जनकपुरधाम ।मधेश प्रदेशमा सत्ता गठबन्धनदलहरुको आइतवार बैठक बस्ने भएको छ ।
नेपाली कांग्रेसको जनकपुरधामस्थित प्रदेश कार्यालयमा मध्यान्ह १२ बजे गठबन्धन दलहरुको बैठक बस्ने जनता समाजवादी पार्टी( जसपा)का मधेश प्रदेश अध्यक्ष रामबाबु यादवले जनाएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा प्रदेशका पालिकाहरुमा मिलेर कसरी जाने विषय प्रमुख एजेण्डा रहेको उनले बताए । गठबन्धन दलका नेताहरुका अनुसार सहमति हुन सकेको पालिकामा संयुक्त रुपमा नै चुनावमा जाने र सहमति हुन नसकेको पालिकामा मित्रतापूर्ण प्रतिस्पर्धा गर्नेमा सहमति छ ।तर नेकपा एमालेको अवस्था राम्रो रहेको पालिकामा संयुक्त रुपमा नै उम्मेदवार उठाउनेमा गठबन्धनका नेताहरुबीच विवाद छैन् । मधेश प्रदेशमा सत्तारुढ गठबन्धन दलहरु मध्ये जसपाको अवस्था सुदृढ छ ।नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एसको अवस्था क्रमिक रुपमा राम्रो छ । वीरगञ्ज महानगरपालिकामा जसपाले मेयरका लागि उम्मेदवार घोषणा गरिसकेको अवस्था छ ।नेपाली काँग्रेसले पनि त्यसमा दाबी गरेको छ ।माओवादी केन्द्र र नेकपा एसको अवस्था वीरगञ्जमा जित्न सक्ने छैन् ।त्यहाँ नेकपा एमालेले पनि वर्तमान मेयर विजय सरावगीलाई उम्मेदवार घोषणा गरिसकेको अवस्था छ ।तालमेलमा एमालेलाई लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)ले साथ दिन सक्ने संभावना छ ।
गठबन्धनलाई कलैया नगरपालिकामा तालमेलमा धेरै समस्या नदेखिने भएको छ ।त्यहाँ काँग्रेसको मेयर जितेको छ ।जसपा निकटतम् प्रतिद्वन्दी रहेको थियो ।जितपुर सिमरा उपमहानगरपालिकामा एमालेले जितेकाले त्यहाँ नेकपा एसले दावी गरेको छ । तर गत चुनावमा काँग्रेस नै प्रतिस्पर्धी रहेको थियो ।जनकपुरधाम उपमहानगरपालिकामा मेयर जसपासित छ ।नेपाली काँग्रेसका उम्मेदवार भारी मतान्तरले पराजित भएपनि दोस्रो स्थानमा रहेको थियो ।यस पटक नेकपा एसाले पनि दावी गरेको छ ।तर जनकपुरधाममा माओवादी र एस कमजोर रहेको छ । तीन उपमहानगर र एक महानगरमा गठबन्धन दललाई तालमेल मिलाउन धेरै समस्या नदेखिएपनि अन्य पालिकाहरुमा तालमेल गर्न सहज पनि छैन् ।मधेश प्रदेशमा सिट बाँडफाँडमा तालमेल गर्न जसपा र काँग्रेसबीच नै रस्साकस्सी छ । यता नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण यादवले आवश्यकता अनुसार तालमेल हुने जानकारी दिए ।



