राजविराज । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले एकै दिन संयुक्त रुपमा सप्तरीका चार वडा सडकको शिलान्यास गरेका छन् ।
आइतबार छुट्टा–छुट्टै स्थानमा राजविराज–दिघवा–बिरौल– झल्ही फर्सैठ–सिंगियोन–तिलाठी, चट्टी टोल–लोखरम–लालापट्टी, महदेवा–पकरी–तोपा–राजविराज र भारदह–डाढा–पकरी–राजविराज दुई लेन सडकको संयुक्त रुपमा शिलान्यास गरिएको छ । चारवटै सडकका लागि मन्त्रालयले ९० करोड भन्दा बढी रकम विनियोजन गरेको जानकारी दिइएको छ । टेण्डर प्रक्रिया सकिएको उक्त सडकहरुको निर्माण अवधि २४ महिना तोकिएको छ । जसपा अध्यक्ष यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री दुबैको निर्वाचन क्षेत्र र गृह जिल्ला सप्तरीमा एकै दिन चार वटा सडकको शिलान्यास गरिएपछि स्थानीयहरु उत्साहित भएका छन् । जसपा अध्यक्ष यादवले चारवटै सडक निर्माण कार्य समयमै सम्पन्न हुने र यहाँको विकासमा तीव्रता आउने विश्वास व्यक्त गरे । “वर्षौदेखि उपेक्षित र विभेदको शिकार हुँदै आएका मधेशी, आदिवासी, जनजाती, मुस्लिम लगायतका पिछडिएका वर्गका लागि सडक, शिक्षा र स्वास्थ्यको उचित व्यवस्था हुनुपर्नेमा उनले जोड दिए । उनले सडक निर्माण विकासको पूर्वाधार समेत रहेको भन्दै हाल शिलान्यास गरिएका सडक निर्माण कार्य पूरा भएपछि जिल्लाका गाउं–गाउंमा समेत विकासले गति लिने बताए । उनले गजेन्द्र नारायण सिंह अस्पतालमा चार सय शैय्याको विस्तारसँगै नवनिर्मित नर्सिङ कलेजबाट आगामी शैक्षिक सत्रदेखि पठनपाठनको व्यवस्थासमेत सुचारु हुने जानकारी दिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सडक, शिक्षा र स्वास्थ्य मुख्य तीन विषय नै कुनै पनि मुलुकको विकासको आधार हुने भएकाले यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् । उनले सडकहरुको विस्तारले यहाँको कारोबार बढ्न गइ आर्थिक चहलपहल समेत बढ्ने र जिल्लाको समग्र विकासमा ठूलो टेवा पु¥याउने विश्वास व्यक्त गर्दे समयमै उक्त सडकहरु बनाइ सक्ने प्रतिवद्धता पनि जनाइन् । शिलान्यास समारोहमा मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र साह, संघीय सांसद डा. सूर्यनारायण यादव, प्रदेशसभा सदस्य मनिष सुमन सहित सहभागी भएका थिए । त्यसै गरी जसपाका केन्द्रीय सदस्य अमरनाथ मण्डल, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, हनुमाननगर कंकालिनी नगरपालिकाकी उपप्रमुख सरिता यादव, जिल्ला अध्यक्ष केदार यादव लगायतका नेता तथा स्थानीयवासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।



