अपडेट 
२०७८ चैत्र २३, बुधबार ०७:५१

अझै पनि बाहिरबाट जनकपुर जाने मानिसहरु भन्दछन् – देशमा जनकपुरलाई पोखरीको सहर मान्दा हुन्छ । जनकपुरमा रहेका पोखरीहरुलाई सागर भनिएको पाइन्छ । पोखरीलाई पोखरी वा ताल नभनेर सागर भन्ने राम्रो परम्परा रहेको छ । पोखरीलाई सागर भन्ने परम्परा अन्यत्र पनि रहेको पाइन्छ । भारतका तीर्थस्थलहरुमा रहेका मन्दिरको छेउका पोखरीलाई सागर भन्ने गरिएको पाइन्छ । यद्यपि केही सीमित तीर्थस्थलमा मात्र भए पनि पोखरीलाई सागर भनेर बोलाउने चलनले सम्भवतः धार्मिक स्थलको पोखरी वा धार्मिक प्रयोजन भएको पोखरी भन्ने बुझाउँछ । यसरी हेर्दा जनकपुरका पोखरीहरुको नामको पछाडि सागर शब्द जोडिनाले यहाँका पोखरीहरुको पनि धार्मिक सम्बन्ध रहेको बुझ्न सकिन्छ । जनकपुरका पोखरीहरुको निर्माण कसरी भयो ? कहिले भयो ? कसले गरे ? पोखरीको मुख्य घाटमा पुग्दा यी प्रश्नहरु मनमा उब्जिन्छन् तर उत्तर मौन हुन्छ । आसपासका मानिसलाई सोध्यो, उत्तर थाहा हुँदैन । पोखरीको वर्तमान प्रयोजन के हो ? भनेर सोध्दा पनि प्रायः मौन रहन्छन् । फलानो सागर नामको पोखरी हो भन्दै गर्व गरेको अनुभूति हुन्छ । साँच्चै यति धेरै पोखरी भएको सहरले आफूमाथि गर्व गर्नुलाई धेरै राम्रो मान्नु पर्दछ । आफ्नो स्थानीय विषयवस्तु र स्रोत तथा साधनप्रति, प्राकृतिक, सांस्कृतिक सम्पदाप्रति गर्व गर्न सक्ने वातारणले त्यस सम्पदाको दीर्घकालिनतालाई जनाउँदछ । अहिलेसम्म जनकपुरका पोखरीहरु सुरक्षित छन् र धेरै हदसम्म अब अतिक्रमण नहुने वा गर्न नसकिने अवस्थामा पुगिसकेका छन् । अब जनकपुरका सागरहरुमाथि खासै अतिक्रमण हुँदैन भन्ने सुरक्षा पोखरीले पाइसकेको वर्तमानको निर्माण भइसकेको छ । पोखरीमा रहेको पानीको निकै धेरै महत्व रहेको छ । वातावरणीय सन्तुलनदेखि मानव स्वास्थ्यमा सोझो सकारात्मक सम्बन्ध पोखरीको रहन्छ । उदाहरणको लागि यदि निकै बाक्लो बस्ती छ भने त्यहाँ गर्मीको समयमा निकै गर्मी हुने र कतैबाट हावा नआउने अवस्था हुन्छ । यसै गरी निकै जाडो हुँदा कतैबाट पानी घाम लागेको हावा पाउन मुस्किल हुन्छ । तर दुवै सन्दर्भमा पोखरीले निकै सकारात्मक वातावरण सिर्जना गर्दछ ।

पोखरीले अत्यधिक गर्मीको समयमा पनि सहरलाई हावा दिन्छ भने अत्यधिक जाडोको दिनमा तुलनात्मक तातो हावा दिन्छ । हामी सबैले बुझेका छौँ कि माटोको तुलनामा पानीमा गर्मी र जाडो दुवै सहने क्षमता बढी हुन्छ । यसले वातावरणमा सकारात्मक प्रभाव पार्दछ । यसै गरी पोखरी हुनुको अर्थ हो जमिनको सतहमा पानी हुनु । जमिनको सतहमा पानी हुँदा जमिनले पानी पाइरहेको हुन्छ । जमिनले पानी पाइरहँदा जमिनको पानी कम हुने सम्भावना कम हुन्छ । जमिन मलिलो र रसिलो भइरहन्छ । धरतीमा पानी छ भने त्यहाँको धरतीले वनस्पति उमारिरहन्छ । धरतीमा वनस्पति जति धेरै उम्रियो, उति धेरै वातावरणीय फाइदा हुन्छ । र, जहाँ पोखरी छ, त्यसलाई सौन्दर्यीकरण गर्दा सौन्दर्यीकरणमा वनस्पतिको मात्रा र उपयोग बढाउँदै जाने हो भने सुन्दरता र पर्यावरण दुवैमा थप सहयोग पोखरीले पु¥याउन सक्छ । पोखरीको डिललाई सबैतिर पुरै पक्की मात्र गर्नुभन्दा कसरी सम्भव हुन्छ पक्की पनि रहोस् र कम्तीमा फूल फुल्ने वनस्पतिहरु पनि लगाउन सकिने ठाउँ होओस् । आजभोलि सामाजिक सञ्जालमा मानिसले पोखरी र फूल दुवैको सेल्फी फोटो खू राख्न रुचाउँछन् । जनकपुर गर्मी ठाउँ हो । यदि पोखरीको डिलमा फूल फुल्ने वनस्पति लगाउन सकियो र शोभाकारण सौन्दर्यकारण वनस्पति लगाउन सकियो भने गर्मीको महिनामा दिउँसो पनि घाममा त्यही वनस्पतिको शीतल छहारीमा फोटो खिच्न पाउँछन् र फोटो खिच्ने एउटा थप नवीनताको विकास हुन पाउँछ । जनकपुरका पोखरीहरु अहिले सफा छैनन् । पोखरीको पानी पनि सफा छैन । पोखरीको पानीमा खुट्टा पखाल्न पनि अप्ठ्यारो लाग्छ । जनकपुरको पोखरीको अवस्था देखेर एउटा पोखरी अर्थात् जनकपुरको भाषामा एउटा सागरको डिलमा उभिएर एक दिवसीय पर्यटनमा गएका एक शिक्षित व्यक्तिले प्रतिक्रिया दिए – दिल्लीमा पहिले अत्यन्तै फोहोर रहेका पोखरीहरु अहिले नुहाउन लायक बनिसकेका छन् । पहिले पोखरीको नजिक जाँदा दुर्गन्ध आउँथ्यो तर अहिले पोखरीले आकर्षित गर्न थालेको छ । पोखरीले सामान्य वातावरणमा नकारात्मक असर पारेको जस्तो हुन्छ तर पहिलेको सबै विकर्षण अहिले आकर्षणमा बदलिएको छ । ती शिक्षित पर्यटकको सल्लाह कस्तो थियो भने जनकपुरका सागर जतिलाई अहिलेकै अवस्थामा नुहाउन लायक बनाउन सकियो भने पर्यटनको एउटा आधार हुन सक्छ ।

बिहान र साँझ घरबाट सामान्य घुमफिरका लागि निस्कने स्थानीयबासी पोखरीको डिलमा एक छिन बसेर केही कसरत गर्दै गर्दा पोखरीतिरबाट आउने वायुले फोक्सोको विकास हावालाई निकास दिँदा स्वच्छ प्राणवायु प्राप्त होओस् । कोही मानिस पोखरीको डिलमा बसेर पत्रिका पढोस् । जनकपुरका स्थानीयबासीका घरमा पाहुना आउँदा वा कुनै काम विशेषले जनकपुर आएर यहँको होटलमा बास बस्ने पाहुनाहरु होऊन्, यहाँको पोखरीलाई हेरेर इतिहास बुझ्ने वा गौरवगाथा बताउने मात्र गनुृभन्दा इतिहासको गर्वसँगै वर्तमानको मर्म पनि बुझ्न वा बुझाउन पाउँदा कति राम्रो हुन्थ्यो । जनकपुरका पोखरीहरुले विगतदेखि वर्तमानसम्म के कस्ता मूल्यहरु बोकेका छन्, कस्ता मान्यताहरु स्थापित गरेका छन्, कसरी यहाँको जनजीवनमा प्रभाव र स्थान जमाएका छन् भन्ने कुरालाई केही विशिष्ट साँस्कृतिक उत्सव वा चाडपर्वमा बाहेक सामान्य समयमा पनि बुझ्न सक्ने वातावरण बनाउन पाए सुनमा सुगन्ध हुने थियो । अहिले जलपर्यटनको सम्भावना झन् बढेर गएको छ । जनकपुरमा धेरै पोखरीहरु भएको र जलपर्यटनको दृष्टिकोणले पनि निके महत्वपूर्ण रहेको देखिन्छ । यहाँका विभिन्न सागरहरुलाई जनकपुरको आयस्तरमा वृद्धि गर्ने, रोजगारीमा वृद्धि गर्ने तथा पर्यटकहरुलाई जलविहार गर्न सकिने गरी विकास गर्न नसकिने होइन । राजा जनक हरेक दिन बिहान र साँझ यही सागरमा स्नान गर्थे, त्रेतायुगमा ऋषिमुनिहरुले स्नान गर्ने पोखरीहरु यिनै हुन्, राजा दशरथ, भगवान राम तथा गुरु विश्वामित्रले स्नान गरेको पोखरी फलानो हो र रानीहरुको स्नान गर्ने पोखरी फलानो हो भन्ने मिथकहरुलाई पनि पोखरीहरुलाई नुहाउन सक्ने गरी सफा बनाउने हो भने अरुलाई बताउन सजिलो हुन्छ । सधैँ धारामा नुहाउने पर्यटकहरुलाई यो विश्वास होओस् कि यहाँका सागरहरुको पानी नुहाउन सक्ने अवस्थाका छन्, यहाँको पानी फोहोर होइन र पानीमा नुहाउँदा कुनै किसिमको हानी शरीरमा हुँदैन । सागर हरुमा नुहाउँदा पुण्यको प्राप्ति हुन्छ भन्ने विश्वास जाग्न सक्ने वातावरण बनाउनु पर्दछ । अहिले त यहाँका कतिपय पोखरीहरुको पानीको आलोचना गर्दा धेरैलाई चित्त दुखाइ होला तर चित्त दुखाइ हुनेले पनि आफ्ना घरपरिवारका सदस्यहरुलाई स्वतन्त्रतापूर्वक यहाँको पोखरीमा नुहाएको मन पराउँदैनन् । नुहाउँदा शरीर सफा हुन्छ भन्नु पुण्य प्राप्तिसित जोडिनु पर्छ र नुहाउँदा शरीर झन् फोहोर भयो भने जसरी सफाको विपरीत फोहोर हुन्छ, त्यसै गरी पुण्यको पिपरीत पाप हुन्छ । नुहाउँदा शरीरमा रोग लाग्छ भन्ने मनोविज्ञान वा यथार्थमाथि विजय प्राप्त गर्नु परेको छ । जनकपुरलाई पोखरीको सौन्दर्यले पनि सुन्दर बनाएको हो ।

यस कुरालाई अब राजधानी जनकपुरले अझ राम्रो बनाउनु परेको छ । जनकपुर अब मधेस प्रदेशको राजधानी भइसकेकोले शिक्षित मित्रले त्यसरी तुलना गरेका हुन् । अब जनकपुरका सागरहरु पनि सागरहरुको राजधानी र सुन्दरताको रानी भएर प्रदेश पर्यटनमा, राजधानीको पर्यटनमा, जनकपुरको पर्यटनमा आफ्नो भूमिकालाई स्पष्ट देखाउनु परेको छ । राजधानी जनकपुरले आफ्नो पोखरीको सौन्दर्य अन्य प्रदेश र अन्य राजधानीसम्म पु¥याउनु परेको छ । सम्भव भएसम्मका पोखरीहरुमा फरक फरक किसिमले जलविहारको व्यवस्था गरिनु पर्छ । कुनैमा प्राचीन कलात्मक काठका शृङ्गारिक डुङ्गाहरु ह्ुन सक्छन्, कुनैमा खुट्टाले चलाउन सक्ने प्लास्टिकका, कुनैमा आधुनिक मोटरबोट र कुनैमा मिनि क्रुज । यस्ता अन्य किसिमका जलविहारका साधनहरुको उपलब्धता पनि हुनु परेको छ । जनकपुर पुगेपछि मानिसलाई रुचि र क्षमताअनुसारको जलविहार गर्न सजिलो होओस् र कम्तीमा एकचोटि पुग्दा एक किसिमको जलबिहार गर्ने पर्यटकले अर्कोपटक पुग्दा अर्को किसिमले जलविहार गर्न पाउने लालसा लिएर फर्कन पाऊन् । जलविहार त एउटा उदाहरण मात्र हो, पोखरीलाई फोहोर नपारी कसरी सम्भव हुन्छ, पोखरीलाई पर्यटनसित जोड्नु पर्छ र पोखरी पर्यटनले पनि कम्तीमा एक दिन पर्यटकको बसाईँलाई लम्ब्याउन सक्नु पर्छ । अन्य योगदान हुँदाहुँदै पनि कतिपयले जनशक्तिलाई आर्थिक दृष्टिकोणले खेर गइरहेको जनशक्ति भन्दछन्, त्यसै गरी अन्य योगदान हुँदाहुँदै पनि अझ बढी पर्यटकीय, अझ बढी आयमूलक, अझ बढी सौन्दर्यपरक, अझ बढी आकर्षक र अब अझ बढी महत्वपूर्ण यिनै सागरहरुलाई कसरी बनाउन सकिन्छ ? राजधानी जनकपुरको ध्यानाकर्षण हुनु जरुरी रहेको बाहिरबाट राजधानी जनकपुर पुग्ने पर्यटकहरुले आवश्यकता महसुस गर्न थालेका छन् ।

Comment


Related News

Latest News

Trending News