जनकपुरधाम ।नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा तीन दिने औपचारिक भारत भ्रमणको क्रममा शुक्रवार नयाँ दिल्ली पुगेका छन् ।
प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच शनिवार बिहानदेखि भेटवार्ता हुनेछ । नयाँदिल्ली स्थित हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीले ‘वान टू वान’ र प्रतिनिधि मण्डल स्तरीय भेटवार्ता गर्ने छन् ।सो क्रममा नै प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा नेपालको एकमात्र रेलसेवालाई ‘भिडियो कन्फ्रेन्सिंग’बाट उद्घाटन गर्ने छन् । भारतको जयनगरस्थित नेपाली रेलवे स्टेशनमा हैदराबाद हाउसबाट प्रधानमन्त्रीद्वय देउवा र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर रेल सेवाको शुभारम्भ गर्ने छन् ।रेल सेवा शुभारम्भको कार्यक्रम ५ मिनेट लामो हुने बताइएको छ । भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था– जनकपुरधाम–जयनगर ३५ किलोमिटर लामो रेलमार्गमा दुई सेट यात्रुवाहक रेल गुड्ने छन् ।भारतीय पक्षले रेलको सम्पूर्ण पूर्वाधार तयार गरी परीक्षण समेत गरिसकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको वर्ष दिन बढी भइसकेपछि नियमित सेवाको शुभारम्भ हुन लागेको छ ।
प्रधानमन्त्री देउवा प्रधानमन्त्री मोदीले दिल्लीबाट हरियो झण्डा देखाएपछि भारतको जयनगरबाट रेल जनकपुरधाम हुँदै कुर्था सम्मका लागि प्रस्थान गर्नेछ ।पहिलो चरणमा जयनगरदेखि कुर्था सम्म मात्र रेल सेवा सञ्चालन हुनेछ ।हाल बिहान र साँझ गरी दुईवटा सेवा सञ्चालन हुने नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जनाए । दोस्रो चरणमा कुर्थादेखि बिजलपुरा सम्मको १८ किलोमिटर खण्डमा रेल सेवा सञ्चालन हुनेछ ।तेस्रो चरणमा बिजलपुरादेखि बर्दिबास सम्मको १७ किलोमिटरमा रेल सञ्चालन हुनेछ ।नेपालमा यो रेल नै पहिलो हो ।शनिवारदेखि सञ्चालनमा आएपछि नेपालमा पनि रेल चल्नेछ । वि.सं.१९९४मा तत्कालीन भारतीय शासक अंग्रेजले नेपालबाट सखुवाको काठ ढुवानीका लागि रेल चलाएका थिए । राणा शासनको अन्त्यसँगै रेल यात्रु र मालसमान ढुवानीका लागि प्रयोगमा आएको थियो ।२०७० सालमा बन्द भएको रेल ८ वर्ष पछि पुनःसञ्चालनमा आएको छ । नेपाल र भारतबीचको सम्बन्धलाई रेल सेवाले थप प्रगाढ बनाउने दुबै देशको विश्वास छ । प्रधानमन्त्री देउवा शुक्रवार नयाँदिल्ली पुगेपछि उनी बसेको चाणक्यपुरी स्थित होटेल आईटीसी मौर्यमा भारतीय विदेश मन्त्री एस जयशंकरले भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री देउवा विदेशमन्त्रीसितको भेटपछि भारतीय जनता पार्टी(भाजपा)को नयाँ केन्द्रीय कार्यालय भवनमा पार्टी अध्यक्ष जेपी नड्डासित भेटवार्ता गरे । भाजपा कार्यालयमा अध्यक्ष नड्डाले नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई स्वागत गरेका थिए ।दुबै पक्षबीच आपसी सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री देउवाको सम्मानमा नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्री भोजमा नेपाली प्रतिनिधि मण्डलसहित त्यहाँ रहेका नेपालीहरुको सहभागिता रहेको थियो । प्रधानमन्त्री देउवाको भ्रमण दलमा देउवा पत्नी आरजु देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल, कृषिमन्त्री महेन्द्र राय यादव र घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश सिंहसहित विभिन्न मन्त्रालयका सचिव र अधिकारी सहित ५० जना सहभागी छन् । प्रधानमन्त्री देउवाको भारतीय समकक्षी मोदीसितको भेटवार्ता अगाडि बिहान महात्मा गाँधीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा दुईदेशबीच केही सम्झौताहरु हुन सक्नेछ ।उर्जा, कृषि, स्वास्थ्य क्षेत्रमा भारतले थप सहयोग गर्ने दुईपक्षीय सम्झौता हुने संभावना छ ।



