गरुडा । रौतहटको कटहरिया नगरपालिका–३ विर्ती प्रस्टोकाका किसान नर्सरी व्यवसाय गरी आत्मनिर्भर बन्न थालेका छन् ।
यहाँका प्रायःजसो व्यक्ति नर्सरी व्यवसाय गरेर नै जीविकोपार्जन चलाउने गरेका छन् । नर्सरीबाट राम्रो आम्दानी हुने भएपछि युवाहरु अन्य पेशा छाडेर नर्सरी व्यवसाय तर्फ उन्मुख भएका छन् । थोरै लागत र मिहिनेतबाट बढी आम्दानी हुने भएपछि युवाहरुले आफनै गाउं ठाउँमा विभिन्न प्रजातिका विरुवा उत्पादन गरेर नै वार्षिक २५ करोड रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । विर्ति प्रस्टोकामा करिव ७० बिघा भन्दा बढी क्षेत्रफलमा विभिन्न प्रजातिका विरुवाको खेती गरिएको छ । उक्त गाउंका किसानहरु नर्सरी व्यवसायलाई पुख्र्यौली पेशाको रुपमा अपनाएका छन् । विगतको दिनमा परम्परागत खेतीले वर्षभरि खाना नपुग्ने जग्गामा अहिले लाखौंको आम्दानी भइरहेको नर्सरी व्यवसायीहरु बताउँछन् । उनीहरुले थोरै जग्गामा मौसम अनुसारको फलफूलको बिरुवा उत्पादन गरेर बिक्री गर्दा राम्रै आम्दानी गर्न सफल भएका छन् । विर्ति प्रस्टोकाका किसानहरु आँप, लिची, कटहर, कागती, सुन्तला, स्याउ, अम्बा, नासपाती, अनार, केरा, टिमुर, अलैँची, ओखर, एभोकाडो, नरिवल, सुपारी, सपोटा, ल्वाङ, अमिलो लगायतका फलफूल बिरुवा उत्पादन गर्दै आएका छन् । त्यस्तै बकाइनो, टाँकी, बडहर, किमु, बाँस सिसौ, सिमल, जामुन, टिक, पलोनिया, रुद्राक्ष, रक्तचन्दन लगायका विरुवा पनि उनीहरुले उत्पादन गर्दै आएका छन् । घर सजावटका बिरुवामा अशोक, समी, धुपी चाइनापान, इरकापान, एरोकेरिया, पनिस पान, साइकस, निलोना, गुडल, चाँदनी, हेपिकस, हेमेलिया, असारे, लालुपाते, गुलाब लगायतका बिरुवाको उत्पादन नर्सरीहरुमा हुँदै आएको छ ।
त्यहाँ उत्पादन भएको विरुवाहरु रौतहट सहित देशैभरि खपत हुने गरेको छ । त्यहाँ नर्सरीबाट करिब ५ सय मजदुरले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । विर्ति प्रस्टोका घर भएका खेन्हा राय यादवले आफना ३ विघा खेतमा आँप, कटहर, स्याउ, सुन्तला लगायत प्रजातिका विरुवा लगाएका छन् । विरुवा उत्पादन गरेर नै वार्षिक २० देखि ३० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका यादव उदाहरणीय बन्न सफल भएका छन् । सुरु सुरुमा यादव नर्सरी तथा फलफुल उद्योग दर्ता गरेर व्यवसाय सञ्चालन गर्दा उनले धेरै चुनौतीको सामना गर्नु परेको क्षण सुनाउँछन् । उनलाई बिरुवा बिक्री गर्न निक्कै समस्या भएको थियो । यादवले भने,‘बिरुवा उत्पादन त भए तर कुनै ग्राहक आएनन् । आफै विरुवा बिक्री गर्न बजार र गाउँ घरमा खटिएपछि थोरै बिक्री भए ।’ बिरुवा बिक्री नहुँदा यादवले पहिलो वर्ष केही घाटा व्यहोर्नु परे पनि हिम्मत भने हारेनन् । दोस्रो वर्षदेखि ग्राहकको रोजाइमा पर्ने बोट बिरुवा उत्पादन गरेपछि सहजै बिक्री हुन थालेको र यसबाट राम्रो आम्दानी पनि भइरहेको उनले बताए । पैसा कमाउन विदेशनै जानुपर्छ भन्ने होइन मान्छेमा एउटा न एउटा सीप हुन्छ उक्त सीपलाई प्रयोगमा ल्याउन सक्ने हो भने स्वदेशमै बसेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उनको अनुभव छ । घर खर्च, छोराछोरीको पालनपोषण तथा पढाई खर्च र मजदुरलाई पारिश्रमिक दिएर राम्रो आम्दानी भइरहेको उनी बताउँछन् । उनी भन्छन्, ’केही गर्छु भन्ने इच्छाशक्ति हुने हो भने विदेश होइन स्वदेशमै प्रशस्तै पैसा छ।’ किसान विद्यानन्द यादव पनि व्यवसायिक रुपमा अत्याधुनिक प्रविधिबाट गुणस्तरीय विरुवा उत्पादन गरी देशका विभिन्न जिल्लामा विक्री वितरण गर्दै आएका छन् । यादवले वार्षिकरुपमा नर्सरीबाट १ देखि २ करोड रुपियाँ सम्म आम्दानी गर्दै आएका छन् ।
यादवले यसवर्ष नेपालमै पहिलो पटक वर्षमा तीन पटकसम्म फल्ने र बढी उत्पादन हुने नयाँ प्रजातिका आँप, लिची, कटहर, कागती लगाएतका फलफूलको विरुवा भारतबाट ल्याउने योजना बनाएका छन् । नर्सरीमा काम गर्ने मजदुर, प्लाष्टिक झोला, बिरुवाको बीउ, सिँचाइ, मल, विषादीसहितमा खर्चेर पनि राम्रै आम्दानी भइरहेको उनले बताउँछन् । । उनको नर्सरीमा १० जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् । अर्का किसान राम ध्यान यादवले अन्न र अन्य व्यावसायिक खेती भन्दा नर्सरी व्यवसायबाट बढी आम्दानी लिन सकिने भएकाले नर्सरी व्यवसाय नै अँगालेका छन् । सिजनमा देशका विभिन्न ठाउँका व्यवसायीहरुले विरुवा लिन गाडीसहित घरमै आउँने गरेको उनले बताए । तराईकाभन्दा पहाडी जिल्लामा यहाँ उत्पादित बिरुवाको बढी माग हुने गरेको बताउँदै उनी नर्सरीले जीवनमा परिवर्तन ल्याएको र रोजगारीको खोजीमा बर्षेनि देश बाहिर जानुपर्ने बाध्यता पनि अन्त्य भएकोमा हर्षित छन् ।



