जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सडक पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छिन् ।
धनुषाको हंसपुर नगरपालिकामा रहेको अमारी नदीमा नवनिर्मित पुलको शुक्रबार उद्घाटन कार्यक्रममा मन्त्री यादवले सडक पूर्वाधारको विकास बिना मुलुकको विकास र समृद्धि सम्भव नभएकाले सडक पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको बताइन् । नेपालका हरेक सहर र गाउंलाई सडक सञ्जाल मार्फत जोड्ने सरकारको नीतिअनुरूप नै अहिले देशभरि तीव्ररूपमा सडक र पुल निर्माण कार्यले तीव्रता पाएको उल्लेख गर्दै मन्त्री यादवले सडक पूर्वाधार निर्माणसँगै मुलुक आर्थिक विकासले गति लिने विश्वास व्यक्त गरिन् । शहरी विकास मन्त्रालयको कूल नौ करोड ५० लाखको लागतमा भैरव कन्स्ट्रक्सन प्रालिले सो पुल निर्माण गरेको सडक डिभिजन कार्यालय धनुषाका प्रमुख इञ्जिनीयर सञ्जयकुमार मिश्रले जानकारी दिए । मन्त्री यादवले शुक्रबारै धनुषा र महोत्तरी जोड्ने ४ सय मिटर लामो रातो खोला पुल र धनुषाको मुखियापट्टी मुसहरनियाँ कुकुरधारी पुलको पनि उद्घाटन गरेका थिए ।



