२०७८ चैत्र २१, सोमबार ०८:११

वीरगञ्ज, २० चैत । पर्साको बहुदरमाई नगरपालिकामा दुई पक्षबीच झडप भएको छ ।

नेकपा एमाले नगर कमिटीले नगरपालिकाले पछिल्लो आर्थिक वर्षमा गरेको खर्चको विवरण माग गर्दा नगरपालिकामा दुई पक्ष बीच झडप भएको थियो । चैत १० गते नेकपा एमाले नगर कमिटीले नगरपालिकाले गरेको खर्च विवरण माग गर्दै १३ सूत्रीय मागसहित ज्ञापन पत्र बुझाएको थियो । नगरपालिकालाई ४ दिनको अल्टिमेटम दिए पनि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले पुनः ३ दिनको म्याद मागेका थिए । सोही अनुसार १७ गते पुनः जाँदा पनि नगरपालिकाले तथ्यांक नदिएर उल्टै २० गते आउन भनेको नेकपा एमालेका नेता शिव पटेलले बताए । पटेलका अनुसार आइतबार नगरपालिकामा पुग्दा नगरपालिकाको प्रवेशद्वारमै नगरप्रमुख नितेन्द्र साह तेलीले आफ्ना कार्यकर्तालाई लगाएर भित्र प्रवेश गर्न नदिँदा झडप भएको थियो । झडपका क्रममा नेकपा एमालेका नेता एवम् नगरपालिकाको नगरप्रमुखकका प्रत्याशी पटेलमाथि पनि हातपात भएको प्रत्यक्षदर्शीहरुले बताए । जनताको पहरेदारको रुपमा जनप्रतिनिधिलाई खबरदारी गराउने र नागरिकको सूचना पाउने अधिकारको सदुपयोग गर्दै सूचना माग गर्दा पनि नदिएको नेता पटेलको भनाइ छ । ‘पारदर्शीपूर्वक काम भएको भए तथ्यांक उपलब्ध गराउन किन डर ? बहानाबाजी गरेर नदिने र उल्टै सूचना माग्न जाँदा भाडाका गुण्डा लगाएर हातपात गर्न खोज्ने ?’ उनले प्रश्न गरेका छन् ।

यसअघि पनि ४ वर्षदेखि पटक– पटक नगरपालिकाको आम्दानी र खर्च विवरण सार्वजनिक गर्न अपिल गर्दा पनि नगरेको र सूचना पनि उपलब्ध नगराएको पटेलको आरोप छ । प्रशासनको बलमा नेता एवम् कार्यकर्तालाई कुटपिट गरेको पटेलले बताए । नगरपालिकामा ताल्चा लगाउने उद्देश्यले पुगेका एमालेका नेता कार्यकर्ताहरुलाई रोकेर ताला लगाउन नदिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए । सामान्य धक्कामुक्की भए पनि सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिका कारण कुनै मानवीय क्षति नभएको बस्नेतले बताए । जिल्ला प्रहरी कार्यालय पर्सा, ईलाका प्रहरी कार्यालय पोखरिया र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीसँगै सशस्त्र प्रहरी पुगेर सुरक्षा व्यवस्था कडा भएपछि झडप हुन नदिएपछि भीड तितर वितर भएको बस्नेतले जानकारी दिए ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=hd4sIgvcOh8

Comment


Related News

Latest News

Trending News