिले पनि विश्वका लगभग सबै देशमा स्त्रीको अनुमति विना यस्ता यौन क्रिया गर्दा श्राप अर्थात दण्डको भागिदारी बन्नुपर्ने हुँदो रहेछ । नेपालमा बलात्कार गर्ने व्यक्तिलाई जन्म कैद सम्मको व्यवस्था संविधानमा उल्लेख छ भने भारतीय संविधानले मृत्युदण्ड समेतको व्यवस्था गरेको देखिन्छ । अहिले हाम्रो समाजले पूर्वीय संस्कृतिलाई त्याग्दै पश्चिममेली संस्कृतितिर लम्केका छन् । यस्ता संस्कृतिबाट हाम्रो समाजको खम्बा भत्किन बेर लाग्दैन भने कुरा बुझ्नु पर्दछ । अहिले गर्लफ्रेण्ड, बाँयफ्रेण्ड तथा लिभिङ्ग टुगेदरको अवधारणा हाम्रो संस्कृतिको देन कदापि होइन । पक्कै यी कुराहरू पश्चिम संस्कृति कै देन रहेछन् । हाम्रा प्राचीन पूर्वीय संस्कृतिले दिएका ज्ञान अनुसार हाम्रो समाजमा पति र पत्नीको स्थान निकै उच्च छ । पति पत्नी प्रति र पत्नी पति प्रति सधै विश्वास र श्रद्धा राखी सम्मान गरेका हुन्छन् र जीवन भर पतिब्रता÷पत्नीब्रता धर्मलाई आत्मसात गरेका हुन्छन् ।

राजा महाराजामा यस्ता व्यवहार प्राचीन कालदेखि वर्तमानसम्म निरन्तर चल्दै आइरहेका छन् । देवराज इन्द्र पनि त्यस्तै यैयासी जीवन व्यतित गर्थे । त्यसका कैयौं उदाहरण हाम्रा शास्त्रहरूमा पाइन्छन् । हाम्रो देशमा न त अब कुनै राजा छन् न त कुनै राणा । अहिले नेपाल एउटा लोकतान्त्रिक गणतन्त्र भै सकेको छ । यस्ता व्यवस्थामा देशको शासन चलाउने जनता नै हुन्छन् । जनताबाट जनताको दुःख नबुझ्नु भनेका यो भन्दा ठूलो विडम्बना अरू के हुन सक्छ । अहिले पनि दिनदहारै नेपाली चेलीबटी बलत्कृत भइरहेकी छन् भने कति विदेशी बजारमा बेचिएकी छन् । महिलाले सुरक्षाको अनुभूती गर्न सकिरहेकी छैनन् । हाम्रा संस्कृति अनुसार महिला त पुज्यनीय आमा, दिदी, बहिनी, छोरी, बुहारी आदि रूपमा हाम्रा साथ दिइरहेकी छन् । हाम्रा संस्कृतिका बलिया खम्बा महिलाहरू हुन् । अहिले पनि इन्द्र जस्तो छद्मवेशी तथा बलात्कारी नेपालमा हजारौंका संख्यामा जताततै दिनदहारै घुमी रहेका छन् । प्रशासनले उनीहरूलाई नियन्त्रण गर्नु जरूरी छ ।

यदि नियन्त्रण गर्न सकेनौ भने भोलीका चेली बेटीहरूलाई हामी सुरक्षित गर्न सक्दैनौं र देश एउटा ठूलो बलात्कारीको देश बन्नेछ । तसर्थ सरकार हाम्रा चेलीबेटी माथी पूर्ण ध्यान दिई सुरक्षित जीवन विताउन पाउने अधिकारलाई सुरक्षित गर्नु पर्दछ । अहिले देशको माँग पनि यही हो । सुरक्षा विनाको देशको अवस्था दिनप्रतिदिन विग्रिदै जान्छ र देश गृहयुद्धमा फस्न बेर लाग्दैन । लेखक त्रिविका सेवानिवृत सह–प्राध्यापक तथा अन्वेषक हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News