बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम मधेश प्रदेशको राजधानी जनकपुरधाममा सम्पन्न भएको छ ।
गल्र्स नट ब्राइडस् नेपाल तथा जानकी महिला जागरण समाजको आयोजना तथा महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय मधेश प्रदेशको समन्वयमा मंगलबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । मन्त्रालयका सचिव केशव प्रसाद विमलीको सक्रियतामा भएको सो कार्यक्रममा महिला बालबालिका महाशाखा प्रमुख देव कुमारी खत्रीले बालविवाह कानूनले मात्रै रोक्न नसकिने भन्दै बालविवाह रोक्न समुदायको पहल नै महत्वपूर्ण रहने गरेको बताइन् । त्यस्तै विभिन्न क्षेत्रबाट कार्यक्रममा सहभागी वक्ताहरुले जनचेतनाको अभावमा हुने बालविवाहको कारण महिलाहरुले सयौं प्रकारको समस्याको सामना गर्नु परिरहेको दुखेसो पोखे । वक्ताहरुले बालविवाह रोक्न केही दिन यतादेखि प्रहरीले देखाएको सक्रियता सराहनीय रहे पनि अझै पनि ढुक्क हुने अवस्था नआएकोले प्रहरी प्रशासन अझै ईमान्दार भइ अघि बढ्नु पर्ने आवश्यकता औंल्याए ।
बालविवाहलाई न्यूनीकरण मात्र होइन शून्यमा झार्नको लागि समुदायका हरेक पक्षले बालविवाह भएको देखिने बित्तिक्कै प्रहरीमा खबर गर्ने र दोषीमाथि कारवाही गराउन तत्पर हुनुपर्ने अहिलेको आवश्यकता रहेकोमा वक्ताहरुले जोड दिए । उनीहरुले कानून निर्माण गरेर मात्रै समस्याको समाधान हुन नसक्ने भन्दै कानूनको व्यवहारिक प्रयोगमा ल्याउन सके मात्रै परिवर्तन गर्न सकिने उल्लेख गरे । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धनुषा,जिल्ला प्रहरी कार्यालय धनुषा,ओरेक नेपाल ,महिला बालबालिका कार्यालय ,महिला अधिकारी कर्मीहरु लगायतको विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको सो कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाका सरोकारवालाहरुको सहभागिता समेत रहेको थियो ।



